युट्युबमा हिट सिरिज ‘आजकालको लभ’ले १ सय भाग पूरा गर्दै थियो । मुख्य भूमिकामा देखिने रियाशा दाहाललाई बाहिरी कामको अफर आउन थालिसकेको थियो ।
केही म्युजिक भिडियोदेखि स्थापित हाँस्य टेलिसिरियलमा रियाशाको माग बढिरहेको थियो ।
त्यो समय रियाशाले आफ्नो सोचिन्, ‘अब मैले आफ्नै लागि केही गर्नुपर्छु ।’ यही सोचका कारण रियाशाले ‘आजकालको लभ’ नगर्ने निर्णय गरिन् । यसमा केही आन्तरिक विवाद पनि कारण थिए ।
त्यो समय रियाशालाई गाली गर्नेको संख्या कम थिएन । धेरैले रियाशालाई ‘घमण्डी’को उपनाम दिए । घमण्डी भएकै कारण रियाशाले आजकालको लभ छोडेको धेरैको अड्कल थियाे ।
तर, रियाशाले भने घमण्डका कारण आजकालको लभ नछोडेको बताउँदै आएकी थिइन् । उनी भन्ने गर्थिन्, ‘मैले आफ्नाबारे सोचेर आजकालको लभ छोड्ने निर्णय गरेकी थिएँ । तर, आफ्नो लागि सोच्दा यहाँ घमण्डी भइने रहेछ ।’
बाहिरी काम र आजकालको लभको सुटिङ जुध्न थालेपछि आफूले आजकालको लभ छोडेको रियाशाको बताउँछिन् ।
अब रियाशालाई आफैँ केही गर्नु थियो । त्यसैले उनले आफ्नै नेतृत्वमा रहेको ‘सोल्टिनी’ नामक सिरिजलाई निरन्तरता दिने निधो गरिन् । र, सुरु गरिन्, ‘सोल्टिनी सिजन २’।
सिरिज सुरु गरेपछि झनै रियाशालाई गालीको वर्षा भयो । ‘घमण्डी’ नलेखिएको प्रतिक्रिया खोज्न रियाशालाई समय लाग्न थाल्यो । रियाशा निकै दुःखी भएकी थिइन् ।
आफ्नो पर्दामा भएको भूमिकालाई हेरेर जज गरिएको रियाशा बताउँछिन् । ‘म पर्दामा प्राय: रिसाहा अवतारमा देखिन्थेँ । त्यसैले मलाई वास्तविक जीवनमा पनि धेरैले त्यस्तै सोच्नुभयो’, रियाशा भन्छिन्, ‘मलाई वास्तविक जीवनमा नचिन्नेहरूले घमण्डी भन्दा दुःख लाग्थ्यो ।’
रियाशाले ‘सोल्टिनी’को निर्देशन आफैँ गर्थिन् । तर, यस सिरिजलाई पनि रियाशाले लामो समय निरन्तरता दिन सकिनन् । २३औँ भागमा पुगेपछि रियाशा पछि हटिन् ।
उक्त समय रियाशा चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’मा पनि काम गरिरहेकी थिइन् । तर, याे सिरियलमा पनि रियाशा दिगो भने बन्न सकिनन् ।
अहिले रियाशाका २ सिरियलहरू प्रसारण भइरहेका छन्, ‘अत्ति भो १’ र ‘गाह्रो छ हो’ ।
योसँगै रियाशा म्युजिक भिडियोमा पनि निकै ब्यस्त हुन्छिन् । लकडाउनपछिको समयमा त रियाशालाई म्युजिक भिडियोमा भ्याई-नभ्याई नै छ । म्युजिक भिडियोमा रियाशाले आफ्नो परिचय स्थापित गर्दै छिन् ।
सिरिजमा काम गर्दाभन्दा म्युजिक भिडियोमा काम गर्दा आफूले केही फरक महसुस गरेकाे रियाशा बताउँछिन् । उनी भन्छिन्, ‘सिरिजमा काम गर्दा हाम्रो कामको मात्र मतलब हुन्थ्यो । अहिले त ड्रेसअपदेखि फिट्नेससम्मको कुरा आउने रहेछ । मोडलिङ क्षेत्रमा छिरेपछि यस्तो अनुभव गर्दै छु ।’
म्युजिक भिडियोबाट रियाशाले निकै राम्रो प्रतिक्रिया पाइरहेकी छन् । सिरिजबाट चिनेका दर्शकले रियाशालाई प्रशंसा गर्न थालेका छन् । नयाँ दर्शकले पनि रियाशालाई रुचाएका छन् ।
