एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, क्रनार पाण्डय र राहुल चाहरले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउँदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे ।

यस्तै कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १/१ विकेट रह्यो ।

धोनीले बनाए तीन रेकर्ड
धोनीले हालसालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनी ४३५ दिनपछि क्रिकेट मैदानमा उत्रिएका हुन् । लामो समयदेखि क्रिकेटबाट टाढा रहे पनि ३९ वर्षीय धोनीमा कुनै परिवर्तन देखिएन । उनले आफ्नो सफल नेतृत्वमा खेल मात्र जितेनन्, तीन वटा महत्वपूर्ण रेकर्ड पनि बनाए ।

धोनीले आईपिएल इतिहासमा आफ्नो १०० क्याच पूरा गरे । यसक्रममा उनले विकेटकिपरको रुपमा ९६ र फिल्डरको रुपमा चार क्याच लिएका छन् । धोनीले कप्तानको रुपमा अर्को शानदार रेकर्ड आफ्नो नाम गरेका छन् । उनले चेन्नई सुपर किंग्सको कप्तानको रुपमा १०० औं जित दर्ता गरेका छन् ।

यसका साथै आईपीएलमा कुनै कप्तानको रुपमा १०० जित हासिल गर्ने उनी पहिलो कप्तान बनेका छन् । यसका साथै धोनीले टी-२० क्रिकेटमा विकेटकिपरको रुपमा २५० खेलाडीलाई आउट गर्ने रेकर्ड पनि आफ्नो नाम गरेका छन् ।

तपाईको प्रतिक्रिया