नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। कानुनका बन्देजका कारण मात्रै होइन, २० वर्ष पनि नपुगी विवाह गर्नु शारीरिक, मानसिक स्वस्थ्यको हिसाबले पनि उचित होइन। तर सिन्धुली दुधौली नगरपालिकाकी घुम्टीले २० वर्ष पुग्दा नपुग्दै दुई पटक विवाह गरिसकिन्। अनि बनिसकिन् दुई सन्तानकी आमा।
विवाह र प्रेमको बारेमा राम्रो जानकारी पनि नहुने उमेर १२ वर्षमा नै प्रेम विवाह गरेकी घुम्टी १५ वर्षमा आमा बनिन्। पिछडिएको समुदाय र गरिब परिवारका उनीहरू आर्थिक बोझले थिचिँदै गए। परिवारमा सदस्यको सङ्ख्या बढ्दै गयो, आर्थिक भार थपिँदै गयो।
अन्ततः आम नेपाली नागरिकजस्तै घुम्टीका श्रीमान पनि केही वर्ष विदेशमा दुःख गर्ने, कमाउने र फर्किएर रमाउने सपना देखेर विदेशको लागि उडे, मलेसिया। उता श्रीमान र यता घुम्टीको दुःख लगभग बराबरी थियो। उता तातो घाममा रापिएर उनका श्रीमानले मेहनतसँग पैसा साट्दै थिए, यता घुम्टी खाइनखाई श्रम गरेर सपना र सन्तान दुबै हुर्काउँदै थिइन्।
तर एकदिन अचानक श्रीमानको मलेसियामा नै मृत्यु भएको खबर आयो। घुम्टीको सपना सकियो। कयौँ दिनसम्म उनका श्रीमान इन्द्रको शव समेत ल्याउन सकेनन् उनीहरूले। जब धन कमाउन विदेश उडेका उनका श्रीमान बाकसमा बन्दी बनेर फर्किए त्यसपछि घुम्टीको जीवनको खुसी हरायो।
वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएबापत सरकारले दिने क्षतिपूर्ति रकम १० लाख रूपैयाँ परिवारले त बुझे तर एक रूपैयाँ पनि उनको हात परेन। श्रीमान विदेश गएको ऋण तिरियो, घर बनाउन खर्च गरियो। उनलाई परिवारले यस्तै सुनाए। न श्रीमान, न सम्पत्ति। पति वियोगले कमजोर बनेकी घुम्टीलाई चलनअनुसार देवरसँग जबरजस्ती विवाह गराइयो।
एकै घरमा दुई, दुई श्रीमानको श्रीमती बनेकी घुम्टीले माया प्रेम त परको कुरा, सिन्दुरपोते समेत पाएकी छैनन्। उमा पौडेलद्वारा लिखित संग्रह घुम्टीको कथा सार हो यो।
झण्डै १० वर्ष पत्रकारिता क्षेत्रमा बिताएकी लेखक पौडेल हाल सुरक्षित आप्रवासनको क्षेत्रमा नै काम गर्छिन्। सम्भवतः दैनिक ठोकिन आउने व्यक्तिहरूको दुःख समेटेर उनले घुम्टी लेखेकी हुन्। घुम्टीमा वैदेशिक रोजगारीका कारण विचलित भएका मनहरू, वैदेशिक रोजगारीकै कारण लथालिङ्ग भएका घरका कथाहरू संग्रहित छ। सरकारले विदेश जानुअघि आवश्यक ज्ञान र सीप सिक्न, सम्बन्धित देशको भाषा जान्न, आफ्नो कार्य क्षमता निखारेर मात्रै जान बारम्बार आग्रह गर्ने गरेको छ।
दैनिक रूपमा झण्डै १५ सय युवाहरू श्रम खोज्दै विदेशिने गरेका छन्। घुम्टी पढ्दै गर्दा लाग्छ, सीप सिकेर विदेश जानेहरू भने नगन्य छन्। खुसी र समृद्ध जीवनको परिकल्पना गर्दै आफ्ना प्रियजनलाई विदेशको मरुभूमिमा पठाउनेहरूको दुःख र संघर्षको संग्रह हो, घुम्टी। घुम्टी, रोजगारीको खोजी र पैसा कमाउन देश छोड्ने युवाहरूले विदेशमा पाउने दुःखको फेहरिस्त हो अनि विदेशमा श्रीमान पठाएर देशमा दिनरात आँसु पिउन बाध्य श्रीमतीहरूको कथा। अनि हो, साहुको ऋण तिर्ने, सानो घर बनाउने र खुसी-खुसी जीवन बिताउने सपना देखेर छोराहरूलाई विदेश पठाउने आमा-बाको दुःखको संग्रह।
अक्सर विदेश गएर दुःख पाएका युवाहरूको कथा मात्रै सुनिन्छ। सञ्चार माध्यममा पनि त्यस्तै खबर पढ्न, सुन्न र हेर्न पाइन्छ। तर घुम्टीमा त्यसको ठिक विपरीत आफन्तहरू विदेश पठाएर घरमा पर्खेर बस्नेहरूको पीडा पढ्न पाइन्छ।
२१ शीर्षकमा विभिन्न मानिसका कथा संग्रहित घुम्टीका अधिकांश कथामा वैदेशिक रोजगारीले उजाडिएको परिवारको कुरा छ। पैसा कमाउने, घर बनाउने र हाँसीखुसी जीवन बिताउने थुप्रै नेपालीहरूको चाहनामा वैदेशिक रोजगारीले झन् पीडा थपेको छ।
हुन त वैदेशिक रोजगारीका कयौँ राम्रा पक्ष छन्। रेमिट्यान्सका कारण देशकै आर्थिक अवस्था उकास्नमा सहयोग पुगेको छ। वैदेशिक रोजगारीकै कारण कयौँ नेपालीको जीवनस्तर सुधारिएको छ। छोराछोरीले राम्रो शिक्षादिक्षा पाएका छन्, श्रीमती/श्रीमान, बुवाआमाले उच्चस्तरिय जीवन बाच्न पाएका छन्।
तर सबैको भाग्यमा त्यस्तो छैन। यसै पनि गरिब, विपन्न र पछाडि पारिएका समुदायका युवाहरूको अवस्था झन् जटिल छ। विदेश जाँदैमा लाखौँ ऋण गरेर जानुपर्ने बाध्यता छ। पुगेपछि पनि श्रम सम्झौता अनुसारको काम पाइँदैन। न खान बस्नको राम्रो व्यवस्था। न कमाइ राम्रो।
अलिकति भए पनि बढी कमाउने लोभमा ओटी गर्दा र खाइ, नखाइ बस्दा कयौँ नेपालीहरू खाडीमै बिरामी पर्ने गरेका छन्। स्याहर सम्भार गर्ने र औषधि मुलो गरिदिने मान्छे छैन। के भयो? भनेर सोधिदिने र निदार छामिदिने आफन्त छैनन्। बिरामीकै कारण कतिको मृत्यु हुने गरेको छ।
नेपालमा भएकाहरूले विदेशमा आफ्ना आफन्तको मृत्यु कसरी भयो थाहा समेत पाउँदैनन्। एक मात्रै परिवारको आश र भरोसा उतै निभ्दा यता कस्तो होला अवस्था? त्यसको धेरैथोर जवाफ घुम्टीले दिन्छ।
पढ्न सरल र सहज तरिकाले लेखिएको घुम्टीमा कथा र दुःख मात्रै छैन, वैदेशिक रोजगारीको क्षेत्रको कतिपय तथ्य, तथ्याङ्कहरू पनि छ। अनि सुरक्षित आप्रवासनको लागि स्थानीय सरकारहरूले गरिरहेका प्रयासका बारेमा पनि उल्लेख छ। विशेष गरी सिन्धुली, खोटाङ, भोजपुरलगायत जिल्लाका नागरिकको सुखदुःख समेटेर तयार पारेको घुम्टीमा सिंगै नेपालको चित्र देख्न सकिन्छ।
पुस्तकका पात्रहरू वास्तविक हुन्। कयौँ महिलाका श्रीमान विदेशमा नै हराइरहेका छन्, खोजिदिन पहल गरिदिन आग्रह गर्दै सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने सस्थामा धाइरहन्छन्। कति महिलाको श्रीमान विदेशमा नै मृत्यु वरण गरेका छन्। कयौँको सिउँदो पुछिएको छ, छोराछोरी बुवाविहीन भएका छन्, मायाको डोरी चुँडिएको छ।
विदेशी कानुनको अज्ञानताले कयौँ नेपाली जेलमा बसिररहेका छन्, कतिको सडकमा नै बास रहेको छ। न नेपाल आउन सक्छन्, न त्यहाँ कानुनी मान्यता छ। घरेलु कामदारका रूपमा जान रोक लगाएको देश कुवेतमा रहेकी छोरीले दिनदिनै सुनाउने दुःखदेखि छोराको पखाईमा वर्षौं बिताएका आमाबुवाको कथासम्म छ घुम्टीमा।
पहाडको दुःख कम गर्न तराई झर्ने, छोराछोरी बोर्डिङ पढाउने, फर्किएर आएर सानो पसल वा व्यवसाय गर्ने, बजारतिर एक टुक्रा जग्गा किन्ने सपना देखेर मात्रै होइन, छोरीलाई दाइजोमा के दिने? भन्ने चिन्ताले पनि मानिसहरू विदेश गइरहेका छन्।
यो कुरा सरकारलाई राम्रोसँग थाहा छ, तर उनीहरूको योग्यता र क्षमता अनुसारको काम दिलाउन सहयोग गर्न सकेको छैन। यतिसम्म कि कानुनी अज्ञानतामा जेल बसेकाहरूलाई सहजीकरण गरेर नेपाल फर्काउन सक्ने अवस्था छैन। कतिले उतै मृत्युदण्ड पाएका छन्, कति आजीवन उतै बस्न बाध्य छन्।
वैदेशिक रोजगारीलाई जति व्यवस्थित बनाउने भने पनि वैदेशिक रोजगारीको विषय व्यवस्थित बन्न सकेको छैन। वैदेशिक रोजगारीको विषय व्यवस्थित नबन्दा यसले नेपालमा पारेको दुःख प्रभाव कम हुन सकेको छैन। जुन कुरा घुम्टी पढ्दा पनि प्रष्ट हुन्छ। तीन सय रूपैयाँ मूल्य रहेको ‘घुम्टी’ अजम्बरी पब्लिकेसनबाट प्रकाशनमा आएको हो।