इटहरी : इटहरी उपमहानगरपालिकाले पालिकामा रहेका स्रष्टा र सिर्जनाको अपमान गरेको भन्दै बिहीवार मौनविरोध गरिएको छ । लेखक तथा नेतृ मिथिला पोखरेलको अगुवाईमा स्रष्टाहरूले नगरपालिकाको मूल गेट अगाडि ‘सर्पहरू गीतसंगीत सुन्दैनन्’ नामको कालो ब्यानरसहित विरोध जनाएका हुन् ।

पोखरेलले जारी गरेको वक्तव्यमा इटहरी आसपासका सबै नगरपालिकाले कम्तिमा २५ लाखदेखि बढीमा ५० लाखसम्मको वार्षिक बजेट विनियोजन गरी सुरुदेखि नै महत्वपूर्ण योगदान गरेको उल्लेख छ । ती नगरपालिकाका उपप्रमुख मन्जु भण्डारी, जमुना पोखरेल, तारा ढकाल र धना तामाङले यस क्षेत्रको उत्थानका लागि महत्वपूर्ण काम गरेको उल्लेख छ ।

इटहरीमा भने २०७७ सालको बजेटमा उपप्रमुखले स्रष्टा र सिर्जनाको उत्थानमा संस्था नै निर्माण गरी तिनको हितमा काम गर्ने प्रतिज्ञा गरेको र पुस्तकालयलाई इ–लाइब्रेरी बनाउने भनी गरेको वाचा विपरीत सिन्को पनि नभाँचेको आरोप लागेको छ । पालिकामा साधन स्रोत हुँदा र गरेका वाचाअनुसार पनि काम नगर्नुजस्ता लज्जाजनक कामप्रति स्रष्टाले विरोध गरेका हुन् ।

कवि टिक मिलनले स्रष्टाको उपेक्षा र अपमान घोर निन्दनीय रहेको बताए । उनले त्यसका लागि कलमले नै क्रान्ति गर्ने भावको छन्दोबद्ध कविता वाचन गरेका थिए ।

विरोध कार्यक्रममा जनसांस्कृतिक महसंघका केन्द्रीय सल्लाहकार प्रा.डा. बद्रीविशाल पोखरेल, प्रसिद्ध गीतकार गायत्री लम्साल, कलाकार कृष्ण नेपाल, लेखक पदम अधिकारी, कलाकार सुषमा तिम्सिना, गीतकार नरेश खड्कालगायत तीन दर्जन स्रष्टा सहभागी थिए ।

तपाईको प्रतिक्रिया