सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको फिल्म ‘महाजात्रा’को छायांकन थालिएको छ । बुधबार बिहान काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्त समारोहमा निर्देशक-निर्मातादेखि कलाकारहरुको उपस्थिति रहेको थियो ।

आगामी चैत ९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा ‘जात्रा’ श्रृंखलाकै मुख्य कलाकारहरु विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ दोहोरिएका छन् भने हरिवंश आचार्य थपिएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्ममा शिशिर बाङ्देल, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

४५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंका साथै जनकपुरका विभिन्न ठाउँमा हुनेछ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने ट्यागलाइन राखिएको फिल्ममा धेरै घटनाहरुको कथावस्तु रहेको निर्देशक भट्टराईले बताएका छन् । ‘जात्रा’को दुईटा सिरिज पैसा र सुनको वरिपरि केन्द्रित रहेको थियो । यसपटक सुन र पैसासँगै राष्ट्रिय मुद्दालाई पनि समेटिएको निर्देशक भट्टराईको भनाई छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । षट्कोण आर्ट्सको ब्यानरमा बन्ने फिल्मको २ करोडमा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भैसकेको छ । त्यस्तै, ६० लाखमाथिमा डिजिटल राइट्स समेत बिक्री भैसकेको जानकारीमा छ । ब्रान्ड भ्यालु भएको यो फिल्मले बक्स अफिसमा सशक्त कमाई गर्ने प्रक्षेपण गरिएको छ ।

तपाईको प्रतिक्रिया