सिन्धुली : सिन्धुली जिल्ला नेपालको बागमती प्रदेशमा रहेको पुर्बी पहाडी र भित्री मधेसमा पर्ने जिल्ला हो। सिन्धुली प्राकृतिक सम्पदा तथा धार्मिक स्थलहरु र संस्कृतिले धनी जिल्ला मानिन्छ। नेपालको सबैभन्दा सुन्दर सडकमार्ग (बिपि राजमार्ग) पनि सिन्धुली जिल्लामै पर्दछ ।त्यसैैैगरि जुनार खेेेतीको लागि पनि प्रसिद्द जिल्ला हो सिन्धुली। नेपालको राजधानी काठमाडौंदेखि करीब १३४.६ कि.मी. टाढा रहेको सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढी हो।
कसरी रह्यो सिन्धुली नाम ?
सिन्धुली जिल्ला भारतको उज्जैनबाट उत्तराखण्डको हिमाली क्षेत्रमा तपस्या गर्न आएका ‘सिन्धुल’ नामका राजाले तपस्या गरी सिद्धि प्राप्त गरेको ठाँउ भएकोले उनैको नाममा सिन्धुली नामकरण गरिएको र यसै ठाँउका आधारमा जिल्लाको नामकरण गरिएको मान्न सकिन्छ । सिन्धुलीगढीमा स्थापित सिद्धेश्वर देवालय सिन्धुलले स्थापना गरेको मानिन्छ । संस्कृत भाषामा सुरुङमार्गलाई ‘सिन्दुर’ भनिने र सिन्धुली माँडी(फाँट) बाट गढीतर्फ जान सुरुङ बनेकोले त्यसलाई ‘सिन्धुरी’ भनिएको र पछि यो शब्द अपभ्रंश भएर ‘सिन्धुली’ बनेको मानिन्छ ।
भूगोलमा सिन्धुलीः–
देशः नेपाल
प्रदेशः बागमती
जिल्लाः सिन्धुली
बागमती प्रदेशको दोस्रो ठूलो जिल्ला हो ।
यो जिल्ला भित्रि मधेशमा पर्छ ।
सिन्धुलीको अग्लो स्थान ‘फिक्कल डाँडा’ हो ।
क्षेत्रफलः २४९१ वर्ग किलोमिटर
विश्व मानचित्रमा २६ डिग्री ५५ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २२ मिनेट उरी अक्षांश र ८५ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८६ डिग्री २५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।
सिन्धुली जिल्ला समुन्द्री सतहबाट १६८ मिटर देखि २७९७ मिटरको उचाई सम्म फैलिएको छ । सिन्धुली जिल्लामा ३०० मिटर भन्दा होचो भूभाग १३.७ प्रतिशत रहेको छ । जसलाई मधेश पनि भन्दछौँ । यो भूभाग हाम्रो देशको अन्न भण्डारको रुपमा प्र सि द्ध छ ।
त्यसैगरी समुन्द्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको भूभाग सिन्धुली जिल्लामा ८५.८७ प्रतिशत रहेको छ । जुन क्षेत्रफल फलफुल तथा पशुपालनको लागि उपयुक्त रहेको छ । त्यसैगरी समुन्द्र सतहबाट २००० मिटर माथि उचाईमा सिन्धुली जिल्लाको भूभाग ०.५ प्रतिशत मात्र रहेको छ । जसलाई हामी महाभारतीय शृङ्खला पनि भन्दछौँ ।
नेपालको सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला हो सिन्धुली।
सिमाना जोडिएका छिमेकी जिल्लाहरूः–
पूर्वमा उदयपुर र सिराहा
दक्षिणमा धनुषा, महोत्तरी, सर्लाही र रौतहट
पश्चिममा मकवानपुर र काभ्रेपलाञ्चोक
उत्तरमा रामेछाप र ओखलढुङ्गा
जनसङ्ख्याः २,९६,१९२
पुरुषः १,४२,१२३
महिलाः १,५४,०६९
