हावामा अल्झिएको स्वर
कवि सिजन श्रेष्ठको पहिलो कविता कृति हो । प्रकृति प्रेमी कवि । प्रकृतिको सुन्दरतामा मग्न कवि । आकाश,धर्ती,बादल,बर्षा, झरी,घाम,अधेँरी,कुहिरो,खेतखलियान अनि यस्तै यस्तै असँख्य प्राकृतिक सौन्दर्यताको वर्णनमा उनको कविताको उडान छ यहाँ । सुन्दर,मीठो,सुस्वादिलो निर्वाध उडेका पंक्षीजस्ता,गगनमा उडेका बादल जस्ता,प्रकृतिका सुन्दर तर यथार्थमा बहेका छन कविता ।
कल्पनामा स्वच्छन्द उडान भर्न रुचाउने कवि प्रकृतिको सुन्दरतामा मनमोहक बन्छन् । भावनाका तरंगमा पौडिन्छन् । नेपाली मौलिकता कवितामा झल्किएका छन् । कृतिमताको पालिस हैन् यथार्थको कसीमा घोटिएका कविता पढ्न पाइन्छ । अनि कवि क्रल्पनाको उडानमा पनि मज्जैले उडान भर्छन् ।
जिन्दगीका बालपन मात्र नभएर हर उमेरको वर्णन गर्छन् कवि हावामा अल्झिएको स्वर मार्फत । एक प्रेमीको कथा कविता,एक अभिभावकको भूमिका कविता उनको विशेषता हो यो । आम भूइँमान्छेका भोगाई र दृष्टिचेतले कविता भर्छन सिजन । गाउँ नै गाउँको देश नेपाल उनी पनि गाउँलाई माया गर्छन् ।
कवितालाई थेरापी मान्ने कवि हुन उनी । प्रस्तुत कृतिमा कवि सिजनका ५२ वटा कविता समावेश भएका छन् । समसामयिक चेतले भरिएका कविता,विछोडमा भन्दा मिलनमा जिन्दगीको मोह भर्ने कविता, शहर भन्दा गाउँलाई बेशी माया गर्ने कविता,भाव भन्दा यथार्थमा जिन्दगी जिउन प्रेरणा भर्ने कविता,अभावको पीडा बोध गराउने कविता,एकअर्काविच मानवतामा बाँच्नुको महत्व वोध गराउने कविता,मान्छेले मान्छेलाई माया गर्न पर्छ भन्ने मानविय भाव दर्शाउने कविताको रुप्मा उनका कथाहरु आएका छन।
प्रस्तुत कृतिमा वि.सं.२०६७ देखि वि.सं.२०७७ सम्मको अबधिमा सृजना गरिएका कविताहरु समावेश छन् ।
कवितालाई जिन्दगीको यात्रा मान्ने गन्तब्य हो भन्ने कवि सिजन सुन्दर र शक्तिशाली बिम्ब प्रयुक्त कविता लेख्छन् भन्ने कुरा त घाम जति छर्लग छ । कवितालाई असाध्यै मायावी जतनमा राख्ने कवि हुन श्रेष्ठ ।विषयगत विविधतायुक्त कविता उनका कवित्वका विशेषता हुन् । कवितामा चिन्तनको प्रचुरता उनका कविताका विशेषता लाग्छन् ।
हावामा अल्झिएको स्वरलाई इटर्नल पब्लिकेशन प्रा.लि. ले बजारमा ल्याएको हो ।
हामी र हाम्रो कृति
यो सँयुक्त मुक्तकसँग्रह हो । यसमा २५ जना मुुक्तककारहरुका २८ २८ थान विषयगत विविधताका मुक्तकहरु समावेश गरिएका छन् । वर्तमान समयमा मुक्तकप्रति पाठकको रुचीलाई धेरैहदसम्म यसले पुरा गर्ने प्रयास गरेको छ । सबै मुक्तकहरु संरचनाको हिसावले चतुष्पदीय तुक र अन्त्यानुप्रासको संयोजनमा बनेका छन् । रोचक छन् । मीठा छन् । घोचक छन् । प्रेमिल छन् ।
यसमा प्रेम विषय सहित समसामयिक व्यँगचेतले भरिएका मुक्तकहरु छन् । कविहरुलाई बेथितिले छुँदा ,राजनीतिक अराजकता हुँदा पोल्छ र कटाक्ष गर्छन् । मुक्तकमा देशप्रेमको भावना जागृत भएका छन् । कविमनहरु प्राकृतिक सौन्दर्यमा मन्त्रमुग्घ भएर मुक्तक फुरेका छन् । जनताका दुखकष्टहरुमा मुक्तकहरु बोलेका छन् । यसरी विषयगत विविधताले भरिएका ७ सय थान मुक्तकहरुले यस कृतिमा स्थान पाएका छन् ।
कृतिमा प्रत्येक मुक्तककारको संक्ष्रिप्त परिचय पनि द्रिइएको छ ।
हामी र हाम्रो कृति समाजले यो संयुक्त मुक्तकसँग्रह प्रकाशित गरेको हो ।
नबिर्सने यात्रा
समीर नेपाल सरल भाषामा आफ्ना सिर्जनाहरु पस्कन खप्पिस छन् । यसै क्रममा विभिन्न शैलीका यात्राकथाहरुलाई नबिर्सने यात्रा मार्फत पाठक सामु ल्याएका छन् ।
प्रस्तुत कृतिभित्र परिवर्तन देखि फर्केर हेर्दा सम्म सत्र थान कथाहरु समावेश गरिएका छन् । यात्राभित्रका फरक तर सुस्वादु कथाहरु पढ्न पाइन्छ । आत्मकथाजस्ता लाग्ने,यात्रा संस्मरण जस्तो तान्ने कथाहरु विषयगत रुपमा आफ्ना अनुभव र अनुभूतिलाई कथानकतामा ढालिएका जस्ता लाग्छन् । यसमा केही बैचारिक चेतले ओतप्रोत कथा छन् भने प्राय कथा मानवीय स्वभाव र मर्मस्पर्शी भावहरुले भरिएका कथा छन् । यस्ता कथाहरुले पाठकको मन तान्न सक्छन् । कथाहरु स्वभाविक लाग्छन् । सरल भावमा रहेका कथाहरुले पाठकको मर्मलाई आाफैंलाई अनुभूति गराउँछन् । विषयवस्तुलाई यात्राको विभिन्न समय र सन्दर्भमा टिपेर कथाको कथानकता बुनिएको जस्तो लाग्छ । सामान्य पाठकले समेत बुझ्ने भावका कथाहरुले पाठक तानिन्छ । कथाले पाठकलाई सचेत पनि गराउँछ । समाज परिवर्तनका आकाँक्षाहरु पनि कथाहरुमा झल्केको छ ।
कथा विषयका हिसावले विविधतायुक्त,आकारको हिसावले मझ्यौला र भाषाशैलीको हिसावले सरल,सुबोध्य छन् ।
नबिर्सने यात्रालाई ओरियन्टल पब्लिकेशनले प्रकाशित गरेको हो ।