पोखरा /

पछिल्लो समय गीत सार्वजनिक गर्नेको लहड चलेको छ । पोखराबाट पनि म्युजिक भिडियो निर्माण गरी सार्वजनिक गर्ने कलाकारहरु बढ्दै गएका छन् ।

रहर नै सही बेलाबखत यहाँबाट समेत सांगीतिक गतिविधि भएको पाइन्छ । यस्तैमा भर्खरै मात्रै पोखराकी गायिका शान्ती श्रीस मगरले एक गीत सार्वजनिक गरेकी छिन् । उसो त उनी बुटीक व्यवसायमा आबद्ध छिन् । तर उनको लगाव गीत संगीतमा पनि उत्तिकै छ । गत शुक्रबार मात्र उनले निर्माण गरेको ‘जुन तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा सुगम संगीतका चर्चित गायक स्वरुप राज आचार्यसँग शान्ती श्रीस मगरले युगल गाएकी छिन् । सुरेश रानाको शब्द संगीतमा रहेको गीत कौडा लयमा रहेको छ । गीतको म्युजिक भिडियोमा विजय पुन, अविन मगर, गीता ढुंगाना र शान्ती श्रीस मगरको अभिनय रहेको छ ।

गीतले प्रेम भावलाई समेट्न खोजेता पनि वर्तमान समाजको यथार्थतालाई समेत चित्रण गरेको पाइन्छ । शान्ती श्रीस मगरको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । गीतलाई लिएर गायिका मगर आशावादी देखिन्छन् ।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया