लामो समय देखि सेट डिजाइनको कामले गर्दा छायांकनमा ढिलाई भएको फिल्म ‘बलिदान’को शुभ-मुहूर्त गरिएको छ । तीजको दिन लाई लक्षित गरेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा मन्दिरमा शुक्रबार मुहूर्त गरिएको हो । छायांकन भने शनिबार भदौ २२ गते बाट सुरु हुने छ । फिल्मको पहिलो दृश्य शनिवार मोरङको इटहरीमा छायाङ्कन गरिनेछ, अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको पहिलो दृश्य खिचिनेछ ।
समीर भट्ट , अर्पण थापा, सौगात मल्ल,दिव्य देव सहितका अन्य कलाकारहरू भने केही दिनमा छायांकनमा जोडिनेछन् । छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा सेट तयार गरिएको छ भने विराटनगरमा पनि सेट बनाइएको छ । निर्देशक सेनका अनुसार, ६० प्रतिशत छायांकन स्टुडियोमा हुनेछ । स्टुडियोमा विशेषगरी फिल्मको एक्सन सिनहरू खिचिनेछ ।
दक्षिण भारतीय फिल्मका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाँकार शरण ऋषिसहित ५० जनाको प्राविधिक टोली आबद्ध छ । फिल्ममा प्रयोग गरिने लाइट, साउन्ड र क्यामेराहरू मुम्बईबाट ल्याइएको हो । सन्तोष सेनको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन्
।