घाम अस्ताउन लागेको छ।पश्चिम दिशाबाट अस्ताउन लागेको रातो घामको किरणले ठुल्ठुला घरका छानाहरुलाई स्पर्श गर्दै भोलि फेरि भेट्ने बाचाका साथ बिदा लिराखेको झैँ भान हुन्छ भने गल्ली गल्ली चोकहरुमा बाल बालिकाहरु स्कुलबाट फर्किसकेर साथीहरुसीत रमाउदै हल्ला गर्दै खेलिरहेका हुन्छन।त्यस मध्ये नौ दश बर्षकी माया पनि आफ्ना साथीहरु सित रमाउदै खेलिराखेकी हुन्छिन।अनायास तिनलाई रुघाखोकीको ज्वरोले थला परिरहेकी आमाको याद आउछ।तिनी हतार हतार घर तर्फ लाग्छिन।तिनकी आमा खोक्दै थिईन।तिनी ज्वरोले गर्दा आज मालिक्नीको घरमा काम गर्न जान सकेकी थिइनन्।त्यसैले छोरीलाई भन्छिन “छोरी तिमी आज मालिक्नीको घरमा गएर काम गर्न जानु,आज त्यहाँ पाहुनाहरु आउछन रे नआई हुदैन भन्नुभाको छ।म आउन सकिन ज्वरोले गर्दा भनिदिनु।” माया पनि आमालाई “हुन्छ” भन्दै दगुर्दै बाटोमा खेलिरहेका अनि चोकमा खेलिरहेका साथीहरुसीत कुरा गर्दै हास्दै तिनकी आमाले काम गर्ने नजिकैको मालिक्नीको घरमा जान्छिन्।
त्यहाँ घरमा पाहुनाहरु आइसकेका हुन्छन्।पाहुनाका स साना आफ्नै उमेरका बाल बालिकाहरु देखेर हास्दै खुशी हुदै माथी भान्छामा पुग्छिंन् तर माथी पुग्न नपाउदै मालिक्नीको कडा आवाज सुन्छिन तिनी ”किन ढिला आएकी चाडो आउनु पर्दैन पाहुनाहरु आइसके।त्यति ठुलो भएर पनि चोकमा खेलिराख्ने हो ? तिम्री आमा खै त ?” उसको हसिलो अनुहार एकैचोटी निन्याउरो हुन्छ।भन्छिन तिनी “आमालाई ज्वरो आएको छ त्यसैले उहा आउन सक्नु हुन्न रे।” त्यतिकैमा तिनकी मालिक्नी ”आजै बिरामी हुनुपर्ने त तिम्री आमालाई पनि ? आज झन् थुप्रै काम छ भनेको त।” भन्दै फत्फताउदै डाइनिग टेबल मिलाउन थाल्छिन्।“यतिकै उठिराख्ने होइन।ल यो प्लेटहरु पुछ्नु बरु प्लेट फुट्ला नि बिस्तारै पुछ्नु” भनि कडा आवाजमा भन्छिन तिनी।अनि रातो अनुहार लिएर दुवै हात पछाडि ढाडमा राखेर भित्तामा अढेस लिएर उभिराखेकि मायाका आखाहरुले एकछिन पुलुक्क भान्छाकोठा नजिकैको कोठामा भिडियो गेम खेलेर रमाई रमाई हल्ला गरेर हासीरहेका आफ्नै उमेरका बाल बालिकाहरुलाई हेर्न पुग्छिन्।तिनको अगाडीको सिन्क्मा थुप्रेका अन्य जुठा भाडाहरुले तिनलाई हेरेर जिस्काईरहे झैँ लाग्छ तिनलाई।मालिक्नी आफ्नै तालमा तिनलाई भनिरहेकी हुन्छिन् “त्यति ठुलो भएर पनि चोकमा उफ्री उफ्री खेल्नलाई लाज लाग्दैन,बिरामी आमालाई मदत गर्नुपर्दैन खान भने यति धेरै धेरै घिच्न सक्छ।” लाग्छ तिनलाई मायालाई जे भने नि हुन्छ भनेर कसैले स्वतनत्रता दिएको छ झैँ।
