रुझेको झुम्रोमा राखिएका फर्सीका बिँया टुसाएजस्तै
भर्खर मेरो छातीमा लडिबुडी खेल्न आतुर
मेरा नाबालक बिम्ब र प्रतीकलाई
‘पाठकसँग परिचय गराइदिन्छु’ भनी
कहाँ लगेर हत्या गरिदियौ ए कवि?
लुकामारी खेलिरहेका अक्षरहरूलाई
‘धेरै साथीहरूसँग मिलाइदिन्छु’ भनी
किन दाम्लोले बाँधेर
‘शब्द’ नामकरण गरिदियौ
किन निलम्बनमा पारिदियौ उनीहरूको पहिचान?
अबोध थिए मेरा बच्चाहरू
नाबालक थिए उनीहरू
श्लील र अश्लील बुझ्न सक्ने भएकै थिएनन्
एक चक्लेटमा सजिलैसँग आफ्ना बनिहाल्थे तिनीहरू
बिना पारिश्रमिक
आफ्ना कुण्ठा र नारा ओकेल्ने काममा किन लगायौ
मेरा बच्चाहरूलाई?
तिमीलाई थाहा छ नि ‘बालश्रम अपराध हो!?’