मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार का लागि विभिन्न विधाका ७ वटा पुस्तक छनौट गरेको छ। २०७६ सालमा प्रकाशित र गुठीमा दर्ता भएका १५१ पुस्तकहरूमध्ये श्रेष्ठ ७ को सूची प्रकाशित गरेको हो।

मदन पुरस्कारको श्रेष्ठ ७ मा सूचीकृत पुस्तकहरूमध्ये ललित बिष्टको ‘मोहपथ’ कथासंग्रह पनि एक हो। मोहपथमा मूलतः समाजको ‘डार्कनेस’का कथाहरूलाई मिहिन रूपमा बुनिएको छ।

‘धनीको खाना मीठो, गरिबका कथा मीठा’ भनेझैँ गरिबी, बेरोजगारी, विभेद, शोषण इत्यादि सामाजिक अल्पताको सजीव चित्रणले संरचित ‘मोहपथ’का लेखक ललित बिष्टसँग कथासंग्रह, मदनमनोनयन तथा समसामयिक विषयमा रंगकर्मी भीष्म जोशीले गरेको संवादको सम्पादित अंशः

ललित जी ! मदन पुरस्कार गुठीले २०७६ को लागि उत्कृष्ट ७ वटा पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । त्यस अन्तर्गत तपाईंले लेख्नुभएको कथा संग्रह ‘मोहपथ’ पनि छनौट सूचीमा पर्दा कस्तो अनुभव गर्नु भएको छ ?

कुनै पनि कुराको प्राप्तिमा मानवीय संवेग रहने भनेकै सुखानुभूति हो । सबैको साझा वाक्य पनि यही नै हो ।

तपाईंको प्रारम्भिक लेखन कसरी सुरु भयो ? कसैबाट प्रभावित वा प्रेरित हुनु भएको हो ?

मसँग भुल्न लायक धेरै कुराहरू छन् । त्यो ग्रामीण इलाका, समाज, अशिक्षा र गरिबी । राज्यले ती कुराहरूलाई भुलाउने कुनै प्रयत्नै गर्दैन । साथसाथै प्रेम, भ्रम, कुण्ठा, आवेग, पश्चाताप । हामीले लेख्ने भनेकै केही हदसम्म तिनै कुरा त हुन् । तिनै कुराहरु त हुन् लेख्नलाई प्रभावित र प्रेरित गर्ने ।

‘मोहपथ’ बजारमा उपलब्ध भैसकेपछि कतै चर्चा सुनिएन । तपाईं पनि गुमनाम हुनु भयो । खास कारण के होला ?

खैर, त्यस्तो चर्चामा आउनु पर्ने र देखिने मेरो व्यक्तित्व नै होइन । गुमनाम पनि थिइन । आफ्नै दैनिकीमा व्यस्त थिएँ । ‘मोहपथ’को चर्चा मेरो काम होइन । मेरो काम चाहिँ पुस्तक पब्लिस हुनु अघि मात्रै हो ।

तपाईं आख्यानलाई कसरी विश्लेषण गर्नुहुन्छ ? यो क्षेत्र अलि फराकिलो क्यानभास भएर छान्नु भएको हो वा अरु कुनै कारण छ ?

आख्यानलाई विश्लेषण के पो गर्नु हो ! मेरो विषयमा फराकिलो भन्नु भन्दा पनि मैले आफ्नो उपयुक्ततालाई ध्यान दिएँ । लाग्छ, सबैले आफ्नो काम गर्ने क्षेत्रलाई फराकिलो मानेर नै काम गर्नु पर्दछ र हरेक क्षेत्र फराकिलो पनि हुँदैजान्छ ।

साहित्य वा सिनेमालाई समाज यथार्थताको प्रतिबिम्ब भनिन्छ । के तपाईका कथाका पात्रहरु समाजकै प्रतिनिधि पात्रहरू हुन् ? कसरी व्याख्या गर्नु हुन्छ ?

साहित्य, सिनेमा सामाजको प्रतिविम्ब हुन् । तर प्रतिविम्ब भनेको प्रतिविम्ब मात्रै हो । प्रतिविम्ब जस्तै सामाज हुबहु हुन सक्छ, नहुन पनि सक्छ । अर्को कुरा समाजइतर पनि यसको क्षेत्र छ, त्यो नहुने हो भने पनि साहित्य वा सिनेमाले पूर्णता पाउँदैन । मलाई आफ्नै पात्रको विषयमा बोल्न उपयुक्त लाग्दैन ।

यस भित्रका कथाहरूमा विविधता छैन । भाषागत, कथ्य संरचना र प्रस्तुतिमा तपाईंका कथाहरू कमजोर छन् भन्नेहरू पनि छन् । के भन्नु हुन्छ ?

मलाई चाहिँ विविधता छैन भन्ने लाग्दैन । कसैलाई लाग्यो भने मैले उसलाई किन लाग्यो भन्ने कुतर्क गर्दिनँ । संरचना, प्रस्तुति, कथ्य जन्य कम्जोरी नहुनको लागि म को हुँ र ? त्यस्तो को नै छ र ? मैले त इमान्दारितापूर्वक विषयवस्तुलाई न्याय गर्ने प्रयत्न मात्रै गर्ने हो ।

के तपाईंका कथाहरूमा म्याडनेस, डार्कनेस, डीलेक्टएबल क्रिपि र साइक्याट्रिक पात्रहरूले बढी ठाउँ ओगटेको हो ?

लाग्छ, देशमा सबैभन्दा सहजै उपलब्ध भनेको अशिक्षा, गरिबी, बेरोजगारी, युद्ध , द्वन्द्व, विभेद नै त हो । त्यहाँबाट जन्मिने पात्रमा म्याडनेस, डार्कनेस, डीलेक्टएबल क्रिपि र साइक्याट्रिकबाहेक के हुन्छ र ?

मोहपथ भित्र रहेका १५ वाट कथाहरु मध्य आफैलाई मन परेको कथा कुन हो ?

सबै मन पर्छन । म लेखकको साथी, आलोचक, आग्रह पूर्वाग्रह केही छैन, अर्को गुटको मान्छे नि होइन । म लेखक हुँ । सबै लेखेर, मन परेर पुस्तकको रूपमा ल्याएको हुँ ।

नेपाली साहित्य जगतमा तपाईंलाई मन पर्ने कवि-लेखकहरू को को हुन् ?

आख्यानमा वीपी कोइराला, दौलतबिक्रम बिष्ट, पारिजात, सरुभक्त, नयनराज पाण्डे, कुमार नगरकोटी, राजन मुकारुङ, बुद्धिसागर, अमर न्यौपाने मलाई विशेष मन पर्छन् । कविहरू चाहिँ लेखनाथ पौडेल, रिमाल, भूपी शेरचन, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो र अरु अरु ।

कोभिड–१९ (कोरोना) महामारीले नेपाली साहित्यिक क्षेत्रलाई के कस्तो प्रभाव पार्यो ?

कोभिड–१९ (कोरोना) महामारीले सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्यो । साहित्य क्षेत्रलाई पनि । प्रकाशन, वितरण, पुस्तक पसले, पाठक, लेखक घरभित्र छन् । कामना छ, यस महामारीबाट चाँडै मुक्त होऊन् ।

तपाईको प्रतिक्रिया