दशैंको मुखमा कहाँबाट डनको प्रसंग आयो भन्नुहोला । रहस्य बिस्तारै खुल्ने नै छ । सुरुमा डनको इतिवृतान्ततर्फ लागौं ।
हाम्रो देशमा दुइ तहका डन छन् । पहिलो, चुल्ठे-मुंग्रे भइहाले, जो तपाईं-हामीमध्ये कतिले चिन्छौं पनि । दोस्रो, सुट लगाउने एवं मयलपोस–सुरुवाल लगाउने डन । यी दुईथरी डनको नातागोता केलाउने हो भने साख्खै दाजुभाईको जस्तै हुन्छ । एकबाट अर्को अलग हुनै नसक्ने ।
मयलपोस–सुरुवाल लगाउने मूख्य डन, सुट लगाउने पनि ठूलो डन । त्यसपछि चुल्ठे-मुंग्रे भनेका चाहि कार्यकर्ता जस्तै हुन् । यी कार्यकर्ताहरुले ठेक्कापट्टा चलाउँछन् । निर्माणका कामहरुमा कब्जा जमाउँछन् । अनेक धन्दा गर्छन् । विचौलियाको काम गर्छन् । चुनावको बेला पनि चुल्ठे-मुंग्रेहरु खुब प्रयोगमा आउँछन् । चुनावमा सघाएर उनीहरुले मयलपोस-सुरुवाल लगाउने डनलाई शक्तिशाली बनाइदिन्छन् । त्यसबापत मयलपोस-सुरुवाल लगाउने डनले चुल्ठे-मुंग्रेलाई पनि गुणको बदला गुण लगाएर सहयोग गर्छन् । ठेक्कापट्टा आदि मिलाइदिन्छन् । त्यसबाट आएको रकम पनि उनीहरु बाँडीचुँढी खल्तीमा हाल्छन् ।
चुल्ठे मुंग्रे र मयलपोस-सुरुवाल लगाउने डनबीचको अन्तर के छ भनेर सोध्नुहुन्छ भने, उनीहरुको गेटअप फरक हुन्छ । हुलिया फरक हुन्छ । चुल्ठे-मुंग्रेले हेर्दा अलि डरलाग्दो देखिन्छन् । पाखुरा बनाएका हुन्छन्, ट्याटु खोपेका हुन्छन् । अलि रफ जस्तो देखिने । यस्तो देखिनु उनीहरुको बाध्यता पनि हो । किनभने आफ्नो हुलिया देखेर अरु थुरथुर भइदियोस् भन्ने उनीहरुलाई लाग्छ । यिनीहरुको बोली रुखो हुन्छ । हाउभाउ पनि डरलाग्दो नै हुन्छ ।
मयलपोस–सुरुवाल लगाउने ठूला डन भने ठीक विपरित हुन्छन् । उनीहरु हेर्दा शालिन देखिन्छन् । सुकिला हुन्छन् । बोल्ने शैली तगडा हुन्छ । आफ्नो भित्री कुरा उनीहरु लुगाले, बोलीले, शालिनताले छोपिरहेका हुन्छन् ।
चुल्ठे–मुंग्रे डन र मयलपोसधारी डनबीच नङ र मासुको सम्बन्ध हुन्छ । उनीहरुले एकअर्काको संरक्षण गर्छन् । त्यसैले दुबै आपसमा परिपूरक पनि हुन् ।
चुल्ठे मुंग्र डनले गर्ने अपराधकर्मलाई मयलपोसधारी डनले ढाकछोप गरिदिन्छन् । त्यसैले प्रहरी प्रशासनको अघिल्तिर पनि ति डनहरु टेर्दैनन् । उनीहरुको मनोबल बढेको हुन्छ । निर्धक्कसँग विचौलिया, ठेक्कापट्टा, हप्ता असुली, धम्की आदि काम जारी राखेका हुन्छन् ।
हामीले पनि धेरै डनहरु भेटेका छौं । चुल्ठे मुन्द्रे डनहरु पनि हामीले भेटेका छौं । दाई भन्छन्, नमस्ते गर्छन् । उनीहरुभन्दा ठूलठूला पदधारी डन पनि हामी भेट्छौं । कुरा हुन्छ । नमस्कर पनि गर्नुपर्ने हुन्छ । नमस्कार गरिन्छ । यो संस्कृति नेपालमा अहिले मात्र होइन पञ्चायत कालदेखि नै मौलाउँदै आएको हो ।
निर्वाचानमा भाग लिइसकेपछि, राजनीतिमा लागेपछि अथाह कमाई गर्ने एउटा माध्याम पनि यही डन संस्कृतिबाट सुरु भएको हो । र, यो हरेक देशको समस्या हो ।
डन संस्कृति हाम्रो मुलुकको मात्र समस्या होइन । अरु थुप्रैै देशमा डन संस्कृति देखिन्छ । जस्तो जापानमा पनि, हङकङमा पनि । अरु ठूलठूला मुलुक अमेरिका, बेलायतमा चुल्ठे–मुंग्रे नभएपनि आर्थिक रुपमा दख्खल दिने र हस्तक्षेप गर्ने ठूला ठूला पदधारी डनहरु हुन्छन् । डन संस्कृतिको विरोधमा उभियो भने भौतिक कारबाही हुनसक्छ ।
अब छिमेकी देशहरुमा पनि डन संस्कृति कस्तो छ भनेर त हामीलाई थाहै छ । हामीले हेर्ने बलिउडका चलचित्रमा देखिरहेकै छौं । दक्षिण भारतिय चलचित्रमा देखेकैं छौं ।
