ए मेरो हजुर,
खै कताबाट सुरु गरुँ ? लेखुँ त म के लेखुँ ? सायद तिमीलाई सबै थाहा नै छ । तर, थाहा पाएर पनि अञ्जान बन्ने तिम्रो बानी छ । सोचेकी थिएँ, कुनै दिन भेटेर नै सबै भनिदिन्छु । तर, सधैं हुने हाम्रो भेटमा सायद मनका कुरा मनमा नै रहला । सायद भेटेर पनि भेट नहोला । तिमी सधैं भन्थ्यौ नि केही भन्नु छ भने लेख । हुन त लेखक होइन म राम्रो लेख्नलाई । तर, हो आज केही भन्नु छ ।
लगभग १० बजेको समय रुम नम्बर ३०१, हाम्रो कक्षा कोठा र हाम्रो पहिलो भेट । सम्झना छ मलाई, त्यो पहिलो भेट, जब पनि सम्झिन्छु, तब हाँसो लागेर आउँछ । नराम्रो त केही गरेको थिएनौ तिमीले । तर, पनि खोइ मलाई तिमी राम्रो लाग्दैन थियो । ‘कस्तो नराम्रो मान्छे’ सायद यही भन्थें साथीभाइको माझमा । तर, हिजोको नराम्रो मान्छे, आज यति राम्रो लाग्ला, सम्झिंदा पनि हाँसो लागेर आउँछ ।
जब भेट्यौं, तब झगडा मात्र ग¥यौं । मलाई याद छैन त्यो समय, जब हामी एकअर्कासँग राम्ररी बोल्यौं । सानो कुरामा उडाउन तिमीलाई आउँथ्यो र कराउन मलाई आउँथ्यो । सधैं भन्ने गर्थें, अब यो मान्छेसँग कहिल्यै भेट नहोस् । तर, नहोस् भन्दाभन्दै आखिर समयले त्यही मान्छेसँग नजिक लिएर आयो । झुक्किएर आएको फ्रेन्ड रिक्वेस्ट डिलिट गर्छु भन्दाभन्दै कन्फर्म भएको त्यो पल सोचेकी थिएँ, भैहाल्यो केचाहिं गर्नु छ र ? तर, ‘सञ्चै छौ ?’ बाट सुरु भएको सामान्य साथी तिमी आज जीवनका हरेक कुरा बाँड्ने नजिकको साथी हौ तिमी ।
हुन त फेसबुक धेरै नचलाउने मान्छे म, तिम्रो एउटा म्यासेजको लागि घण्टौंसम्म पर्खन्थें । तिम्रो एउटा गूड मर्निङले पूरा दिन नै गूड हुन्थ्यो । समयमा नै सुत्नुपर्छ भन्ने मान्छे म, तिमीसँग कुरा गर्दाको रात कति चाँडै बित्थ्यो, थाहा नै पाउँदिन थिएँ म । तिमीसामु हुँदा मन अचानक आत्तिन्थ्यो, अब के बोल्ने होला, यताउति सोच्न थाल्थ्यो । अनि पछि फेरि सोच्दथें, हिजो झगडा गर्दा त केही भएन, आज त्यही चिनेको मान्छेसँग बोल्न किन यति डर ! सँगै भएर पनि टाढा बस्नुपर्दा लाग्थ्यो, एकपल्ट यता पनि हेरिदिए हुन्थ्यो । तर, फेरि झुक्किएर आँखा जुधेको समय यिनै आँखाले तिमीसँग लुकामारी खेल्दथ्यो ।
हुन त मनमा धेरै कुराहरू खेल्दथे, ऐनासामु तिमीलाई सम्झी एक्लै बोल्दथें । तर, तिमीसामु आउँदा सायद शब्दहरु फुट्नै गाह्रो पर्दथ्यो । अचम्म लाग्थ्यो, फेसबुकमा त्यति धेरै कुरा गर्न आउने । तर, अगाडि पर्दा केही बोल्नै नआउने । साथीहरू जिस्किएर भन्थे, ‘पागल भइस् क्या हो ?’ कोही भन्थे, ‘बिर्सिदे त्यसलाई ।’ अनि सोच्दथें बिर्सिनु नै थियो भने किन भयो फेरि भेट ? तर, समयले उसैसँग गरायो फेरि भेट । यदि एकतर्फी माया पागलपन हो भने, हो त्यो पागलपन स्वीकार छ मलाई, आनन्दित छ मेरो मन ।
