नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टले बजार ब्यबस्थापन गरेको शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन ।
शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ ।

कार्यक्रममा बोल्दै संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समिक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताएका छन् ।
यस्तै प्रमुख अतिथी सदस्य सचिव महराले आफुले संगीतकार थापाका गीतहरु सुन्ने गरेको भन्दै यो गीत पनि निकै मन परेको जनाइन । उनले थापा जस्ता अथाह प्रतिभाका धनी संगीतकारहरुलाई कसरी राज्यले थप सेवा सुविधा प्रदान गर्दै संरक्षण गर्न सक्छ त्यसमा आफु लागिपर्ने प्रतिवद्धता समेत जनाएकी छिन ।
कार्यक्रममा सम्बोधन गर्दै बरिष्ठ संगीतकार राजु सिंहले आफु संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । जहिले पनि केही न केही नविनतम् सृजना पस्कने थापाको खुबी रहेको भन्दै उनले भने – ‘संगीतमा साधना र संस्कारले ठुलो अर्थ राख्छ, यि सबै कुरा संगीतकार थापामा छ । उनको साधना र तपस्या संगीतमा झल्कने गरेको छ ।’
कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति राइट ट्युन इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक शाहीले आफुलाई संगीतकार थापाको सृजना मन परेकैले आफ्नो कम्पनीले लगानी गरेको जनाए । उनले आफ्नो कम्पनीले उत्कृष्ट सृजना गर्ने हरेक श्रष्टासँग सहकार्य गर्दै अघि बढ्ने समेत बताउदै आफुहरु इच्छुक भएका नयाँ प्रतिभाहरु संग पनि सहकार्य गर्दै अगाडी बढ्न तयार भएको जानकारी दिनु भयो । आज भन्दा करिब ४ बर्ष अगाडी स्थापना गरिएको राइट ट्युन इन्टरटेन्टमेन्टले लोकप्रिय गायिका गायिकाको स्वरमा गीतहरुको रेकर्ड तथा भिडियो निर्माण तथा बजार ब्यबस्थापन गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया