‘मेरो प्यारो ओखलढुंगा’ लगायत कैयन कविताहरु रचेका सिद्धिचरण श्रेष्ठले पाएको उपाधि हो- युगकवि।

२०४९ साल जेठ २२ गतेका दिन यो लेखक काठमाडौँको भाटभटेनीस्थित एक घरमा भाडामा बस्दा नेपाल टेलिभिजनबाट युगकवि सिद्धिचरण श्रेष्ठको निधन हुनगएको दुःखद खबर सुनुपर्‍यो। उनले लेखेको कवितालाई नारायण गोपालले मीठो स्वर दिएपछि गीतमा परिणत भएर जनजनमा कर्णप्रिय बन्यो। पछि पछि जनगायक रामेशले पनि उक्त गीत गाए।

नेपाली र नेवारी भाषी कवि सिद्धिचरण श्रेष्ठको जन्म (वि.सं. १९६९ जेठ ९ मा भएको थियो। उनलाई सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । तत्कालिन सगरमाथा अञ्चलको ओखलढुंगा जिल्लाको ओखलढुंगाबजारमा पिता विष्णुचरण श्रेष्ठ र माता नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म भएको थियो ।

सिद्धिचरणले सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्नपाएका थिए। पिता जागिरको सिलसिलामा पिता काठमाडौँमा रहनुपर्ने भएकोले उनी पनि मातापितासँगै बसेर बढ्नको लागि काठमाडौँ आउनुपर्‍यो। नेपालको पहिलो विद्याल दरबार हाईस्कुलमा भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ सालमा पाँचकक्षामा सन्ध्या शिर्षकको कविता रचेका थिए। त्यतिबेला उनको उमेर १५ वर्षको थियो।

पाँचकक्षामै कविता रचेर कवि बनेका सिद्धिचरणले कक्षा आठसम्मको मात्र स्कुलको औपचारिक शिक्षा हासिल गरेका थिए। उनले रचेको कविता अर्थात् पछि गीत बनेको कर्णप्रिय गीत हो योः

तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षःस्थलमा

यो कविको शैशवकाल बित्यो,

हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुंगा

उनी पछि १९९० सालमा भूकम्पपिडितोद्वार समितिका कारिन्दा बने। त्यसपछि १९९१ सालमा शारदा नामक पत्रिकाको सम्पादकको जिम्मेवारी पनि सम्हाले। पछि दैनिक आवाज पत्रिकाका प्रधान सम्पादक पनि भएका श्रेष्ठले कविता नामक पत्रिकाको समेत संस्थापक बने। स्थापित साहित्यकार भए वापत उनलाई २०१४ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनित गरियो। पछि उनी तत्कालित राजसभा स्थायी समितिका सदस्य भएर पनि काम गरेका थिए। उनका कविता संग्रहहरुमा २०२१ सालमा मेरो प्रतिबिम्ब २०२१ सालमै कोपिला प्रकाशित भएका थिए। त्यसपछि धेरै वर्षको अन्तरालपछि २०४५ सालमा कुहिरो र घाम र २०४५ सालमै प्रतिनिधि कविता २०४६ सालमा तिरमिर तारा र २०४६ सालमै बाँचिरहेको आवाज पनि प्रकाशन भए। युगकवि श्रेष्ठले रचेका खण्डकाब्यहरुमा २०१७ सालमा उर्बशी २०२३ सालमा ज्यानमारा शैल प्रकाशन गरेका थिए भने धेरैवर्षपछि अर्थात् २०४९ सालमा मंगलमान र २०५० सालमा आँशु प्रकाशन गरेका थिए।

उनले साहित्य क्षेत्रमा रहेर उल्लेखनीय योगदान गरे वापत विभिन्न सम्मान र पुरस्कार पनि पाएका थिए। १९९० मा भूकम्प तक्मा २०२७ सालमा त्रिभुवन पुरस्कार २०३१ सालमा रत्नश्री सुवर्ण पदक २०४५सालमा पृथ्वी प्रज्ञा पुरस्कार पाएका श्रेष्ठले २०४६ सालमा वेधनिधि पुरस्कार पनि पाएका थिए। गोरखादक्षिण बाहु त्रिशक्ति पट्ट र श्रीराम पट्ट पनि पाएका थिए।

नेपालमा देशका लागि केही गर्नखोज्नेहरुलाई बाँचुञ्जेल वास्ता गरिदैन। मृत्यु भएपछि क्षणिक रुपमा श्रद्धा ब्यक्त गरिन्छ त्यसपछि विस्तारै वास्ता गर्न छोडिन्छ। सिद्धिचरण पनि त्यस्तै बेवास्तामा पर्ने विद्वानहरुमध्येका एक हुन्।

तपाईको प्रतिक्रिया