तिहारको महत्त्व झल्काउने थुप्रै गीतहरु नेपाली फिल्ममा समावेश गरिएको भए पनि ‘चिनो’ को गीत जति कालजयी अरु छैनन् । लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन टेलिभिजन र रेडियोमा सर्वाधिक बज्ने गर्दछ । भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यस गीतमा स्वर्गीय अभिनेत्री शुभद्रा अधिकारी फिचर छिन् । काग तिहारदेखि नै यो गीत जताततै घन्किरहेको छ ।

एक सयभन्दा फिल्ममा जीवन्त अभिनय गरेकी शुभद्राले यो गीतलाई आफ्नो फिल्मी करिअरकै सबैभन्दा उत्कृष्ट भन्ने गरेकी थिइन् । यही गीतले उनलाई दर्शकमाझ चिनाएको थियो । गीतमा रन्जीत गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको छ । ‘चिनो’ फिल्म २०४८ सालको छेकोमा रिलिज भएको थियो । यो फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, कृष्टि मैनाली प्रमुख भूमिकामा छ ।

तिहारको छेकोमा सर्वाधिक घन्कने अर्को गीत हो, ‘तिहारै आयो लौ झिलिमिली..’ । यो गीत घन्कन थालेपछि तिहार नजिकिएको आभाष गराउँछ । बरिष्ठ निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा यो गीत समावेश छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । यो गीतले तिहारको बेला राम्रो चर्चा पाउँछ । हरेक वर्षको तिहारमा देउसी खेल्नेहरु यो गीतमा निकै रमाउने गर्दछन् ।

राजेन्द्र सलभको निर्देशनमा बनेको फिल्म ‘विजय पराजय’ मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले पनि तिहारको महत्त्व झल्काउँछ । यो गीत दिनेश अधिकारीले लेखेका हुन् । स्वर हेमलताको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । गीतमा अभिनेता द्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा फिचर छन् । गीतले बहिनीप्रति दाईभाईको प्रेम दर्शाइएको छ ।

तपाईको प्रतिक्रिया