सामाजिक कथालाई पर्दामा उतार्न सिपालु मानिन्छन् निर्देशक नवल नेपाल । ‘महशुश होस् या मारुनी, श्रीमान् होस् या भाग सानी भाग’, नवलको कथामा समाजमा देखिएका विभिन्न बिषय उठेका हुन्छन् । उनले, ‘मारुनी’मा उठाएको एक फरक बिषयले त सर्वत्र चर्चा पनि पायो ।

उनै, निर्देशक नेपालले लकडाउनको समयमा २ वटा चलचित्रको कथा लेखेका छन् । अहिले उनी तेश्रो चलचित्रको कथा बुनिरहेका छन् । नवलले यो समयमा करिब ४–५ भागको वेव सिरिज पनि लेखेर सकेका छन् । दशैं तिहारपछि पनि चलचित्रमा काम गर्ने वातावरण बनेन भने वेव सिरिज निर्माण गर्ने योजना उनको छ ।

नवलले आफूले लेखेको कथाबारे अनलाइनखबरसँग भने–‘मैले एउटा स्क्रिप्टमा धार्मिक घटनाक्रहरुलाई आधुनिकिकरणमा रुपान्तरण गरेर सामाजिक बिषयवस्तु बनाएको छु । दोश्रो कथामा भने, बाबु–आमाको प्यारो सन्तान हराएपछि उत्पन्न हुने घटनाक्रमलाई बुनिएको छ ।’

यी दुबै चलचित्रको स्क्रिप्ट लेखिसकेका नवल अहिले तेश्रो चलचित्र लेखिरहेका छन् । उनी भन्छन्–‘तेश्रो स्क्रिप्टमा मैले समाजमा देखिएको धनाढ्य, मध्यम र गरिब बर्गको कथा लेखेको छु । आफूलाई अप्ठ्यारो पर्दा एक धनाढ्य मानिसले कसरी मध्यम र गरिब बर्गको मानिसलाई प्रयोग गर्छ भन्ने कथा बुनिएको छ ।’

नवलले स्क्रिप्ट लेखिसकेपनि अहिलेसम्म कुनै निर्मातासँग कुरा पनि गरिसकेका छैनन् ।

तपाईको प्रतिक्रिया