वि.सं २०५२ साल असार २० गते जन्मिएकी नेपाली चलचित्र क्षेत्रकी सफल नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । स्वस्तिमाले जन्मदिनमा खासै धेरै कार्यक्रम नरहेको बताइन् । तर, उनी आज एक बाल आश्रममा पुगिन् र बालबालिकासँग खुशी साटिन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘होस्टेल रिटन्र्स’बाट प्रवेश गरेकी स्वस्तिमा आजको दिनमा सफल नायिकाको स्थानमा उभिएकी छिन् । चलचित्रमा मात्र नभएर, विज्ञापनको दुनियाँमा पनि उनको क्रेज गज्जबको छ । उनै, स्वस्तिमाले अनलाइनखबरसँग आफ्नो काम, सपना र योजनाको बारेमा कुराकानी गरेकी छिन् ।
स्वस्तिमालाई स्वस्तिमा बनाउने सहयोगी बनेका बानी
मेरा बानीहरु परिवर्तन गर्छु भनेर भएका होइनन् । चलचित्र क्षेत्रमा आउँदा नै अब यी बानीहरु परिवर्तन गर्नुपर्छ भनेर मैले गरेकी होइनँ । काम सुरु गरेपछि कतिपय बानीहरु परिवर्तन भएका छन् । विशेषगरि, कडा मिहिनेत, इमान्दारिता र सबैसँग काममा सजिलो हुने बानीले नै मलाई अगाडि बढ्न मद्दत गरेको होला । विशेषगरि, इमान्दारिता सबैभन्दा ठूलो हतियार हो ।
करिअर बदलिएको बिन्दु
म पूर्ण रुपमा बदलिएकी छु भनेर भन्न चाहन्नँ । तर, हरेक चलचित्रले मलाई कुनै न कुनै पाठ सिकाएको छ । पहिलो चलचित्रले मलाई यो क्षेत्रको अनुभव महशुश गराएको छ । दोश्रो चलचित्रले असफलताको पाठ सिकाएको छ । तेश्रो चलचित्र ‘छक्का पन्जा’ले मलाई मल्टिस्टारर कलाकारको अनुभव दिलायो । चलचित्र ‘बुलबुल’ फेरि अर्को कोशे ढुंगा बनेर आयो । यो जिन्दगी निकै नै छोटो छ । यसैले, आफ्नो मात्र गल्तीबाट पाठ सिक्ने समय हामीसँग छैन । मैले, अरुका गल्तीबाट पनि पाठ सिकेकी छु । म परिवर्तन भएकी छैन, तर मेरो करिअरमा सिक्दै अगाडि बढेकी छु ।
स्टारडम र अभिनयको चर्चा
म आफुलाई कहिल्यै पनि स्टारको रुपमा हेर्दिनँ । मलाई त अझै सेलिब्रिटी बन्न अप्ठ्यारो लाग्छ । तर, काम गर्दै जादा यो पनि एउटा पाटो बनेर आउने रहेछ । मलाई सधै नै राम्रो काम गर्नुपर्छ भन्ने नै लाग्छ । कामले नै लामो समय टिकाउने हो । अझ, नायिकाको हकमा त विभिन्न खालका सिमानाहरु तोकिन्छ । कहिले बिहे गरेपछि करिअर सकिन्छ भनिन्छ । अनी फेरि, बच्चा जन्माएपछि, छाला चाउरी परेपछि आदि आदि । केटी मान्छेहरुका लागि स्टारडम भनदा पनि काम ठूलो हो । स्टारडम त कामको एउटा पाटो मात्र हो । मलाई यसकारण पनि काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । स्टारडमको पछि लाग्दा काम हातबाट गुम्छ । म कामलाई नै आफ्नो जिन्दगीमा स्थान दिन खोजिरहेकी छु ।
ब्रान्ड बजारमा लोकप्रियता
पहिले–पहिले मलाई चलचित्र र विज्ञापन दुनियाँ उस्तै हो जस्तो लाग्थ्यो । तर, यी दुई विल्कुल अलग पाटो रहेछन् । विज्ञापनमा म चलेकी छु । विज्ञापनमा कमर्सियल फेस पनि हुँदोरहेछ । कुनै पनि ब्रान्डका लागि मुख्य कुरा, ‘गुड विल’ चाहिने रहेछ । सायद, मैले यो क्षेत्रमा आएपछि ‘गुड विल’ बनाउन सकेकी छु भन्ने लागेको छ । किनकी, मेरो बारेमा नराम्रो कुरा आउँदा म जोडिएको ब्रान्डलाई घाटा पुग्छ । म जोडिएको ब्रान्डको बारेमा नराम्रो कुरा आउँदा मलाई घाटा पुग्छ । चलचित्र क्षेत्रमा विवाद नहुनु, ख्याती कमाउनु आदिले पनि ब्रान्ड बजारमा मेरो माग बढेको हुनुपर्छ । उसो त फेरि, विवादबाट बच्न हरेक मान्छेले कोशिश गरेकी हुन्छ । यसको अर्थ, विवाद हुन्छ भनेर बोल्नै पर्ने बिषयमा नबोल्ने भन्ने पनि होइन । म ब्रान्डसँग नजोडिएको भए पनि विवादमा नजोडिएको नै राम्रो हो भन्ने बिषयमा म सधै नै सजग छु ।
सपना के छ ?
सपनाहरु त केही छन् मेरा । मलाई पर्दा पछाडि बसेर काम गर्ने ठूलो रहर छ । चलचित्र निर्देशन गर्ने मेरो सपना हो । तर, अहिले नै होइन । पहिले, निर्देशनको बिषयमा राम्रो देशमा गएर पढेर आउने इच्छा छ । यसबाहेक, मलाई चलचित्र भन्दा बाहिरको क्षेत्रलाई नै वुझ्न मन छ । यसका लागि मलाई व्यापारमा हात हाल्न मन छ । किनकी, एउटै दुनियाँमा हामी रमाएका छौं । चलचित्र क्षेत्रको काम फेरि स्थायी पनि होइन ।
आफन्त गुमाउने डर
मेरो मनमा सधै नै एउटा डर छ । त्यो भनेको आफन्तहरुबाट टाढा हुनुपर्छ भन्ने हो । अरु कुरामा त मलाई खासै डर लाग्दैन । तर, कुनै दिन आफ्ना नजिकका मान्छेहरुबाट टाढा हुनुपर्छ या उनीहरु आफूबाट टाढा हुन्छन् भन्ने डर खुबै लाग्छ । यो कुराहरु सपनामा पनि खुबै आउँछ ।