संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण सुरक्षा निकायले गरेको छ । तर, कहाँवाट सुरक्षा थ्रेट वढेको भन्ने विषय खुलेको छैन ।
राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको छ। गृह मन्त्रालयले सतर्कता र सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या समेत बढाएको छ ।
प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति परिचालन गरिएको श्रोतले जनाएको छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए ।
हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट ३५ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् । सेनाबाट सेनानी तथा प्रहरीबाट डीएसपी र सशस्त्रबाट निरीक्षकको कमाण्डमा टोली खटिने गरेको छ ।
गृह स्रोतका अनुसार प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।
यसैबीच, गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले पनि सरकारसँग सुरक्षा माग गरेका छन् ।