‘म्युजिक भिडियोबाट मैले नयाँ दर्शक पाएकी छु । कतिपयले मलाई म्युजिक भिडियोबाट नै चिन्नुभएको छ । त्यो मेरा लागि राम्रो कुरा हो’, रियाशाले खुसी सुनाइन् ।
रियाशालाई धेरै गीतहरूको अफर आइरहेको छ । अब सिरियल बिट मार्ने तयारी हाे ? जवाफमा रियाशा भन्छिन्, ‘मलाई जन्माएको सिरिजले नै हो । त्यसैले त्यो काम छोड्छु भन्ने त छँदै छैन । दुवैलाई मिलाएर अगाडि बढ्नेछु ।’
आजकालको लभ छोडेको लामो समय भइसकेकाे छ । त्यसपछि पनि अन्य थुप्रै काम गरिसकिन् उनले । तर, अझै रियाशाले पाएको घमण्डीको ट्याग जस्ताको त्यस्तै छ ।
रियाशा भन्छिन्, ‘घमण्डीको ट्याग हट्यो वा हटेन म भन्न सक्दिनँ । तर, पछिल्लो समय मेरो विषयमा आएका सकारात्मक तथा नकारात्मक जुनसुकै प्रतिक्रियालाई पचाउने क्षमता भने ममा विकास भएको छ । त्यसैले गाली र ताली स्वीकार्य नै छ ।’
चलचित्र क्षेत्रमा रुचि
रियाशालाई ठूलो पर्दाको हिरोइन बन्ने रहर छ । उनलाई चलचित्रमा काम गर्नु छ ।
रियाशालाई चलचित्रको अफर नआएको होइन । तर, भनेजस्तो चलचित्र रियाशाले पाएकी छैनन् । कसैले फरक विषयवस्तु र राम्रो स्क्रिप्टसहित अफर गरे रियाशा चलचित्रका लागि तयार छन् ।
रियाशा भन्छिन्, ‘चलचित्रमा काम गर्नैपर्छ भनेर म लागेकी छैन । तर, रहरचाहिँ छ । आफूले चाहेजस्तो टिम र कथावस्तु मिलेको खण्डमा नगर्ने भन्ने त कुरै भएन नि !’
अनि बाटो कलाकारितातर्फ मोडियो
रियाशालाई कलाकार बन्ने सोख थिएन । परिवारले पढ्नमा नै जोड दिने भएकाले पनि रियाशाले कलाकारिताका बारेमा सोचेकी पनि थिइनन् ।
एसएलसीपछि रियाशामा मोडलिङको रहर पलाएको थियो । तर, परिवारबाट अस्वीकृत भएपछि रहर पनि मनमै गुम्सियाे । अब उनलाई मोडल पनि बन्नु थिएन ।
१२ कक्षा सकेपछि रियाशालाई ‘बीबीए पढ्ने रहर जाग्यो । निकै मिहिनेत गरेर रियाशाले बीबीए पढ्दै थिइन्, अन्तिम सेमेस्टरमा पुगेपछि उनलाई एक युट्युब कार्यक्रम होस्ट गर्ने अफर आयो ।
कार्यक्रम होस्ट गर्न सक्ने उच्च मनोबलका साथ रियाशाले उक्त अफर स्वीकारिन् । केही सिकिन् पनि । तर, चन्चले स्वभावकी उनले भद्र भलाद्मी शैलीको उक्त कार्यक्रम होस्ट गर्न सकिनन् ।
अब सोही टिमसँग मिलेर रियाशाले छोटा भिडियोहरूमा काम गर्न थालिन्, जोडी बाँधिए जीवेश गुरुङ । ‘केटा जिस्काउने केटी, सोझी केटी जिस्काउँदाको परिणाम’ लगायतका भिडियोहरू जीवेश र रियाशाले तयार गर्दै गए । यस्ता छोटा भिडियोमा रियाशालाई निकै मन पराइयो ।
जीवेश र रियाशा मिलेर केही नयाँ गर्ने सोच बनाए । सल्लाहसल्लाहमा नै ‘आजकालको लभ’का बारेमा भिडियो बनाउने निधो भयो । बिनास्क्रिप्ट उनीहरूले भिडियो खिचे । ‘आजकालको लभ’ त भाइरल नै भइदियो ।
धेरैले यसको दोस्रो पार्ट खोजे । दर्शकको माग पूरा गर्दै जाँदा उनीहरूले एकसाथ १ सय भागसम्म काम गरे ।
‘आजकालको लभ’ हिट हुँदै गर्दा रियाशा र जीवेशले ‘हिमालय रोडिज’को प्यारोडी पनि तयार गरेका थिए । यसबाट पनि रियाशा र जीवेशको चर्चा चुलिएको थियो ।