काठमाडौं जिल्ला अदालतमा कार्यरत कर्मचारीले ड्युटीमा खटिएको प्रहरीलाई झापड हानेर अभद्र व्यवहार गर्ने अधिवक्तालाई कारबाही गर्न माग गरेका छन्।
२३ असार जिल्ला अदालतको गेट नम्बर ३ (अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र)मा सुरक्षार्थ ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रयोग गर्दै झापड हानेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कर्मचारीहरूले कारबाहीको माग गरेका हुन्।
ड्युटीमा खटिएको राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको घटनाले अदालतको मर्यादामै प्रहार भएको कर्मचारीहरूको ठहर छ।
‘न्यायपालिकाजस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरंजित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरेको अनुभव गरेका छौँ,’ काठमाडौं जिल्ला अदालत कर्मचारी परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कर्मचारी परिवारले अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति घोर भर्त्सना गरेको छ। ‘यस्तो गल्ती–आपराधिक कार्यमा संलग्न व्यक्तिउपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस घटना र सोबाट विकसित पछिल्ला घटनाक्रमप्रति संयमता अपनाउन सम्पूर्ण पक्षमा ध्यानाकर्षण गराउन चाहन्छौँ।’
कर्मचारी परिवारले घटनासँग सम्बन्धित सिसिटिभी क्यामेराको फुटेज अध्ययन–अनुसन्धान गरी दोषीउपर कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि माग गरेको छ।