त्यसबाट थाहा हुन्छ कि डनहरुले समाजमा कत्रो ठाउँ ओगटेको छ । भारतमा त हाम्रो भन्दा ठूलो राजनीतिक संरक्षण छ । यसैगरी धार्मिक डनहरु पनि छन्, जसले धर्मको नाममा साधुको भेषमा डनतन्त्रलाई चलाइराछन् । डन संसारकै समस्या हो । अब यसलाई हटाउन नसकिएपनि घटाउन सकिएला । तर, कसरी साइजमा घटाउन सकिएला भन्ने मुल कुरा हो । यसलाई जिरोमा ल्याउन वा निमिट्यान्न पार्न चाहि गाह्रै होला ।
डन र नेताबीचको जुन सम्बन्ध हुन्छ, त्यहीलाई मियो बनाएर हामीले प्रहसन लेखेका छौं । प्रहसनको शीर्षक चाहि, म डन को फोटो स्टुडियो । यो प्रहसन देखाउनका लागि हामीलाई युरोपका नेपालीहरुले बोलाउनुभएको थियो । युरोपका धेरै वटा देशमा हामीले यो प्रहसन देखायौं । त्यसैगरी अमेरिका, बेलायतमा, दक्षिण कोरियामा, हङकङमा हामीले जति ठाउँम देखायौं, डन संस्कृतिबाट ति सबै देशहरु पीडित भएका हुनाले सबैले बुझे । प्रतिक्रिया राम्रो पाइयो । अधिकतम मनोरञ्जन लिनुभएको महसुष ग¥र्यौं ।
मैले संस्कृति भनेको ठाउँमा तपाईंहरुले विकृति बनाएर पढिदिनुहोला । किनभने यो संस्कृति होइन विकृति हो । वेथिती हो ।
यस्तै वेथितीमाथि हामी प्रहसन बनाउने गर्छौं । कुनैपनि प्रहसन गर्नुअघि कुन विषयमा बनाउने होला भनेर सोच्छौं । विगतमा नदेखाएका नयाँ वा फरक विषयमा प्रहसन बनाउनुपर्ने हुन्छ । डन संस्कृतिबारे पनि हामीले त्यसरी नै सल्लाह गरेका थियौं ।
धेरैजसो त व्याङ्ग गर्दा राजनीति र नेताहरुमाथि गरिन्छ । राजनीतिमा प्रसंशा गर्ने ठाउँ छैन । व्याङ्ग गर्नलाई भने अथाह विषय छन् । तर, राजनीतिमा गरिने व्याङ्ग अब दर्शकलाई रुचीकर लाग्न छाडेछ ।
किनभने राजनीति र नेताहरुदेखि मान्छे वाक्कदिक्क भइसके । पत्रपत्रिका, अनलाइन, टेलिभिजन, रेडियो जताततै त्यही राजनीति, उही नेता हेर्दा हेर्दा वाक्क भइसके । राजनीतिको कुराले उनीहरु इरिटेड भइसके । हुँदाहुँदा उनीहरुलाई राजनीतिमाथि गरिने व्याङग पनि मन पर्न छाडेछ ।
त्यसैले हामीले राजनीतिलाई नै केन्द्रमा राखेर भन्दा पनि अरु नै विषयमा प्रहसन गरौं न त भनेर सल्लाह ग¥यौं । हुन त जहाँ गएर पनि राजनीति ठोक्किन्छ । डनको विषयमा राजनीति र नेता ओभानो हुने कुरै भएन ।
मान्छेलाई डायलगले मात्र हँसाउन सकिदैन । एक्सन ओरिएन्टेड पनि हुनुपर्छ । यस्तै विषयको खोजी गर्दा फोटो स्टुडियोको अवधरणा फु¥यो । बाहिर सानो फोटो स्टुडियो जस्तो, भित्र अर्कै धन्दा ।
मैले मदन दाईलाई भनें, ‘फोटो स्टुडियो बनाऔं । म फोटो खिच्न आउँछु । तपाईं चाहि यसपाली डन बन्नुहोस् । बुढो डन ।’ हुन्छन् नि बुढो डनहरु । उमेरलाई नसुहाउने कपाल पालेको गेटअप, उमेरलाई नसुहाउने पहिरन लगाएको । त्यस्तो गेटअपमा देखेपछि दर्शकहरुले रुचाउँलान् भनेर मदन दाईलाई बुढो डन बनाइयो । हुन त म पनि बुढो भइसकें । तर, म चाहिँ एउटा इनोसेन्ट क्यारेक्टर गर्ने निधो भयो । ४५ मिनेट जतिको यो प्रहसन धेरैले रुचाए । दर्शकहरुले मनोरञ्जन लिए ।
मनोरञ्जन आफ्नो ठाउँमा छ । तर, डन विकृतिलाई भने हामीले विस्तारै किनारा लागउनुपर्नेछ । नभए राम्रा, असल मान्छेहरुले अवसर पाउने छैनन् । गुण्डागर्दी गर्नेहरु मौलाउने छन् । यसले गलत थीति बस्नेछ र समाजलाई सधै-सधैका लागि आतंकको छायाँमा राख्नेछ ।
शिव मुखियासँग गरेको कुराकानीमा आधारित