काठमाडौं– विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकले आफ्नो एउटा नीति परिवर्तन गर्ने भएको छ। विश्वभरका प्रयोगकर्तामा लागू हुनेगरी परिवर्तन ल्याउनका लागि फेसबुकले प्रयोगकर्तालाई अहिले नोटिफिकेसन पठाइरहेको छ।

नोटिफिकेसनमा प्रयोगकर्ताले फेसबुकमा अपलोड गरिएको सामग्री डिलिट वा ब्लक गर्न सक्ने बताइएको छ। सो पोस्टले फेसबुकलाई कुनै कानुनी झमेला पार्न सक्ने भए डिलिट हुन सक्ने उसले बताएको हो।

‘यदि हामीले पोस्ट डिलिट वा उसको स्थान सीमित गर्न सकेको खण्डमा हामी कानुनको प्रतिकूलतालाई ध्यानमा राखेर र नियामक प्रभावबाट बच्नका लागि यस्तो गर्न सक्नेछौं,’ नोटिफिकेसनमा भनिएको छ।

सिधा अर्थमा बुझ्ने हो भने यदि फेसबुकमा उपलब्ध सामग्रीले कम्पनी (फेसबुक)लाई कानुनी रुपमा बाधा गर्छ भने फेसबुकले त्यो पोस्ट डिलिट गर्न सक्नेछ। अथवा त्यो पोस्ट सीमित क्षेत्र वा मानिसमा उपलब्ध हुन नसक्ने बताउन सक्नेछ।

फेसबुकले यस्तो नोटिफिकेसन पठाएको भए पनि पोस्ट डिलिट गर्ने सीमा के हो भन्ने खुलाएको छैन। साथै कुनै प्रयोगकर्ताको पोस्टले फेसबुकलाई कस्तो समस्या हुन्छ भन्ने कुरा पनि बहस सुरु भएको छ।

यस्तोमा मानिसहरुलाई डर छ कि फेसबुकले कानुनी बहाना बनाएर मानिसको जुनसुकै पोस्ट डिलिट गर्नेछ र विशेष समाजको आवाज दबाउन सक्नेछ।

तपाईको प्रतिक्रिया