तिम्रा स–साना कुराहरू सम्झिन मलाई राम्रो लाग्छ । स–साना कुराहरूलाई लिएर तिमीसँग झगडा गर्न रमाइलो लाग्छ । अनि फेरि त्यही झगडाको बहानामा तिमीलाई ‘सरी’ भनी फकाउन मन लाग्छ । विना कुरामा उडाउने तिम्रो बानी र कुरै नबुझिकन कराउने मेरो बानी सायद यस्तै छौं हामी । तिमीलाई कराउँदा–कराउँदा बल्लतल्ल पठाएको तिमीले आफ्नो त्यो पहिलो लेख सायद कतिचोटी पढें थाहै छैन मलाई । काम नभएको समय फेसबुकका तिम्रा ती फोटोहरु कतिचोटि हेरें थाहा छैन मलाई । तिमीसँग कुरा नहुँदाको समय, पुराना मेसेजहरु पढी एक्लै कति हाँसे, थाहा छैन मलाई । सायद हुँदैन हामीबीच सधैं कुरा । त्यसैले पनि होला आउँदैन तिम्रो सम्झना सधैं मलाई ।
तिमी याद आउँछौ त तब आउँछौ, जब केही खुसीका कुराहरू बाँड्नु छ तिमीसँग । तिमी याद आउँछौ त तब आउँछौ, जब आफ्नो लेख सकी पहिलो पाठकका रूपमा तिमीलाई सम्झिन्छु । तिमी याद आउँछौ त तब आउँछौ, जब केही नयाँ सुरु गर्नुअघि साथीको रूपमा साथ दिन तिमी हुन्छौ । र, तिमी याद आउँछौ त तब आउँछौ, जब मनमा पीडा हुन्छ, आँसु झार्न मन लाग्छ र रुनका लागि तिम्रो काँध चाहिन्छ ।
यतिका समय बित्यो र अझ पनि थाहा छैन मलाई, त्यो मनमा मेरो लागि के छ ? कहिले लाग्छ सायद केही छ र कहिले लाग्छ किन केही हुनु छ र ? कहिले सोच्थें साथी मात्र त हो नि ! र, कहिले सोच्थें किन हरेक सुख दुःखमा सम्झनाका रूपमा उही आउँछ । आफ्नो पीडामा सायद आँसु झर्थे । तर, उसको दुःखमा खै किन रुन्थ्यो यो मन ? आफ्नो जन्मदिन सायद त्यति खास लाग्दैन । तर, उसको जन्मदिन आउनु एक महिना अघिबाट कुरिरहन्थें म । गर्छु भनेर गरेको होइन, लगाउँछु भनेर लगाएको पनि होइन । तर, खै थाहै नपाइकन हिजोभन्दा आज नजिकको मान्छे बन्न पुग्यो ।
तिम्रो जीवनमा सायद बितेको पाना हुँ म । तर, मेरो जीवनमा सधैं याद बनी आउने मीठो सम्झना हौ तिमी । थाहा छ धेरै बोल्छु, धेरै कराउँछु, सायद विना कुरामा झगडा मात्र गर्छु । तर, जे छु, जस्तो छु, तिम्रोसामु छु । त्यसैले त होला, तिमीसँग नजिक छु ।
मलाई अझै पनि थाहा छैन, त्यो मनमा मेरो लागि के छ ? तर, आशा छ, कुनै दिन कुनै समय कुनै पल मेरो लागि माया अवश्य पलाउने छ । मलाई थाहा छ, तिमीलाई भावना व्यक्त गर्न आउँदैन । त्यसैले भनिहाल पनि भन्दिन । तर, त्यति ढिला पनि नगरिहाल्नु, फेरि तिमी भनौला र म सायद कतै हराइसकुँला ।
उही तिम्रो धेरै बोल्ने मान्छे
सृष्टि अधिकारी