गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ पछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले करीब ६ महिना कुनै फिल्म साइन गरिनन् । गएको महिना एक नयाँ फिल्मका लागि कागजी सम्झौता गरेकी उनले डेढ वर्ष अगाडि हेमराज विसीको फिल्म पनि साइन गरेकी थिइन् । यसबीच, उनलाई ‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्मस्ले फिल्म ‘हुतुतु’ अफर गरेको छ ।

उनीसँग निर्माण टिमको एक चरण कुराकानी भइसकेको छ । उनलाई आफ्नो भूमिका मन परेको छ भने फिल्म गर्न सकारात्मक देखिएकी छन् । तर, फिल्मका लागि पर्याप्त समय दिनुपर्ने भएकाले अहिले नै कुनै निश्चित नभएको निर्माता सन्तोष सेन बताउँछन् । एक महिना फिल्मका हरेक पुरुष पात्रसँग वर्कसप गर्नुपर्ने भएकाले साम्राज्ञीको समय महत्त्वपूर्ण रहने उनको भनाई छ ।

उनी भन्छन्, ‘फिल्ममा अभिनेत्रीको भूमिका निकै चुनौतीपूर्ण छ । एक जना मात्र अभिनेत्री हुने भएकाले फिल्मका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ । फिल्मको महिला पात्रमा साम्राज्ञी फिट हुने भएकाले नै उहाँलाई अफर गरेका हौं । उहाँले पर्याप्त समय दिन सकेको खण्डमा चाँडै कागजी सम्झौता हुनेछ । अहिले छलफलकै चरणमा छौं ।’ उनी साम्राज्ञीको निर्णयको पखाईमा छन् ।

सन्तोष सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीको मुख्य भूमिका रहनेछ । फिल्मको पटकथामा ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले निर्देशक गुरुङलाई सघाइरहेका छन् । उनको पनि फिल्ममा अभिनय हुनसक्ने सम्भावना बलियो छ ।

तपाईको प्रतिक्रिया