वरुण धावनको बिहे भएलगत्तै बलिउडमा श्रद्धा कपुरको विवाहको चर्चा चलेको छ ।

यो भन्दा अगाडी पनि श्रद्धा र रोहनको बिवाहको चर्चा भइरहेको थियो । तर, शक्त्ति कपुरले उनीहरुको विवाहलाई लिएर चर्को आलोचना गरेका थिए ।

तर अहिले उनले श्रद्धाको विवाहको बिषयलाई लिएर खुलेर कुरा गरेका छन् । टाइम्स अफ इण्डियासँगको अन्तर्वार्तामा शक्तिले श्रद्धासँग नाम जोडिएका रोहन श्रेष्ठ असल व्यक्त्ति रहेको बताएका छन् ।

उनले भने, “श्रद्धाले आफ्नो जीवनसाथी र समय आफैं छनौट गर्नेछे।” आफ्नो अडान स्पष्ट पार्दै शक्तिले भने समयसँगै बच्चाहरु आफ्नो बाटो रोज्ने रहेछन् ।

रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन् । उनका बुवा नेपालमा जन्मिएका भएपनि रोहन भने भारतमै जन्मिएर उतै आफ्नो करियर बनाइरहेका छन् । वरुणको विवाहमा रोहनले शुभकामना दिएपछि चर्चा सुरु भएको हो ।

जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे । यो पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई । भीडी तिमी असाध्यै भाग्यमानी छौ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ।’ उनको यस्तो अभिब्यक्ति पछि फ्यानहरुले रोहन पनि विवाहको योजनामा रहेको आशंका गरेका छन् ।

त्यसपछि नै भारतीय सोसल मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गरिएको छ । श्रद्धा कपुर र रोहन श्रेष्ठबीचको प्रेम सम्बन्धबारे निकै अघिदेखि विभिन्न खबर आइरहेका छन् ।

तर दुवै जनाले त्यसलाई सार्वजनिक रुपमा स्वीकार भने गरेका छैनन्। तर दुवैले नकारेका पनि छैनन् ।

तपाईको प्रतिक्रिया