- Editor

मिति हराएको………
ठेगाना नभेटिएको……..

प्रिय बुबा,
हृदयदेखि नमन !!

आज कुशें ‍औशी, म तपाईंलाई स्मरण गर्न आफ्नो मन रोक्नै सकिनँ। तपाईं हामीलाई छोडेर गएको दशकौं बितिसकेछ, तर तपाईंको सम्झना भने अझै ताजा छ। मनमा धेरै कुरा खेलिरहेका छन्, बुबा। तपाईंलाई एक पटक फेरि भेट्न पाए कस्तो हुन्थ्यो होला। तपाईंलाई अँगाल्न पाए, तपाईंको हातको न्यानो स्पर्श अनुभव गर्न पाए, कति आनन्द हुन्थ्यो होला।
तपाईंको साथमा बिताएका ती दिनहरू, ती सुनौलो क्षणहरू, ती मीठा हाँसोका आवाजहरू म भुल्न सक्दिनँ। याद छ नि बुबा तपाईले मेरो हात समातेर हिँड्नु भएको। अनि म लडेको बेला तपाईंको मुस्कानले मलाई फेरि उठ्न प्रेरित गरेको। तपाईंको प्रेरणाले म सँधै अगाडि बढ्न सिकेको छु।
बुबा, तपाईंको मुस्कान कति मनमोहक थियो। त्यो मुस्कानमा माया थियो, त्यो मुस्कानमा विश्वास थियो, त्यो मुस्कानमा एउटा आशा थियो। तपाईंको हरेक शब्दमा गहिरो अर्थ लुकेको हुन्थ्यो, तपाईंको हरेक कर्ममा हामीप्रतिको माया झल्किन्थ्यो। मलाई याद छ, जब तपाईं मलाई सानामा आफ्नो काखमा राखेर केहि कुराहरु सुनाउनुहुन्थ्यो, त्यो तपाईंको आवाज, त्यो तपाईंको स्पर्श, ती सबै कुरा अझै मेरो मनमा बाँचिरहेको छ।
आज जब म जीवनको फराकिलो बाटोमा हिँड्दैछु, तपाईंको अभाव कति महसुस हुन्छ। जब म कठिनाइमा परिरहेको हुन्छु, तपाईंको सहारा खोज्न मन लाग्छ। तपाईंको सल्लाह, तपाईंको निर्देशन, तपाईंको माया सबै कुराले मेरो जीवनमा कति ठूलो स्थान लिएको छ। जब म एक्लो महसुस गर्छु, तपाईंको सम्झनाले मलाई सधैं बल र हिम्मत दिन्छ।
बुबा, तपाईंको माया कस्तो थियो भनेर शब्दमा बयान गर्न सक्दिनँ। त्यो माया जुन हरेक हावा, हरेक फूल, हरेक चराका आवाजमा झल्किन्छ। तपाईंको मायाले मेरो हृदयलाई सधैं उज्यालो बनाएको छ। तपाईंको सपनाहरू पूरा गर्न त सकेको छुईन तर पनि तपाईको मार्गदर्शनमा हिड्न पाउँदा म गर्व महसुस गर्छु।
कति कुरा छन् तपाईंलाई भन्नु, कति अनुभवहरू, कति दुख-सुखका कुराहरु। तपाईंलाई कति माया गर्छु भन्ने कुरा बताउन मन छ। तर अहिले केवल तपाईंको तस्वीरलाई हेरेर मन बुझाउने गरेको छु। तपाईंको स्मृतिमा आँसु झारेर तपाईंसँगको हरेक पललाई सम्झने गरेको छु र हरेक पल त्यो अभावमा बाँचेको छु।
तपाईंको अभावले मेरो जीवनलाई अपूर्ण महसूस गराएको छ। कहिलेकाहीँ सपनामा आएर मलाई अँगालो हाल्न आउनु, बुबा। तपाईंको माया र स्नेहको अनुभूति फेरि एक पटक गर्न पाउँदा म संसारको सबैभन्दा धनी मानिस जस्तो महसुस गर्नेछु।
तपाईं जहाँ भएपनि, त्यहाँ शान्ति र सुख होस। म तपाईंलाई हरपल, हरसमय मेरो मन मस्तिष्कमा सदा सम्झिन्छु र सामिप्यताको आभाष गरिरहन्छु।

हजुरको अपूर्ण मायाको अभिलाषी
बिनयबिष्णु के. सी.
बिराटनगर

तपाईको प्रतिक्रिया