त्यतिकैमा एउटी महिला पाहुनाले आफुले खाएको जुठो थाल माझ्न थाल्छिन्।तिनले जुठो छुन नपाउदै मालिक्नीले भन्छिन “पर्दैन तिमीले माझ्न उसले माझ्छिन सबै एकै चोटी।” एकछिन तिनले ति दुब्ली सानी मायालाई हेर्छिन्।तिनलाई लागेको होला त्यति साना साना हातहरुले त्यति धेरै भाडाकुडाहरु एक्लैले कसरी माझ्न सक्छन होला भनेर।तिनले सोध्छिन मायालाई “तिमी कति कक्षामा पढ्छौ ?” तिनले “चार” भन्छिन् तिनको जवाफ पुरा नहुदै मालिक्नीले भन्न थाल्छिन् “त्यसको बाबुले त अर्कै सीत बिहे गरे।तिनकी आमाले नै तिनलाई हुर्काएकि हुन् नि।तिनि पनि जहिले नि बिरामी भैरहेछिंन्।”फेरि तिनी माया माथि खनिन्छिंन “अनुहार हेर न कस्तो छ काम साम गर्नुपर्दैन दिनभरी खेलिरहंछिंन्,नक्कली काम चोर।” लाग्छ बाल बालिकाहरुलाई जे भने नि हुन्छ उनीहरुको कुनै फिलिंग नै हुदैन भने झैँ। माया चुपचाप भुइतिर हेरेर मालिक्नीको कुरा सुनिरहन्छिंन्,लाग्छ तिनका मौनताले चिच्याई चिचाई “तिम्रै पालो हो जे भन्न मन लाग्छ भन तिमीलाई तिम्रो सम्पन्नताले अधिकार दिएको छ हामी जस्ता कमजोर हरु माथी जे भन्न मन लाग्यो भन्नलाई, मलाई त बानी परिसकेको छ यस्ता कुराहरु सुन्नलाई” भनिरहे झैँ देखिन्थ्यो।
तिनलाई लाग्छ सायद धनि व्यक्तिहरुले गरीब व्यक्तिलाई बोल्ने तरिका नै त्यस्तै होला।तर तिनले त् किताबमा पढेकी थिइन् ‘ठुलालाई आदर सानालाई माया गर्नुपर्छ’ भनेर तर ब्यबहारमा भने भिन्नै हुने रहेछ,यो त खालि किताबमा मात्रै हुने रहेछ जस्तो लाग्छ तिनलाई।त्यतिकैमा फेरि मनमनै भन्छिन तिनी “हाम्री मालिक्नी पनि त् पढे लेखेकै हुन्,तर हुन् सक्छ हामीले पढेको किताब उहाले पढ्नु भाको छैन होला।”
मायाका स साना खुट्टाका औलाहरुले भने भुईमा कोट्याई रहेका हुन्छन्।तिनलाई भित्र कोठामा बच्चाहरुले खाएको जुठो प्लेटहरु लिएर आउनु भनेर अराउछ। तिनी बिस्तारै भित्र कोठामा भएका जुठा प्लेटहरु बटुल्न जान्छिन।डाईनिग टेबलमा बसेर गफ गर्दै खाइरहेका पाहुनाहरुको बल्ल खाना खान सकिन्छ।कोहि कोहि मायाकै उमेरका बाल बालिकाहरुलाई पनि तिनका आमा बाबुले खाना खानु भन्दै कर गरि गरिकन खाना ख्वाइरहेका हुन्छन।सबैले खाना खाइसकेर बल्ल मायाको पालो आउछ।पाहुनाले नखाएको फालेको खानाहरु एउटा प्लेटमा राख्नका लागि भन्छिन तिनकि मालिक्नी।मायाले पनि त्यसै गर्छिन्।त्यहि जुठो खानामा केहि अरु खानाहरु राखिदिन्छिन र भन्छिन् तिनकी मालिक्नी “जुठो माझि सकेर काम सकाए पछि मात्रै खानु त्यो प्लेटमा भएको खानेकुराहरु” भन्दै अघि तिनले प्लेटमा छुटाएर राखेका खानेकुराहरुलाई देखाउछिन् “शिशाका ग्लासहरु फुट्ला नि बिस्तारै माझनु” भन्दै तिनी भित्र कोठामा पाहुनाहरु को गफमा सामेल हुन् जान्छिन्।
भुइमा भएको सानो मेचमा चढेर सिन्क्मा भएका जुठा भाडाहरुको थुप्रोलाई एक एक गर्दै ति स साना हातहरुले माझिरहेकी मायाका निर्दोष आखाहरूले भने घरि घरि पेटको भोकलाई मेट्न नसकेर नजिकैको प्लेटमा जम्मा गरेका जुठा खानाहरुलाई हेरिरहन्छिन्।त्यतिकैमा तिनकै उमेरकी एक सानी बालिका आएर मुसुक्क हासेर तिनलाई जुठो थाल दिन्छिन्।तिनी पनि मुसुक्क हासेर त्यो जुठो थाल लिन्छिन्।यस्तै छिन् हेलाहरु बीच मुस्कुराइरहने माया।
-रजनी मल्ल न्यु जर्शी अमेरिका