चन्द्रलाल तामाङ
जीवन नदी हो, नदी एक यात्री हुन् । यात्राको क्रममा नदीले धेरै उतार–चढावहरु पार गर्नुपर्ने हुन्छ । नदीले पार गरेको यात्रा कति कठिन वा सरल हुन्छ भन्ने कुरा नदी भएर यात्रा गर्नेले मात्रै अनुभूति गर्न सकिन्छ । यहीँ जीवन यात्रामा भोगेका र देखेका अनागिन्ती अनुभूतिहरुलाई साहित्यको सहारा लिएर कवयित्री रजनी खत्रीले हालै एक कविता संग्रह बजारमा ल्याएकी छन् । नेपाली साहित्यको शसक्त विधा कविता लेखनबाट आफ्नो साहित्यिक यात्राको पाइला चालेकी स्रष्टा हुन् कवयित्री रजनी खत्री । दक्षिणकाली नगरपालिका वडा नं. ३ सोखेल निवासी खत्रीको जन्म २०३६ साल जेष्ठ २९ गते भएको हो भने उनले नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएकी छन् । २०७८ सालमा पहिलो कवितासंग्रह “पीडामा सुख” प्रकाशित गरेर नेपाली साहित्यमा पाइला चालेकी उनले कविता विधामा विशेष रुचि राख्दै विभिन्न साहित्यिक पत्रपत्रिकाहरूमा पनि फुटकर कविताहरु प्रकाशन गर्दै आइरहेकी छन् । नेपाली कविता लेखनमा साधनारत र यात्रारत उनको दोस्रो कवितासंग्रह “अनुभूतिका प्रतिबिम्बहरू” पढ्ने मौका पाएँ । मानिसको जीवनका भोगाइ, अनुभूति, भावना र विचारलाई मूल विम्ब बनाई कविता लेख्न रुचाउने कवयित्रीको “अनुभूतिका प्रतिबिम्बहरू” कविता संग्रहभित्र संग्रहित कविताहरू मौन विद्रोह जस्तो लाग्छ । सरल भाषा शैली र यथार्थ परक गाम्भीयर्ताले सृजनालाई जीवन्त तुल्याएको छ । कवयित्रीको यस संग्रहमा संग्रहित कविताहरूमा कतै आफैँलाई उतारेकी छन् भने कतै समयको अन्तरालमा जवरजस्ती किनारमा ठोक्किन आएका तरंगले ल्याएका ज्वारभाटामा हराएका मान्छेको अनुभूतिहरु उतार्न खोजेकी छन् । समस्या, चुनौती र जटिलताहरू बिच आफ्नो अस्तित्व राखिराख्न गर्नु परेको संघर्ष, सामाजिक परिवेशमा आफूले भोगेको तितो यथार्थहरूलाई मूल विषय वस्तु बनाएर कविताको माध्यमबाट आफूलाई शसक्त कवयित्रीको दर्जामा उभ्याउन सफल उनका कविताहरूमा मानवीय समाजका कुरूप यथार्थ, मानवीय संवेदनाका अनेकौं अमूर्त भावहरू, कवयित्रीका वैयक्तिक भोगाईहरू, अनुभूतिहरू, दृष्टिकोण र चेतनाको लहर उर्लेको देखिन्छ ।

कविता एक साहित्यिक सुन्दर अभिव्यक्ति हो । कविता चेतना र चिन्तनको कलात्मक अभिव्यक्तिको प्रभावकारी माध्यम भएकाले लेखक र पाठक बिचको भावनात्मक सम्बन्ध मिल्न गएमा सर्वप्रीय सृजनात्मक अभिव्यक्ति बन्न जान्छ । यो नै लेखकीय क्षमता हो । यस हिसावले पनि “अनुभूतिका प्रतिविम्बहरु” सवल रहेको विश्लेषण गर्न सकिन्छ । सृजनाहरुमा प्रविष्ट भावको गाम्भीर्यता, कलात्मक प्रस्तुति र प्रयोग गरेको बिम्ब, प्रतीक, अलङ्कार र सरलतामा पनि बौद्धिक अभिव्यक्ति सम्प्रेषणले श्री खत्रीको लेखकीय क्षमता स्तरीय बन्दै गएको देखिन्छ । स्थानीयताको सुगन्ध, सांस्कृतिक बिम्ब, मौलिक र कलात्मक भाषा, भावको तरङ्ग, विचारको स्पष्टता आदि लेखिकाको अर्को सवल पक्ष हुन् ।

