काठमाडौं : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र एपी वान टेलिभिजनमा जूनकीरी दोहोरीका प्रस्तोता एवं गायक राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ।
नेपाली राजनीतिक वृत्तमा देखिएको नेताहरूको जुँगाको लडाइँ, कोभिड–१९ को प्रभावले कष्टकर जीवन बिताउन विवश नेपाली जनता र जनताको मत लिएर नेता भएकाहरूको गतिविधिको प्रसंगलाई गीतमा समावेश गरिएको छ।
मान्यज्यूलाई कुर्सी प्यारो बिरामीलाई शय्या
सासै फेर्न गाहो भयो मुटु दुख्यो ऐया
फरफराउने चन्द्र सूर्य जमिन तिरै झुक्ला
गल्ती गयौं जानाजान सधैं कुर्सी तानातान
विचार गर नेताज्यु इतिहासले थुक्ला
गीतमा रवि र राजेशलाई विपना अधिकारी र रेजिना परियारले स्वरमा साथ दिएका छन्। प्रतिभा चापागाईं तथा एलपी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत र सगीत संयोजन गरेका छन्। गीतको भिडियोमा पनि गायकगायिकालाई देख्न सकिन्छ। शिला क्षत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायांकन र सम्पादन छ।