मुक्तक १
अपमान गर्नु हुन्न थाहा हुनेले
अरूको खुसीमा आहा हुनेले
खाना पकाएपछि निम्तो गर्दैन,
आइदिओस् भन्ने चाहा हुनेले ।
मुक्तक २
सपनामाथि आगो झोस्न रै’छ र पो
उत्पादक कम्पनी पोस्न रै’छ र पो
बिजुली बन्छु भन्थी मेरो जिन्दगीमा,
रातभरिको निन्द्रा खोस्न रै’छ र पो ।
मुक्तक ३
धन कमाउने चाहना अग्लिन्छ धेरैको
टुक्रिएको मुटु समेत सग्लिन्छ धेरैको
बाटो मात्रै खुलोस् विकसित देश जाने,
चट्टानरूपी देशप्रेम पग्लिन्छ धेरैको ।
मुक्तक ४
अपराधकै बिउ रोपिदिने कानुन चाहिँदैन
पीडितकै मुटु खोपिदिने कानुन् चाहिँदैन
अपराधीलाई सार्वजनिक गर्ने बहानामा,
उल्टै मुख छोपिदिने कानुन चाहिँदैन ।
सन्ताेष अम्गाईं
किर्तिपुर