काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मनु उपन्यास’का लागि देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ ।

काठमाडौं आज आयोजित कार्यक्रममा खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सुवेदीलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी तीन लाख रुपैयाँ छ ।

२०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको एउटालाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा र पद्मश्री साधना सम्मान वरिष्ठ कलाकार दुर्गा बराललाई प्रदान गरिएको छ । दुवै पुरस्कार तथा सम्मानको राशी तीन लाख रुपैयाँ छ ।

२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनयलगायतका क्षेत्रमा दीर्घसाधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ । पुरस्कार तथा सम्मान प्रदान गर्दै प्रतिष्ठानका अध्यक्ष लामिछानेले साहित्य र कलाले देशलाई समृद्ध बनाउने बताए ।

सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया