रेकर्डिङ स्टुडियोबाट दैनिकजसो नयाँ–नयाँ गीत बाहिरिन्छन् । यूट्युबमा दिनकै एकसे एक फरक र भिन्न शैली मिसिएर निर्माण गरिएका म्युजिक भिडियो पनि सार्वजनिक भइरहेका छन् ।
एउटै गीतमा २ लाखदेखि १५ लाखसम्म खर्च भएका छन् । हप्तौं मेहनत गरेर गीत र भिडियो निर्माण गरेपनि कुन गीत चल्छ र कुन गीतको भिडियोले बाजी मार्छ, कसैले अनुमान गर्न सक्दैनन् । श्रोताको कानमा गुञ्जिने र जिब्रोमा झुण्डिने गीत कुन बनिदिन्छ, पत्तो हुँदैन ।
तर अस्मिता अधिकारी, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारीको विषयमा भने लगभग धेरैले अनुमान गर्न थालिसकेका छन् – यो हिट गीत त उनीमध्ये एकको हो ।
आजभोलि हिट गीतको लिस्टमा उनीहरूकै नाम आउँछ । त्यसैले हो, नयाँ गीत कसैले बनाउँदैछ भने अस्मिता, एलिना, रचना अथवा समीक्षाले स्वर दिनुपर्छ । उनीहरूले भ्याएनन् भने मात्रै त्यो गीत अन्तै पुग्ने हो ।
कला क्षेत्रमा कोही व्यक्ति यति समय नै टिक्छ भन्न सकिँदैन । कतिपय स्टारहरू क्षणभरमै पछारिएका छन् । कतिपय रातारात ‘हिट’ भएका छन् । कसैले ग्यारेन्टी गर्न नसक्ने यो क्षेत्र असाध्यै ठूलो प्रतिस्पर्धा छ । संगीत क्षेत्रमा यो ‘चार तारा’को टीम पनि छोटो समयमै चर्चाको शिखरमा पुग्यो, चर्चा लोभलाग्दो बन्दै गएको छ । अहिले यो टीमले संगीत बजारमा एकछत्र राज गरिरहेको छ ।
अस्मिता भन्छिन्, ‘दर्शकप्रति धन्य छु’
चार तारामध्येकी एक अस्मिता अधिकारी भन्छिन्, ‘मेहनत, भाग्य, लगलशिलता र अनुशासनले यो उचाइमा ल्याएको हुनुपर्छ । यी सबै कुरा नमिलेको भए त कहाँ सम्भव थियो र ?’ अस्मिताका हरेकजसो गीत लोकप्रिय छन् । पछिल्लो समय रेकर्ड गराएको उनको गीत ‘लज्जावती झार’ले यूट्युबमा १ करोड भ्यूज नाघिसकेको छ ।
उनको स्वर रहेको तिम्रो मायाले बाँधेर राख, मैले बोलेको छैन ढाटेर, आँखामा बसाऊ मलाई, तिम्रो साथमा रमाउँ, रुमालै चिनो धोई धोई लगायत धेरै गीत लोकप्रिय बनेका छन् ।
अस्मितालाई कतिपयले अन्जु पन्तको लाइनमा हिँडिरहेकी नयाँ गायिका हो पनि भन्ने गरेका छन् । तर अस्मिता यो कुरा स्वीकार्न गर्न तयार छैनन् । थप्छिन्, ‘कसैले प्रशंसा गर्ला । तर अन्जु पन्तको आफ्नै स्थान छ । जुन स्थानलाई म र हामीले रिप्लेस गर्न कहिल्यै सक्दैनौं ।’
रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ को ‘थर्ड रनर अप’ घोषित भएपछि अस्मिताको गायन यात्राले ‘हाइ वे’को लय पकडेको हो । तर यो हाइवेमा आफ्नो स्पीड भने कन्ट्रोलमा रहेर यात्रा गर्ने अस्मिता बताउँछिन् । ‘बिस्तारै राम्रा–राम्रा गीत बजारमा ल्याउने हो । अफर आएका गीत पनि हेरेर बुझेर अनि छानेर मात्रै गाउँछु,’ अस्मिता थप्छिन्, ‘हतार छैन । गायनबाहेक अरु कुनै क्षेत्रमा भविष्य खोजेकी छैन । अनि किन आत्तिने ?’
धेरै गायक–गायिका कसैको संगतबाट संगीत क्षेत्रमा आएका देखिन्छन् । झापाकी अस्मिताको परिवारमा भने कोही पनि संगीतमा आबद्ध थिएनन् । तर उनी गायन क्षेत्रमा आएर उधुम गरिरहेकी छिन् । अस्मिता सानो छँदादेखि भजन गाउँथिन् । आक्कलभुक्कल गीत गुनगुनाउँथिन् । सानोमा गीत गुनगुनाउँदा परिवार, आफ्ना आफन्त, साथीभाइले खुबै प्रशंसा गर्थे । नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर अस्मिता गायनमा सक्रिय बनेकी हुन् । तर पढाइ र गायन क्षेत्र दुवैलाई सँगसँगै अगाडि बढाउने अस्मिताको योजना छ ।
‘नर्सिङमा मास्टर्स गर्छु । तर अब संगीतलाई व्यावसायिक रूपमा अगाडि बढाउने निर्णय गरेकी छु,’ अस्मिताले भनिन् । अन्जु पन्तकी फ्यान अस्मिताले अरुणा लामा, तारादेवी जस्ता ‘लिजेन्ड’ गायिकाको गीत सुन्न मन पराउँछिन् । तर अन्जुको फ्यान भएपछि पप गीतमा रमाउने अस्मिता आधुनिक गायनमा छिरेकी हुन् । ‘संघर्ष जो कसैको जीवनमा हुन्छ, मैले पनि गरें,’ अस्मिता भन्छिन्, ‘मैले धेरैका स्टोरी सुनेकी छु, मैले संघर्ष त गरें । आफ्नो लागि गरें । तर कहालीलाग्दो दुःख र हण्डर खानु चाहिँ परेन ।’
गायन यात्राकै अवसरमा अस्मिता जापान, कोरिया, अस्टे«लिया लगायत धेरै देश पुगेकी छिन् । कोरोना महामारी नआएको भए सांगीतिक कार्यक्रमका लागि अरु केही देश पुगिसक्थिन् अस्मिता । अस्मिताले अन्तिममा भनिन्, ‘दर्शक तथा श्रोताले दिएको मायालाई सधै आशिर्वाद र प्रेरणाको रूपमा लिएर सधै अघि बढ्नेछु । उहाँहरूको मन कहिल्यै दुःखाउने छैन ।’
संघर्ष धेरै छ, पहिला जस्तो सहज छैन : एलिना
एलिना चौहान अर्की भाग्यमानी गायिका हुन् । उनले छोटो समयमा संगीत उद्योग कब्जा गरिन् । एलिना भन्छिन्, ‘जमाना पहिलेजस्तो छैन । दर्शक कस्तो गीत रुचाउँछन् भन्ने अनुमान गर्न समेत गाह्रो पर्छ । हजारौं गीत बजारमा छन्, दर्शकले रोजेर सुन्न पाउँछन् । यस्तो प्रतिस्पर्धात्मक बजारसँग लड्नु चानचुने कुरा होइन ।’
एलिनालाई आजभोलि लाग्न थालेको छ, ‘दर्शकले यति माया दिएपछि अब झन् कठोर मेहनतका साथ काम गर्नुपर्छ ।’ एकपछि अर्को गीत हिट भएपछि एलिना थप गम्भीर बनेकी छन् । किन ? भन्छिन्, ‘जब आफ्नै गीत चुनौती बनिदिन्छन्, आफ्नै लागि थप गम्भीर भएकी छु ।’ त्यसो त एलिनासँग काठमाडौंमा दिनरात मेहनत गरेको, चनाको भरमा दिनभर दौडिएको, भोकभोकै संगीत साधनामा लागेको, गीत नपाएर आँसु झारेको जस्ता धेरै याद छन् । यसले भने उनलाई लड्दा सहने बानी पारेको छ ।
एलिनाको जादुमयी स्वरको कारण के माया लाग्छ र, मिनरल वाटर, बरिलै, पानी पँधेरो जस्ता गीतको ‘भ्यूज’ करोड क्लबमा पुगेका छन् । मेरो परान, मेरो बाबा भगवान्, तिम्रो मायाले बाँधेर राख, बेहुलो बनेर, तिमीबाहेक मेरो कोही छैन जस्ता अरु डेढ दर्जन गीत पनि एलिनाको ‘हिट लिस्ट’मा पर्छन् । एलिनाका एकपछि अर्को गीत हिट भइरहेका बेला उनी यो सबै स्वरको कमाल मात्रै नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गीत हिट हुनका लागि संगीत र शब्दको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । भाग्यले भनौं मैले गाउने गीतका शब्द र संगीत पनि निकै राम्रा पाएँ ।’
झापामा जन्मिइन् । उतै हुर्किइन् । गायनको हुटहुटीले काठमाडौं ल्याइपुर्यायो । ‘काठमाडौं आएपछि शुरूमा गाह्रो भयो,’ एलिना भन्छिन्, ‘हरेक मानिसको सफलताको पछाडि ठूलो संघर्ष लुकेको हुन्छ । जुन कुरा धेरैले थाहा पाउँदैनन् । सबैले थाहा पाउने भनेको सफल भइसकेपछि मात्रै हो ।’ एलिनाले सफलताको पछाडि आफ्नो इमान्दारिता मुख्य पाटो रहेको बताइन् । ‘मैले सानातिना दुःख, मेहनत र इमान्दारितामा कन्प्रमाइज गरेको भए, मेरो परिवार, मेरा नजिकका साथीभाइ र शुभचिन्तकको सहयोग र साथ नभएको भए, मैले सोचेजस्तो काठमाडौं बसाइ हुँदैन्थ्यो । सायद उहिल्यै गायनबाट बिदा भइसकेकी हुन्थें,’ एलिना अन्तिममा थप्छिन्, ‘गाउँदा–गाउँदै यो ठाउँसम्म आइपुगें । दर्शकले बल्ल चिन्न थालेका छन् । अब दर्शक–श्रोताले मन पराउने गीतमा कसरी आफू स्थापित हुने भन्ने कुराले गम्भीर बनाएको छ ।’
महिनामै ४० गीत गाउने रचना
कुनै बेला अन्जु पन्तले भन्थिन्, ‘दिनको २–३ वटासम्म गीत गाउनुपरेको छ । पानी खाने समेत फुर्सद छैन ।’ अन्जु जस्तै व्यस्त हुने नयाँ कलाकार कोही हो भने उनी रचना रिमाल नै हुन् ।
रचना संगीत क्षेत्रमा उदाएको छोटो समयमै राम्रो नेम र फेम बनाउने अर्की गायिका हुन् । सुन न पियारी, फोटो फिरिममा, पहिलो पल्ट भेट हुँदा जस्ता थुप्रै गीत हिट भएपछि रचनाको लोकप्रियताले शिखर चुमेको छ । यूट्युबमा दैनिक सार्वजनिक हुने गीतको भीडमा रचनाको एउटा गीत लगभग पर्ने गरेको छ । तर अन्य गीतको तुलनामा रचनाको गीतले एकाएक दर्शक तथा श्रोताको ध्यान तान्छ । अनि धेरैको सपना बन्ने ‘टे«न्डिङ १’ मा रचनाको गीत तुरुन्तै पुगिदिन्छ । रचना भन्छिन्, ‘मलाई थाहा नभएको कुरा हो यो । तर मलाई यत्ति थाहा छ हरेक गीत गाउँदा मैले मेहनत गर्छु । पैसाभन्दा पनि त्यसमा क्वालिटी खोज्छु । सायद यो कारण हुन सक्ला ।’
रचनाले गायन यात्रा शुरू गरेको डेढ वर्ष हाराहारी मात्रै भएको छ । तर डेढ वर्षमा यस्तो लोकप्रियता हात पारेकी छिन् उनले । ‘नेपाल आइडल सिजन–३’को विजेता बन्न नसकेपनि कार्यक्रममा भाग लिएपछि रचनाको चर्चा चुलिएको हो । नेपाल आइडलबाट बाहिरिएको छोटो समयमै उनी गायन क्षेत्रमा व्यस्त हुन थालेकी हुन् । रचना नेपाल आइडलको ८ औं स्थानबाट बाहिरिएकी हुन् । तर नेपाल आइडल जस्तो ठूलो कार्यक्रममा उत्कृष्ट १० भित्र पर्नु पनि एकदमै ठूलो कुरा रहेको उनी बताउँछिन् ।
गायनमा सानैदेखि रचनाको इच्छा थियो । ‘राम्रो गायिका बन्ने सपना थियो । सानो छँदा मन्दिरमा भजन गाउँथे । स्कूलका कार्यक्रममा पनि भाग लिएर गीत गाएकी थिएँ । रचनालाई आमाबुवाको साथ र सहयोगले यो स्थानसम्म आएको लाग्छ,’ रचना थप्छिन्, ‘धेरैका बुवाआमाको आफ्नो खालको सपना हुन्छ । छोराछोरीको अर्कै खालको । तर मेरो सपना र मेरो क्षमता जुन क्षेत्रमा छ त्यो क्षेत्रका लागि मेरो बुवाआमाले पूर्ण रूपमा साथ दिनुभयो । सोही कारण म यो स्थानसम्म आउन सफल भएकी हुँ ।’ तर रचनाको पछिल्लो समय सार्वजनिक गीत ‘फोटो फिरिममा’ हिट भएपछि उनलाई गीतको ओइरो लाग्यो । रचना अचम्मित भइन् । सोही गीतको सफलताको परिणाम रचनाले अघिल्लो महिना १ महिनाको अवधिमा ४० वटासम्म गीत गाउन भ्याइन् ।
पानी मिठो धाराको, उनको प्रीति, रुमाल चिनो, एक चिम्टी सिन्दुर, कोसँग बोलुँ मनको, काफल गेडी कुटुक्कै, रित्तो मझेरी, मेरो माया हार हैन लगायतका गीतहरू चर्चामा छन् । कहिलेकाहीँ दिनको ३ वटासम्म गीत गाएको उनलाई याद छ ।
गायिका रचनाले आफूले जुन–जुन गीत गुनगुनाउँथिन्, ती गीत फेसबुकमा शेयर गर्थिन् । उनले गीत गाएका पोस्टमा दर्जनौं प्रतिक्रिया आउँथे । एकपटक उनको पोस्टमा संगीतकार बसन्त सापकोटाको नजर पुग्यो । उनले तुरुन्तै काठमाडौं बोलाए । एउटा गीत रेकर्ड गराए, रुमाल चिनो देउ न कान्छा । यो गीतबाट रचना गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । तर नेपाल आइडलबाट उनले आफू राम्रो गायिका हो भन्ने कुरा मज्जाले प्रमाणित गर्ने अवसर पाइन् ।
लकडाउनपछि ‘हिट’ बनेकी समीक्षा
अर्को जुनी भो बरु चाहिँदैन
यो जुनीलाई छुट्टिन पाइँदैन हो ।
माया मारेर, नजाउ न निरमाया हो एक्लै पारेर …
असारको पहिलो हप्तातिर यो गीत यूट्युबमा सार्वजनिक भयो । कोभिड–१९ अर्थात् कोरोनाका कारण नेपालभरका नागरिक लगभग घरभित्रै थुनिएका थिए । त्यही बेला यो गीत टे«डिङमा छिर्यो । धेरैले मन पराए । यूट्युब, फेसबूक, टिकटक लगायत जहाँतहीँ हिट भयो यो गीत । त्यसपछि उनलाई धेरैले खोज्न थाले । यो गीत हिट भएपछि समीक्षाले आजभोलि दैनिकजसो गीत रेकर्ड गराएकी छिन्, कहिलेकाहीँ २ वटासम्म गीत रेकर्ड गराएकी छन् ।
घरकी कान्छी छोरी । बुवाआमा खेतीकिसानीमा व्यस्त । समीक्षा गुनगुनाउन । घरमा १ दाजु, १ दिदी र समीक्षा कान्छी बहिनी । सबैको मायाले पुलपुलिएकी । जे भन्यो त्यो पुग्ने, कान्छी भएपछि । सायद सोही कारण सानोमा गीत गुनगुनाउँदा परिवारबाट अवरोध भएन ।
१५ वर्षको उमेर । चर्चा स्थापित गायिकाको भन्दा कम छैन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोककी समीक्षाको स्वरमा सार्वजनिक भएका अधिकांश गीत हिट छन् । नबोली नबोली तिमीसँग नबोली, माया मारेर, मैले बोलेको छैन ढाँटेर, हल्का जुँगा पालेर लगायत अधिकांश गीत दर्शकको नजरमा परेका छन् ।
समीक्षा सानैदेखि गीत गुनगुनाउँथिन् । तर उनको नजिकको १ जना दिदी पर्ने वसन्ताले सधैजसो गीत गुनगुनाउँथिन् । समीक्षाले उनले गीत गाएको देख्दादेख्दै आफू पनि गीत गुनगुनाउन थालेको सुनाउँछिन् । ‘उहाँले जतिबेला पनि गीत गाइरहनुहुन्थ्यो । उहाँले गाउँदा–गाउँदै मेरो पनि गीत गायनमा रुचि बढ्दै गयो,’ उनले भनिन् ।
त्यो बेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनले विद्यालय तथा वरपरका विभिन्न कार्यक्रममा गीत गाइरहेकी हुन्थिन् । सानोतिनो पुरस्कार पनि हात पारिरहेकी हुन्थिन् । त्यसैबेला एक दिन दिपकराज गिरीको चलचित्र ‘छक्का पञ्जा–३’ छायांकनका लागि समीक्षाको गाउँमा पुग्यो निर्माण टीम । त्यतिबेला उनले ‘नाई न भन्नु ल–२’को गीत, ‘यी आँखामा तिमी छौं’ गुनगुनाइरहेकी थिइन् नजिकै । यो चलचित्रका ‘क्यामेरा म्यान’ पुरुषोत्तम प्रधानको कानले सुन्यो । उनले तुरुन्तै त्यहाँ पुगेर गीत रेकर्ड गराए । काठमाडौं फर्किएपछि नाई नभन्नु ल ५ का निर्देशक विकासराज आचार्यलाई समीक्षाको गायन कलाबारे सुनाउँदै भिडियो देखाए । निर्देशक आचार्यले समीक्षाको स्वर मन पराएर काठमाडौं बोलाए १ महिनापछि । उनी १ महिनापछि काठमाडौं आइन् । नाई नभन्नु ल ५ को गीत ‘वालापनको उमेर’ गाइन् । चलचित्र प्रदर्शन भएपछि यो गीत निकै हिट भयो ।
‘त्यो गीत नगाएको भए सायद अहिले पोखरामै हुन्थें । संयोगले छक्कापन्जाको टीम त्यहाँ पुग्नु, पुरुषोत्तम सरको कानमा मेरो स्वर ठोक्किनु, मेरो गीत रेकर्ड गर्नु । त्यो समयलाई मैले भाग्यले जुराएको अवसर पनि ठानेकी छु,’ उनले भनिन् । पहिलो गीतबाट १० हजार पारिश्रमिक पाइन् समीक्षाले । घरमा यो खबर सुनाइन् । बुवाआमा र दाइदिदी निकै खुशी भए । पहिलो गीतबाटै पारिश्रमिक पाएकी समीक्षाले आजभोलि राम्रो रकम बुझ्ने गरेकी छन् ।
उनले यत्ति भनिन्, ‘निकै राम्रो पारिश्रमिक पाएर गीत गाउन पाएकी छु । खुशी छु ।’ समीक्षालाई आजभोलि गीतको अफर नआएको दिन हुँदैन । सानो उमेर भए पनि उनको स्वर परिपक्व गायिकाको जस्तै छ । दैनिक २ वटासम्म गीत रेकर्ड गराएकी समीक्षाले सोही कारण आफ्नो स्वरमा समस्या आएको बताउँछिन् ।
गत जेठताका उनले १ हप्ता ‘बेड रेस्ट’ समेत गरिन् । समीक्षाको योजना छ – गीत गायनमै रम्ने, यही क्षेत्रमै जम्ने । समीक्षाले भनिन्, ‘दर्शक तथा श्रोताले मन पराइदिनुभएको छ । उहाँले जहिलेसम्म मलाई मन पराउनुहुन्छ, त्यो बेलासम्म अब संगीत क्षेत्रमै काम गर्छु ।’