काठमाडौं। चर्चित अभिनेता इरफान खानको निधन भएको आज १ वर्ष पूरा भएको छ । गतवर्ष २९ अप्रिलका दिन इरफानको निधन भएको थियो । इरफानको मृत्युको झण्डै १ वर्षपछि उनका छोरा बाबिलले उनको अन्तिम समयको घटना साझा गरेका छन् । हालै एक अन्तरवार्तामा बाबिलले पितासँग बिताएको अन्तिम समयको भावनात्मक समयबारे बताए ।
बाबिल र उनकी आमा सुतापा सिकदरले एक मनोरञ्जन पोर्टललाई दिएको अन्तरवार्तामा इरफानको अन्तिम समयबारे बताएका हुन् । सुतापाले भनिन् ‘हामी सकारात्मक रहने कोसिस गरिरहेका छौं । एक वर्ष भयो तर म अझै पनि मानिसहरुसँग भेट्न, उनीहरुसँग कुरा गर्न तयार छैन । म मानिसहरुसँग अन्तरक्रिया गर्न भन्दा धेरै लेख्न रुचाउँछु ।’ बाबिलले आफ्ना पिता गुमाएको पीडा साझा गर्दै भने ‘म एक सुरक्षित घेरामा बाँचिरहेको थिएँ, इरफान खानको छोरा बनेर । अचानक त्यो घेरा टुट्यो । त्यसपछि तपाइँसँग कुनै विकल्प बाँकी रहँदैन । तपाइँले त्यही गर्नुपर्छ जे जिन्दगीले चाहन्छ र सत्य यही हो ।’
बाबिलका अनुसार उनका पितालाई थाहा थियो कि उनी अब बाँच्ने छैनन् । बाबिलले इरफानको अन्तिम कुरा साझा गर्दै भने ‘उहाँको मृत्युभन्दा २–३ दिन पहिले म अस्पतालमा थिएँ । उहाँ होस गुमाउँदै जानुभएको थियो । आफ्नो अन्तिम समयमा उहाँले मतिर हेर्नुभयो, मुस्कुराउनुभयो र भन्नुभयो – म मर्दैछु । मैले उहाँलाई यस्तो हुँदैन भनें । उहाँ फेरि मुस्कुराउनुभयो र सुत्नुभयो ।’ इरफानको मृत्यु १ वर्षअघि २९ अप्रिलमा कोकिलाबेन अस्पतालमा भएको थियो । त्यसको केही समय पहिले इरफानकी आमा सइदा बेगमको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो ।