सबै मानिसको स्वभाव एकै हुँदैन । कोही शान्त स्वभावका हुन्छन् त केही लजालु स्वभावका । कसैलाई ख्यालठट्टा गर्न मनपर्छ । अनि कोही स-साना कुरामा पनि रिसाइहाल्ने स्वभावका हुन्छन् ।
हुन त रिस उठ्नु स्वभाविक प्राकृतिक प्रक्रिया हो । तर बिनाकारण साना-साना कुरामा रिसाउनु चाहिं समस्या बनिदिन्छ । रिसले दैनिक काममा मन लाग्दैन । अत्यधिक रिस उठ्नु र हरक्षण बेचैन अनुभव गर्नु ‘अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ अर्थात् एडीएचडीको समस्याले पनि हुनसक्छ ।
के हो एडीएचडी ?
एडीएचडी स्नायुसम्बन्धी रोग हो । यो रोग लागेकाहरुमा बढी आवेग र कुनै कुरामा एकाग्रता नहुने समस्या हुन्छ । जुन बालबालिकादेखि वयस्कसम्मलाई देखिन्छ ।
दैनिकी हुने कामकाजलाई पूरा गर्न सफल जीवन कौशलको आवश्यकता हुन्छ । जसका लागि आत्मनियमन (सेल्फ–रेगुलेसन) जरूरी हुन्छ ।
एडीएचडी ग्रसित व्यक्तिको आत्मनियमन सम्बन्धी समस्या हुन्छ । जसकारण उनीहरू आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनन् । जसकारण स-साना घटना वा समस्यामा पनि अति संवेदनशील व्यवहार या भावनासहितको प्रतिक्रिया दिन्छन् । कैयौं पटक एडीएचडी समस्या समयमा पहिचान र व्यवस्थापन नहुँदा व्यक्ति, परिवार र साथीसँग गर्ने व्यवहारमा पनि असर गर्छ ।
कारण
एडीएचडी अनुवांशिक वा जैविक र वातावरणीय दुवै कारणले हुनसक्छ । दुईमध्ये ८० प्रतिशत जैविक हुन्छ । र, २० प्रतिशत वातावरणीय प्रभावले हुन्छ ।
जैविक कारण
बच्चाले जन्मिंदा यो समस्या लिएर आएको हुन्छ । जैविकमा मस्तिष्कको अगाडिको भागको राम्रोसँग विकास छैन भने बालबालिकामा यो समस्या देखिन्छ ।
सिकाइ, सञ्चार, चालढाल, भावना र ध्यान, विभिन्न प्रकारका कार्यहरू सिकाइ, सञ्चार, चालढाल, भावना र एकाग्रता गराउनु अगाडिको मस्तिष्कको काम हो । तर यो क्षेत्र विकास नभएमा यी सबै कुरामा कमजोर हुन्छ ।
परिवारका सदस्यमा यो समस्या छ भने त्यो परिवारको बच्चामा यो समस्या हुने सम्भावना हुन्छ ।
वातावरण
समयभन्दा अगावै जन्मिएको बच्चा वा तौल एकदमै कम छ भने त्यस्ता बच्चामा दिमागको राम्रोसँग विकास नहुँदा यो समस्या देखिने सम्भावना हुन्छ । साथै, गर्भावस्थामा चुरोट र रक्सी सेवन गर्दा जन्मिने बच्चामा यो समस्या देखिने सम्भावना हुन्छ ।
घरको वातावरण राम्रो छैन भने पनि बालबालिकामा एडीएचडी हुने सम्भावना हुन्छ । घरमा झै-झगडा भइरहन्छ, बच्चाको राम्रोसँग स्याहार भएको छैन, बच्चामा दुर्व्यवहार भइरहेको छ भने त्यस्ता बालबालिकाको दिमागमा असर परी एडीएचडी हुने सम्भावना हुन्छ । जुन बाल्यकालबाट सुरु भएर बिस्तारै वयस्कसम्म रहन सक्छ ।
साना-साना कुरामा रिस उठ्छ ? यस्ता छन् नियन्त्रण गर्ने उपाय
समस्या र लक्षण
यो रोगको पहिचान लक्षणको आधारमा गरिन्छ । यो लक्षण उमेरको हिसाबले परिवर्तन हुनसक्छ । यसको अर्थ जुन लक्षण बच्चामा देखियो त्यो वयस्कमा नदेखिन सक्छ । यद्यपि केही यस्ता लक्षण हुन्छन् जो यो समस्या भएका व्यक्तिहरूले बढी सामना गर्छन् ।
हतारमा बोल्नु वा अरूको बोली काट्नु
यो समस्या हुनेमा उसले बोल्न सक्ने भन्दा छिटो काम दिमागले गर्छ । र, नयाँ शब्द र वाक्यांशहरू पनि बोल्न सक्नुअघि नै दिमागमा राम्रोसँग पुग्छन् । जसले अरूले कुरा सक्नुअघि नसुनेर हतारिएर बोल्नु वा कुराकानीबाट भाग्ने प्रयास गर्नु वा बोल्दाबोल्दै आत्तिनु पनि यसको संकेत हो ।
साथै, सानो कुरा राख्न पनि अत्यधिक समय लगाउँछन् वा खोजेको निष्कर्षमा कुरा गरिरहेको व्यक्ति पुगेको छैन । र, यो समस्या पटक-पटक भान हुन्छ भने यसले एडीएचडीलाई संकेत गर्छ ।
अत्यधिक थकान
दिनभर काम गरेपछि थकान महसुस हुनु स्वभाविक हो । तर काम गरेपछि पूर्ण रूपमा शरीर भाँचिएको जस्तो अनुभव हुन्छ भने यो एडीएचडीको लक्षण हुनसक्छ । एडीएचडीको लक्षण भएकाहरूमा ध्यान दिन अन्य व्यक्तिको भन्दा कडा मेहनत गर्नुपर्छ । जसकारण उनी छिट्टै थकित हुन्छन् ।
जता पनि ढिलो पुग्नु
वयस्कमा यो समस्या छ भने उसलाई समय व्यवस्थापन गर्न धेरै कठिनाइ हुनसक्छ । किनभने उनीहरू आधारभूत कार्यहरू गर्न र आफू भएको ठाउँमा पुग्न लाग्ने समयको गलत हिसाब गरी सोहीअनुसार पुग्छन् । सधैं यस्तो हुनु सम्बन्धित व्यक्तिको लागि मात्र होइन, जसले समय दिएको छ उनीहरूका लागि पनि निराशाजनक हुनसक्छ ।
काम आधा छोड्ने
कुनै पनि काम पूरा गर्नुको सट्टा बीचमै छोड्नु वा लगातार कुनै काम गर्न र पूरा गर्न समस्या भइरहेको छ भने एडीएचडीको समस्या हुनसक्छ । उनीहरू ध्यान केन्द्रित हुन नसक्ने हुँदा अन्तिम परिणाम कल्पना गर्न समस्या हुनसक्छ ।
सबै कुरा बिर्सनु
पहिले गरेका वा भइरहेको कुरा बिर्सनु पनि वयस्कहरुमा एचडीजीको लक्षण हुनसक्छ । बिर्सनुको कारण उनीहरूको दिमाग एक समयमा एक कुरामा ध्यान केन्द्रित गर्न सक्षम हुँदैन । दिमागमा एकै पटक धेरै कुराहरु घुमिरहन्छ । जसकारण उनीहरू प्राय: कुराहरु बिर्सन्छन् । यही कारण उनीहरूलाई केही कुरा सोध्यो भने राम्रोसँग प्रतिक्रिया दिन सक्षम हुँदैनन् ।
एडीएचडीबाट ग्रस्त भएकाले यी समस्याको समयमै व्यवस्थापन गरिएन भने उसको भावना वा व्यवहारमा परिवर्तन आउनुका साथै मानसिक रुपमा समाजभन्दा आफूलाई अलग पाउँछ ।
रोकथाम तथा उपचार
माथि उल्लेखित लक्षण बाल्यकालदेखि छ भने यसको पुष्टि गर्न सहज हुन्छ । यो लक्षण बाल्यकालदेखि हो कि होइन पहिचान गर्न बाबुआमा, साथीभाइ र शिक्षकसँग कुरा गर्न सकिन्छ ।
समयमा उपचार गर्यो भने यो समस्या पूर्ण रूपमा निको हुनसक्छ । यसका लागि औषधि ‘एटोमोक्सेटाइन’ जस्ता औषधिको प्रयोग गरिन्छ । औषधिले मात्र नभई उनीहरुको मनोबल बढाउनुका लागि विभिन्न थरीका थेरापी दिइन्छ ।
यस्तो रोग हुन नदिन गर्भावस्थादेखि नै हेरचाह गर्ने, पौष्टिक खानेकुरा खाने, धुम्रपान तथा मदिरा सेवन गर्नु हुँदैन ।
जटिलता
समयमा उपचार नभएमा उनीहरूमा डिप्रेसन, पर्सनालिटी डिसअर्डर, बाइपोलर डिसअर्डर, ओब्सेसिव कम्पल्सिभ डिसअर्डर (ओसीडी) जस्ता मानसिक समस्या देखिन सक्छ ।