कुनै जात वा धर्मको विषयमा बोल्दा/लेख्दा १० पटक सोचेर मात्र बोल्नु/लेख्नुपर्छ । कुराको अर्थ एक भए पनि शब्दमा त्रुटि भए ठुलै समस्या सिर्जना हुन सक्छ । यही हो ‘नयाँ नेपाल’ को कडा नियम ।

कुनै समुदायको विषयमा बोल्नु र लेख्नुअघि सोच्न जरुरी होइन बाध्यता छ । केही दिनयता सामाजिक सञ्जालमा सञ्चारकर्मी रुपा सुनार निकै चर्चामा छिन् ।

आफू दलित भएकै कारण कोठा भाडा नदिएको भन्दै सुनारले दिएको जातीय विभेदको उजुरीमा काठमाडौँ बबरमहल निवासी घरबेटी सरस्वती प्रधान तीन दिनको प्रहरी हिरासतबाट मुक्त भइन । उनी शिक्षामन्त्री ‘कृष्ण गोपाल श्रेष्ठ’को रोहबरमा गत शुक्रबार हिरासतमुक्त भएकी हुन् ।

यही कारण यो घटनाले जातीय द्वन्द्व निम्त्याउन सक्ने सम्भावना प्रवल देखिएको छ । साधारण व्यक्ति देखि सेलिब्रेटीहरु सम्मले सामाजिक सञ्जालमा आफ्नो तर्क राखिरहेका छन् ।

काेही भन्छन्, ‘ बिनागल्ती जेलमा थुन्नेलाई कारबाही होस्, घरबेटीलाई न्याय चाहियो’ । काेही भन्छन्, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ, रुपालाई न्याय चाहियो’ ।

यसैबीच लोकप्रिय गायक शिव परियारले पनि यो विषयमा आफ्नो विचार राखेका छन् ।

हजुरबा-हजुरआमाले अपशब्द प्रयोग गरी गरेको विभेदमा परिवर्तन भई विभेद गर्ने शैलीमा आधुनिकता भित्रिएको गायक परियारको बुझाइ छ । उनी भन्छन् – ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द, गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो । यो अहिलेको पुस्ताले चैँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो । जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली ।’

गायक परियारले शनिबार आफ्नो फेसबुकमा एउटा पोस्ट लेखेका थिए , जहाँ उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई प्रश्न गरेका छन् – मीठो र सभ्य भएर जे पनि गर्न पाइन्छ ? म्वाई खाँदै कसैको घाँटी रेट्न पनि पाइन्छ ?

परियारले आफ्नो पोस्टमा आधुनिक शैलीमा विभेद भइरहेको कुरालाई प्रष्ट पार्न खोजेका छन् । रुपा सुनार र सरस्वती प्रधानको मुद्दालाई जोड्दै गायक परियार लेख्छन् –

‘गाली गरीगरी घाँटी रेटे पनि,
अथवा ग्वाम्लाङ्गै अङ्गालो हालेर
गालामै च्वाप्पच्वाप्प म्वाइ खाँदै
घाँटी रेटे पनि परिणाम त आखिर
मृत्यु नै हो ।
तर माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ,
त्यसले घाँटी रेटेर मारेको पनि मारेको हो र ?
रिसाको, गाली गलौज त्यस्तो केही गरेको थिएन त, कति राम्रोसँग म्वाइ खाएर घाँटी रेटेको रहेछ नि,
त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र ?

सामाजिक सञ्जालमा प्रस्तुत विचार अनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकतावाद छिरेको प्रष्ट भएको छ ।”

जातीभेदीहरू जातीय विभेदलाई अपराध होइन भन्ने अनेक कुतर्क गरिरहेको परियारको आरोप छ ।

उनले उत्पीडित वर्गले छद्मभेषी जातीय समानता नखोजेको पनि प्रष्ट पारेका छन्। उनी भन्छन्, ‘दलित समुदायले समाज र व्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समतामुखी व्यवहारको मात्र अपेक्षा गरेको हो ।’

अहिले सामाजिक सञ्जालमा ‘दलितले कोठा नपाउनु र ब्राह्मणले कोटा नपाउनु’ दुवै विभेद हो भन्ने तर्क विवादको विषय बनिरहेको छ ।

यही विषयलाई औल्याउँदै गायक परियार भन्छन्- ‘एउटा सामन्त वर्गको पिँढी छ, जो हरेक विभेदको घटनामा सामाजिक सञ्जालमा दलितलाई मुख्य टार्गेट गरी कोटा प्रणाली बन्द गर भन्दै कुर्लिन्छ । उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकि महिला आरक्षणका नाममा ३३ प्रतिशत उसैको वर्गको प्रतिनिधित्व छ,’ उनले तर्क गरेका छन्, ‘यो विषयमा बोल्दा उसको आफ्नै वर्गको टाउको फुट्छ भन्ने उसलाई थाहा छ, त्यही भएर डराँउछ।’

दलित अन्य समुदायभन्दा कमजोर भएकै कारण त्यो झुण्ड सामाजिक सञ्जालमा दलितलाई दिइने कोटा खारेज गर्नुपर्छ भन्न सकिरहेको उनको बुझाइ छ। ‘कोटा प्रणाली भएकै कारण विभेद भइरहेको हो भने दलितको कोटा खारेज हुनेबित्तिकै सबैले समतामूलक अधिकार पाउँछन् ?’ गायक परियार प्रश्न गर्छन्, ‘के २०६२–६३ अगाडि विभेद थिएन ?’

अन्त्यमा, उनले मीठो बोलेर होस् वा तीतो, जातीय विभेद गर्न नपाइने बताएका छन् ।

तपाईको प्रतिक्रिया