– केदार मगर
जिल्लामा १२ हजार ८९८ हेक्टर जमीनमा धानखेती गरिँदै आएकामा हालसम्म ९५ प्रतिशतभन्दा बढी भागमा रोपाइँ भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसवर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन १५ अगावै रोपाइँ गर्न सहज भएको हो ।

चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “चैते धान र मकै भित्र्याएपछि त्यहाँ पनि रोपाइँ हुनेछ” उहाँले भन्नुभयो,“जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेतीयोग्य जमीन भए पनि १२ हजार ८९८ हेक्टर जमीनमा मात्र धान लगाउने गरिएको छ ।”

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने तर सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

जिल्लाको हौँचुर, खार्पा, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछिता पोखरी, सिम्पानी, ईन्द्रेणी पोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावा कटहरे, खोटाङ बजारलगायत ठाउँमा बढी धानखेती हुन्छ । तीमध्ये सिञ्चित ११ हजार ४०० हेक्टर र तीन हजार ८०२ हेक्टर जमीन छ ।

दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी, केपिलासगढी, एँेसेलुखर्क, साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा अहिले धमाधम रोपाइँ भइरहेको र रोपाइँको काम अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा भने रोपाइँ ढिलो शुरु भएको छ । उक्त दुई गाउँपालिका बेँसी क्षेत्रमा पर्ने भएकाले गत असार १५ देखि मात्रै रोपाइँ थालिएको हो । यसवर्ष समयमै पानी परेकाले शत–प्रतिशत रोपाइँ हुने भएको र उत्पादनसमेत बढ्ने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा उन्नत जातअन्तर्गत मकवानपुर– एक, खुमल प्रजाति, राधा तथा स्थानीय प्रजातिका बास्मती, चम्पासरी, पात्लेमार्सी, अटेमार्सीलगायत धानको बिउ रोपिएको छ ।

खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने यस जिल्लामा गतवर्ष लामो समयसम्म खडेरी परेकाले ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको केन्द्रको अनुमान छ । दैनिक छाक टार्न एक मात्र विकल्प रहेको खेतीपातीमा लामो समयको खडेरी र फौजी कीराको प्रकोपले सताएकाले हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दा भोकमरीमा पारेका थिए । खाद्यान्न सङ्कट भएकाले नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर त्यहाँ वितरण गरेको थियो ।

सिन्कौली खेतीमा आकर्षण

गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । व्यावसायिकरुपले खोती खेती नगरिए पनि पछिल्लो समय व्यापारीले यसको खोजी गरी खरीद गर्न थालेकाले किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका हुन् ।

सिन्कौली अर्थात् तेजपात (दालचिनी) का नामले प्रख्यात मसलाको रुख हो । यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग हुँदै आएको छ । सिन्कौलीको विभिन्न भाग उचित मूल्यमा बिक्री हुने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् ।
अब नया प्रविधिको प्रयोगसँगै कमजोर आर्थिकस्तरका किसानले नयाँ विकल्प खोज्न थालेको जिल्ला वन महासङ्घका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । किसानले हाल डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ र विभिन्न कृषि फर्मसँगको सल्लाहमा सिन्कौलीको बिरुवा निःशुल्क वा किनेर पनि खाली जमीनमा रोप्न थालेका छन् ।

नजिकैको थोक बजारमा सिन्कौलीको पात प्रतिकिलो रु ६० र बोक्रा प्रतिकिलो रु १५० का दरले बिक्री हुँदै आएको छ । छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायत बजारमा सिन्कौली सङ्कलन गरिन्छ ।

थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासङ्घका अध्यक्ष राईले बताउनुभयो । “सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ”, उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ । बजार पनि राम्रो छ ।”

सामुदायिक वन क्षेत्र तथा व्यक्तिका बाँझो जमीनमा सिन्कौली लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने अध्यक्ष राईले बताउनुभयो ।

सिन्कौली चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ । बजारमा पाइने अधिकांश मसलामध्ये दालचिनीको नाममा यसको व्यापार व्यापक छ ।

सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको थियो । बढी मात्रामा सिन्कौली हुर्काएका किसानले पात टिपी सुकाएर उदयपुरको बेलटारमा बिक्री थालेका छन् ।

यसको पात र बोक्राबाट मसला, औषधिजन्य तेलसमेत उत्पादन हुने गर्दछ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचनशक्ति बढाउन, रोकिएको पिसाब खुलाउन तथा मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया