‘हाइवे टु धम्पुस’, ‘कथा ७२’, ‘माउन्टेन टु क्लाइम्ब’ लगायत चलचित्र निर्माण गरेका निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न लागेको चलचित्रत्र यो साल छनोट भएका २२ चलचित्रमध्ये पहिलो नम्बरमा पर्न सफल भएको हो ।

एसियन प्रोजेक्ट मार्केट कोरियामा बर्सेनि हुने बुसान फिल्म फेस्टिभलको महत्त्वपूर्ण कार्यक्रम हो । बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी चलचित्रकर्मीका साथ यो साल भर्चुअल रूपमा सम्पन्न हुने कार्यतालिका रहेको छ ।

पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको चलचित्र ‘रेड फालुस’ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जित्न सफल भएको थियो । बुसान इन्टरनेसनल फिल्म फेस्टिभलअन्तर्गत नै न्यु करेन्ट सेक्सनमा छानिएका एसियन चलचित्रलाई फेप्रिस्की अवार्ड दिने प्रचलन छ ।

एसियाका चलचित्र मेकरलाई विश्व चलचित्रसम्म पुर्‍याउने उद्देश्यले सुरु भएको एपीएममा यो वर्ष नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवान आदि देशका चलचित्र मेकर छनोट भएका छन् ।

कोभिड- १९ का कारण यो सालको फेस्टिभल भने भर्चुअल हुनेछ । त्यसैले एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रूपमै सम्पन्न हुने पोखरेलले जानकारी गराए । उनले एपीएम एसियाका चलचित्र मेकरलाई लगानीकर्ता खोज्ने सवालमा महत्त्वपूर्ण प्लेटफर्म रहँदै आएको बताए ।

‘नेपाल जस्तो देशका लागि विश्व सिनेमामा उपस्थिति देखाउन एपीएम एकदमै राम्रो प्लेटफर्म हो । त्यसबाहेक युरोपमा प्रोड्युसिङ पार्टनर भेट्टाउनमा पनि यसले मद्दत गर्ला भन्ने अपेक्षा छ’, पोखरेलले भने ।

‘रिभर इन दि मिरर’ले १० वर्षे बालकले ८१ वर्षीया हजुरआमालाई बदला लिन उनलाई अमर बनाउन सञ्जीवनी बुटी खोज्न हिँडेको कथा प्रस्तुत गर्नेछ । पोखरेलले चलचित्रको बजेट साढे ३ करोड हाराहारी रहेको बताए ।

पोखरेलले निर्माण गरेको ‘माउन्टेन टु क्लाइम्ब’ले नेपाललाई पहिलो पटक एम्मी अवार्ड जिताएको थियो भने पोखरेलले नै निर्माण गरेका लुघ चलचित्र ‘झालो’ र ‘तातिनी’ पनि विश्वका धेरै फिल्म फेस्टिभल चहारेका थिए ।

तपाईको प्रतिक्रिया