तिम्रा हर रहरमा साझा बनाए हुन्छ
सुमधुर मन भित्रको राजा बनाए हुन्छ
अन्त कतै मिल्दैन भने मलाई प्रिय!
तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ।
X
कहिले छिन छिन गर्ने चुरी लिएर आउँछ
कहिले तिरिरी बज्ने बाँसुरी लिएर आउँछ
तिमीलाई स्पर्श गर्ने पवनले साथैमा प्रिय,
मनै प्रसन्न पार्ने मिठो माधुरी लिएर आउँछ।
X
साक्षात ऐश्वर्य गुणकी अवतरित लिला हौ
मेरो कल्पना लोककी अवर्णनीय सुशीला हौ
कस्ले भन्छ तिमीलाई रक्तहीन पत्थर हौ भनेर?
तिमीत मेरो मन भित्र बहने अन्त-सलिला हौ।
X
चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ
बरदान भए तपस्वीलाई दिएर सकिने थियौ-
धन्न फूल भएकीले आँखा भरि बसेकी छौ प्रिय!
सराब हुँदी हौत हर दिन पिएर सकिने थियौ।
तीर्थराज अधिकारी
पोखरा-१०, हाल-ओहायो, संयुक्त राज्य अमेरिका।