यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुरमा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध घुस÷रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
रेग्मीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको भिडियोमा देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अनुसन्धानको क्रममा उनले सवारी चालक अनुमतिपत्रको विवरण सच्याउन सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिष्टमा पास भएको जनाइएको थियो । तर, इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स दर्ता प्रणालीको परिक्षामा निज फेल भएपछि उक्त विवरण सच्याई अद्यावधिक गर्न रेग्मीले घुस लिएका हुन् ।
उनीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको हो ।