९ स्थानीय निकाय अर्थात २ नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्ला भौगोलिक रुपमा भित्री मधेस क्षेत्रदेखि उत्तरी महाभारत श्रङ्खलाको मध्य भाग क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ।
प्रत्येक निर्वाचन क्षेत्रहरुमा भावर क्षेत्र, खोच, महाभारत तथा गड्तिरका भागहरु रहेका छन् ।
संघिय निर्वाचन क्षेत्र २ वटा
प्रादेसिक निर्वाचन क्षेत्र ४ वटा
स्थानिय तह ९ वटा
नगरपालिका २ वटा
कमलामाई नगरपालिका
दुधौली नगरपालिका
गाउँपालिका ७ वटा
तीनपाटन गाउँपालिका
गोलञ्जर गाउँपालिका
घ्याङलेख गाउँपालिका
फिक्कल गाउँपालिका
मरिण गाउँपालिका
सुनकोसि गाउँपालिका
हरिहरपुरगढी गाउँपालिका
नदीनालाहरुः कमला, मरिण, सुनकोशी, चँदाहा, रोशी, बागमती, तावा, वाक्सु, वदाह, अरुण ठाकुर, ककुर ठाकुर ।
पोखरी र तालहरुः पञ्चकन्या पोखरी ।
ऐतिहासिक तथा धार्मिकस्थलहरुः कुशेश्वर महादेव,भद्रकाली, सिद्धस्थान, माईस्थान, कालिकामाई मन्दिर, मधुगङ्गा, सर्पे ढुङ्गा, सिन्धुलीगढी, हरिहरपुर गढी ।
वाणिज्य तथा व्यापारिक स्थानहरुः दुधौली, भिमान, सिन्धुलीमाढी, खुर्कोट, झाँगााझोली, कपिलाकोट, चकमके ।
नेपालको एकीकरण र ईतिहासमा सिन्धुली :-
सिन्धुलीगढीका अनुसन्धान तथा खोजकर्ताहरुका अनुसार पुर्खाहरुको अदम्य साहस र वीरताका कारण आज नेपाल राष्ट्रको अस्तित्व राख्ने स्थान सिन्धुलीगढीनै हो।
अङ्ग्रेज कम्पनी सरकारले गोरखाली फौजसँग युद्ध गर्न टिप्राको लडाँइमा विजयप्राप्त गरेका वीरयोद्धा कप्तान किनलकको नेतृत्वमा २,४०० हिन्दुस्तानी र अङ्ग्रेज अफिसरका साथ अङ्ग्रेज फौज पटना तर्फ पठायो । उक्त फौज पटनाबाट दरभङ्गा हुदै जनकपुरको बाटोबाट कमला नदीको किनारै किनार सिन्धुलीगढीमा आइपुग्यो ।
अङ्ग्रेज फौज पटनाबाट हिँडेको खबर सुनेपछि पृथ्वीनारायण शाहले त्यसलाई रोक्न वीरभद्र उपाध्याय र वंश गुरुङको नेतृत्वमा ५०० गोर्खाली फौज सिन्धुली तर्फ पठाए । त्यसको केही समयपछि यिनले सिन्धुली गढीको रक्षार्थ वंशराज पाँडे र श्री’हर्ष पन्तको नेतृत्वमा ७०० गोर्खाली फौजको अर्को टोली पठाए।
अङ्ग्रेज फौज सिन्धुलीगढीको पौवा गढीमा आएपछि गोरखाली फौजले सिस्नो र अरिङ्गालको गोलोले हानेर आक्रमण गरे गोर्खालीको अप्रत्यासित आक्रमणबाट अत्तालिएर अङ्ग्रेज फौजको भागाभाग पर्यो ।
गुरिल्ला युद्धमा खप्पिस गोर्खाली सेनाबाट पहाडी युद्धमा अभ्यस्त नभएका हिन्दुस्तानी अङ्ग्रेज फौजलाई ज्यान जोगाएर भाग्न निक्कै गाह्रो पर्यो । यस युद्धमा गोर्खाली फौजले शत्रुको तीन सय बन्दुक हात पारे ।
यस युद्धमा अङ्ग्रेज तर्फका १६०० र गोर्खाली तर्फका तीन सय सैनिक मा रि ए ।अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो।
वि. सं. १८२४ कार्तिक २४ गते सिन्धुलीगढी युद्ध भएको थियो । यसकारण हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयी उत्सव मनाउने गरिन्छ ।