प्रस्तुत “अनुभूतिको प्रतिबिम्बहरू” को पहिलो कविता “अतित र वर्तमान” मा समय बदलिए पनि कथा, ब्यथा र दिनचर्या नबदलेकोमा सकारात्मक भाव पोख्छिन् ः
“परिवर्तन गर्न सकिन परिस्थिति,
बरु परिवर्तन गरे आफ्नै विचार र व्यवहार”

श्री खत्रीले आफ्नो मनमा आइरहने भावना र आफू बाँचेको समाजको परिदृश्यप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्दै लेख्छिन् ः
म भर्खर धर्तीको एक कुनामा,
टिलपिल टिलपिल गर्दै,
बल्न खोज्दै गरेको बत्ती न हुँ,
जुन बल्छ वा जल्छ ठेगान छैन ।

यसरी कविताहरु लेख्दै जाने क्रममा नारी भोगाई तथा स्वतन्त्रताको खोजी अभिव्यक्त भएका कवितामा आफूलाई शालिग्राम जस्तै शान्त र शालिन बनाएकी छन् ः
न त प्रताडनाहरूले तड्पिन्छु ,
न त लान्छनाहरूले नै गल्छु ,
हो म त आफ्नै भोगाइहरूले ढुङ्गो बनिसकेकी छु ,
जीवनका कणकण जम्मा पारेर,
शालिग्राम बन्ने तयारीमा छु ।

भौतिक वादमा प्रकृतिलाई जितेको मान्छेको अज्ञानता प्रति सचेत हुन लेखिएको अर्को चेतना मूलक कवितांशः
प्रकृतिले सायद लिइन् बदला,
भौतिकतामा रमाउनेले पनि,
हार मानी पश्चात्ताप गरेको छ ।

उनको कविताहरुमा पाइने महत्वपूर्ण पक्ष प्रकृतिप्रतिको प्रेम हो । उनले प्रकृतिलाई गुरु मानी उसबाट धेरै कुरा सिक्न सकिने भाव व्यक्त गरेकी छन् ः
“प्रकृतिको सङ्केत बुझी,
सुधारियोस् मान्छेका मति,
सबैको साझा पृथ्वीलाई,
भाग लाउँछौं कतिकति ।”

दिनप्रतिदिन आडम्बरी र अहंकारी बन्दै गएको मान्छेलाई व्यङ्ग्य गरिएको “असल मानव” शीर्षकको कवितामा ब्यक्त भएको शालिन विचार यस्तो छ ः

न त तिम्रो धनले,
बगिरहेको आँसु पुछिदिन सक्छु,
न त पिठ्युमा धाप मारेर,
चिन्ता नगर भन्न सक्छु,
धनले सम्पन्न मानिस,
मनको कङ्गाल पनि त हुनसक्छ ।

आजका मान्छेमा मानवीय संवेदना हराउँदै गइरहेको प्रति चिन्चित हुँदै लेखिएको कविताको कवितांशले मान्छेको ढुँगी प्रवृद्धिको पर्दाफास गरेको पाइन्छ ः

“लासहरूको बिस्कुन लागेको बेला
राहतको नाममा
उत्सव मनाउनेहरू पनि छन् यहाँ
विपत्तिलाई अवसर मानेर
त्यसैमा रमाउनेहरू पनि छन् यहाँ ।”

वृद्धावस्थाको पीडा पोखेको कविता आम वृद्ध–वृद्धा बा–आमाको कथा ब्यथा जस्तो लाग्छ । अवसर, परिवर्तन चाँहे, मान्छे र प्रविधि, जिम्मेवारी जस्ता कविताले समाजका विक्रिती र विसंगतिमाथिको प्रहार जस्तो लाग्छ । त्यस्तै मञ्च र माइक अर्को राजनीतिक व्यंग्य त छँदैछ अझ बढि परिवार र परिबेशमा दबेर बस्नु परेको चित्कार पाइन्छ ः
“मञ्च र माइक दुबैसँग घृणा लाग्छ
कारण
मञ्चमा भ्रष्टाचारी, अत्याचारी र बलात्कारी उभिन्छन् अनि
माइकबाट मिठा मिठा
झुटा आश्वासन बाँडिन्छन्”

जन्मदिनको शुभकामना अर्को शसक्त कविता हो, जसमा प्रियसी र आफ्नो मान्छेलाई औधि माया गरेको आभास दिन्छ । जिन्दगी नियाल्दा कविताभित्र जिन्दगीको ब्यथा बोलेको छ । असल मानव हुन धनको घमण्ड होइन मनको असल हुनुपर्ने र सोही अनुसार मानवता र मानवीयताको पुजा गर, जीवन सार्थक हुन्छ भन्ने मानवता वादी चिन्तन पोखेकी छन् । आफू जस्तो छ त्यस्तै अपेक्षा गरे भने मान्छे दुःखी हुन्छन्, तर आफूले गरे जस्तै ब्यवहारको अपेक्षा गर्न छाडिदिनोस् जिन्दगी विन्दास हुन्छ भन्दै लेख्छिन् ः

“प्रेमको बदलामा प्रेम नै
चाहेकी थिएँ र पो दुःखी भएँ
सहयोगको बदलामा सहयोग नै
अपेक्षा गरें र पो दुःखी भएँ
जब यी सारा कुराको,
अपेक्षा गर्न छाडें विन्दास छ जिन्दगी ।”

वर्तमान शिक्षण पेशामा शिश्या जत्ति नै बद्मास भए पनि गुरुले शिश्यालाई पिट्ने त परको कुरा, छुन पनि पाइदैन तर विद्यार्थी दिनानुदिन बदमास बन्दै गएको हेरेर बस्नु पर्दाको पीडा “छुन मनाही छ” कवितामा पाइन्छ । जीवन, जीवन जिउन कठिन छ यहाँ, कलम, ठूलै भुल गरें जस्ता कविताहरु मर्मस्पर्सी छन् । यी कविताहरुले जीवन भोगाईको क्रममा मिथ्य हाँसोलाई पनि जीवन ठान्नु पर्ने बाध्यताहरु ओकलेका छन् । देशका धमिराहरू, देशको विकास, देशको माया जस्ता कविताहरुमा राजनीति गर्नेहरुको मति नसुध्रेकोले देश झन–झन सकिँदै गएको आक्रोस पोखिएकी पाइन्छ । “मेरो श्रोता तिमी, बहाना, समयको त्रासदी, म त यस्तो मान्छे, कोसिस गर्दैछु, माया, नारी, बादलको सन्देश, उसले कथा लेख्दै छ रे ! कलाप्रतिको आस्था, दाइजो, आफ्नै जिन्दगी ज्युन नसक्दा, मनको रहर, मन” जस्ता चेतनाबाट लेखिएका कविताहरु समाजमा देखेका र भोगेका अनगिन्ती अभाव, बेदना र क्रन्दनका चपेटाहरु हुन् । गीति लयमा लेखिएका कविताहरु कोमल, माधुर्यता र कलात्मक छन् ।

श्री खत्रीको कृतिमा संग्रहित कविताहरू सरल छन् र राम्रा पनि छन् । कवयित्रीको कविताहरू परिष्कृत र परिपक्व बन्ने क्रममा छन् । कल्पनाबाट भन्दा पनि समय परिस्थितिले लेख्न बाध्या पारेको र लेख्न सिकाएको कलाशिल्पी जस्तो देखिन्छ । कतिपया कविताहरुमा भाषागत त्रुटि नदेखेको होइन तर परिष्कृत र पारंगत हुँदै जाने पक्ष उच्च छन् । भविष्यमा भावनाको आबेगहरूलाई मस्तिष्कले मथेर मात्रै परिष्कृत कविताहरु आउने कुरामा ढुक्क छु । विम्ब र प्रतिविम्बहरुले सिँगार्ने र कलात्मक सिर्जनशिल्ता र साहित्यिक गुनले पूर्ण हुन बाँकी नै देखिन्छ ।

अन्त्यमा, आफूले भोगेको जीवन र आफूले देखेको जगतको यथार्थलाई कविताको माध्यमबाट उजागर गर्दै कृति प्रकाशन गर्नुभएकोमा कवयित्री श्री रजनी खत्रीज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । यहाँको काव्यिक यात्राको पाइलाहरु कहिल्यै नथाकियोस् । साहित्यिक उचाइ चुम्न सफल रहोस् , मेरो शुभकामना ।

– श्री तामाङ कवि तथा गीतकार हुन्

तपाईको प्रतिक्रिया