सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको कारोवार विवरण हो ।
बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिँदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा रकम जम्मा गर्न र झिक्नका लागि सुविधा प्रदान गर्दछ । बैंक खाता खोलेपछि वचतकर्ता वा ग्राहकले रुपैयाँ जम्मा गर्ने भौचर, पास बुक र चेक बुक पाउँछन् । खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ । पास बुकमा ग्राहकले कारोवार गरेको विवरण बैंकले भरिदिन्छ भने पछिल्ला दिनहरूमा कम्प्युटरबाट कारोबार गर्ने यस्ता बैंक वित्तीय संस्थाहरूले पासबुकको सट्टा आवश्यकता अनुसार बैंक स्टेटमेण्ट उपलव्ध गराउँदै आएका छन् । यसबाट आफ्नो कारोबार, खातामा रहेको पैसा, सो वापत आर्जित व्याज, र व्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम झिक्न सक्दछ ।
बैंक खाताका प्रकार
खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चलनचल्तीमा रहेका खाताहरू चल्ती खाता, वचत खाता र मुद्दती खाता प्रमुख हुन् । बैंक तथा वित्तीय संस्थामा मूलतः देहाय बमोजिमका खाताहरू सञ्चालन गरिएका हुन्छन् :
चल्ती खाता
आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योगी, व्यापारी र कार्यालयहरूका लागि यो खाता बढी उपयोगी हुन्छ ।
वचत खाता
वचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्यतया साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । सर्वसाधारण व्यक्तिहरूमाझ यस्तो खाता सर्वाधिक प्रचलनमा छ र लोकप्रिय समेत रहेको छ । पछिल्ला दिनहरूमा वचत खाताबाट झिक्न सकिने रकमको उच्चतम् सीमा पनि बैंकहरूले क्रमिक रूपमा बढाउँदै लगेको पाइन्छ । विद्यार्थी, युवा, गृहणी, गृहस्थी, बुढाबुढीहरू सबैका लागि यो खाता उपयोगी हुन्छ ।
मुद्दती खाता
मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । तर, सामान्यतया तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । यस खातामा राखेको पैसाको व्याजदर पनि वचत खाताको भन्दा केही बढी नै हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितोराखी बैंकहरूबाट कर्जा निकाल्न त मिल्छ तर अन्य खातामा जस्तो तुरुन्तै रकम झिक्न नमिल्ने हुँदा रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आपूmले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत बढी ब्याज बैंकलाई तिर्नु पर्ने हुन्छ ।
सामाग्री: नेपाल राष्ट्र बैंक