काठमाडौं । भाद्र महिनाको अन्तिममा छायांकन सक्ने जमर्कोसहित नेपाली कथानक चलचित्र ‘निशब्द’को छायांकन भइरहेको छ । क्वयर समुदायको विषय वस्तुलाई समेटिएको नेपाली कथानक चलचित्र ‘निशब्द’को छायांकन धमाधम भइरहेको छ ।
चलचित्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र उनीहरूका परिवार बीचको अन्तरसंघर्ष, समाजसँगको टकराव देख्न पाइने छ । आफ्नो सन्तानको भावनालाई सहि समयमा अभिभावकले जान्न र बुझ्न आवश्यक छ भन्ने चलचित्रले सन्देश दिएको निर्माता एवम् कलाकार उमेश खड्का बताउँछन् ।
राधारमन मन्जिल मल्टिप्रपोज ग्रुपको प्रस्तुति चलचित्र ‘निशब्द’को सोदिक्षा थापाको निर्देशन र सरोज दाहालको कार्यकारी निर्देशनमा छायांकन भइरहेको छ । यहि भाद्र महिनाको अन्तिममा छायांकन सक्ने जमर्को गरिरहेको चलचित्रको मुख्य भूमिकामा समीप निरौला, सोदिक्षा थापा, सरोज दाहाल, शुसिला निरौला बिम्ली र उमेश खड्का रहेका छन् ।
कलाकार खड्काका अनुसार चलचित्रमा गोमा केसी, कमल बोहरा, रश्मि भट्ट, भगवान भण्डारी, अनुप श्रेष्ठ, रमेश ढकाल, प्रकिती राना मगर लगायतको समेत भूमिका रहेको छ । ‘निशब्द’को आगामी दशैँ तिहारको छेको पारेर रिलिज गर्ने तयारी गरेको चलचित्र निर्माण यूनिटले जनाएको छ ।