काठमाडौँ, जेठ ११ गते ।
सूर्यविनायक नगरपालिका, वडा ७ र संवाहिका समाज नेपालको सहकार्यमा शुक्रवार “विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि दुईदिने प्रशिक्षणको आयोजना गरिएको छ । प्रशिक्षणको उद्घाटन गर्दै पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाउन सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाधिरहित भान्साबारे प्रशिक्षणले स्थानीय लाभान्वित हुनेछन् । ”
पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले हाल सडक, बाटोघाटोलगायतको विकासको अनूभुति गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त र विषाधिरहित खाना जीवनशैलीका लागि पनि वडा, नगरले यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै स्वच्छ नागरिक अभियानमा अगाडि बढ्नु निक्कै सह्रानीय कदम चालेको बताउनुभयो ।
सूर्यविनायक नगर–७ का अध्यक्ष रविन्द्र सापकोटाले भौतिक विकाससँगै जीवनशैली परिवर्तनका लागि पनि वडाले पहल गरिरहेको बताउनुभयो ।
उहाँले स्थानीयको जागरणका लागि केही बजेट छुटट्याएर संवाहिका समाज नेपालसँगको सहकार्यमा स्थानीय महिला समुहलाई लक्ष्यित गरी हाल चुनौतिपूर्ण बन्दै गएको स्वच्छ भान्साबारे प्रशिक्षणको आयोजना गरेको बताउनुभयो ।
वडा अध्यक्ष सापकोटाले वडामा मुटु रोग, मिर्गौला र क्यान्सर रोग लागेर सहयोग लिन आउने विरामीका लागि सिफारिस दिदा आफ्नो मुटु नै कटक्क खान्छ भन्दै स्वच्छ खानपान, आहार विहारको कमिले यस्ता रोग बढेको अनुभूति भएकोले यस प्रशिक्षण सञ्चालन गरिएको र आगामि दिनमा पनि स्थानीयको स्वास्थ्य, जीवनशैली सुधारका कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।
सो अवसरमा वडा सदस्य सुमन परियारले स्थानीय भौतिक विकाससँगै स्वच्छ र स्वस्थ्य जीवनशैलीका लागि वडाले यस्ता प्रशिक्षण, तालिमलाई निरन्तरता दिने बताउनुभयो । स्थनीय नेतृ सरिता कुँवरले घरमा भान्सा सम्हाल्ने महिलाले विषाधिरहित खाना र पोषणबारे प्रशिक्षण पाउँदा सिङ्गै परिवार गाउँ, समाज नै स्वच्छ र स्वस्थ्य हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिंदै खाना मिलाएर खाना नजान्दा हाल रोग बढिरहेको चर्चा गर्नुभयो ।
त्यसैगरी संवाहिका समाज नेपालका सल्लाहकार एवं पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक युवराज पौडेलले मोवाइल, इन्टरनेटलगायतका प्रविधिको सहि उपयोगबारे प्रशिक्षण दिनुभयो ।