सुषमा तिमिल्सिना

हिन्दू धर्मावलम्बी महिलाहरूले तिजलाई स्वतन्त्रा र बिशेष जमघटको चाडका रूपमा सनातनदेखी मनाँउदै आएका छन l बिशेषगरि आफ्नो समुदायमा दु:ख सुख साट्ने, मिठो मसिनो पकाई खाने र शृङ्गार पटार गरेर सजिएर गीतको माध्यमवाट मनको बहपोख्ने गरेको पाइन्छ l झमझम वर्षामा रुझीभिजि खेतीपाती सकेर माईतिको सम्झनामा न्याश्रो मानेका चेलीबेटीलाई तिज जस्तो प्यारो पर्व के होला र ? घरको मेलापात धन्दावाट दुई-चार दिन छुट पाएर माइतिको आगँनमा छोरी भएर नाच्नु जतिको स्वतन्त्रता के होला र ? त्यसैले तिजको विशेष पर्खाइमा हुन्छन् महिलाहरू l पुराना दिनहरुमा तिज येस्तै दुखः बिसाउने चौतारी बढी थियो भने अहिले बिस्तारै रमाइलो गर्ने र कतिपय अवस्थामा बिद्रोह गर्ने बहाना जस्तो पनि हुदैछ l जतिनै बुझेको शिक्षित र आधुनिक भनिने परिवार भएपनि बुहारी भयकि नारीहरु आफु छोरीमात्र भएको पुरानो जिवनकाल नै चाख राख्छन्, सम्झन्छन् र रमाइलो मान्छन l आमा बाबाको काखमा हुँदा गल्ति पनि सहज माफ हुन्छन र त यो समयमा आएर पनि तिज त्यो विशेष दिनको सम्झना गराउदै अझ बिशेष बन्न जान्छ l केहि वर्ष अघिवाट महिना दिन अघिदेखि दरखाने कार्यक्रमहरु पार्टी प्यालेशमा हुन थाले देखि भड्काउ र परम्परामा विकृति आएको पक्कै हो तर समयसंगै टाढिएका साथी र दिदि बहिनीहरुलाई यो चाड घरायसी र काम काजी महिलाहरुको लागि कार्यालयको थप बोझवाट केहि समयका लागि भए पनि मुक्त हुने र एक अर्कामा सुखः दुख साटासाट गर्ने बहाना हो l स्थान र परम्परा अनुसार दरखाने परिकारहरू फरक फरक छन् l

त्यस्तै आधुनिकतासँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ l अहिलेको समाज मिश्रित छ l पहाडी, तराइ, हिमाली, पुर्बी र पश्चिमी स्वाद र भेषभुषा फरक छन् l बिदेसीएका दिदी बहिनीलाई त झनै यो तिजले नजिक बनाउने र स्वदेशी गित, खानाका परिकार, कपडा र परम्परागत नेपाली गहनाहरुको मह्त्व बढाउँछ l सामाजिक संजालवाट त आजकाल दरखाएको नाचेको प्रत्यक्ष देख्न सजिलो भएको छ l यसले तिजको रौनक अझै बढेको हो कि झैं लाग्छ l आफ्नो काम काजमा ब्यस्त महिलाहरुलाई झन यो बिदामा बसिरमाउने पर्व भएको छ l मेरी हजुरआमाले मलाई मेरो रजस्वलाहुनु अघिनै तिजको ब्रत बस्न सिकाउनु भयो l रहर लागेर आमासंग ब्रत वस्ने गरेको खुब याद छ l दरमा खाइने खिर, आलु, काँक्राको अचार, बजारबाट किनेर ल्याएको जेरी, पेडा, आहा !! नाताले हजुरआमा भन्न पर्ने भएपनि आमालाई ममी भनेर बोलाउने बानि परेर हो वा बुवाले आमा भनेको सुनेर हो हामि हजुरआमालाई आमा भनेर नै संबोधन गर्थ्यौं l हजुरआमा सधै हातभरि चुरा, मखमलको ठूलो रातो टिका र पोतेको मोटो लाछी लगाउने गर्नुहुन्थ्यो l चिरिच्याट्ट परेको बेलाको वहाँको उज्यालो अनुहार खुब सम्झना आउँछ l हरेक चाड बाड आउँदा र अझ बढी तिजको बेला हजुरआमाको धेरै याद आउँछ l

आज हजुरआमा हुनुहुन्न तर हजुरआमाका तिजका किस्साहरु कति ताजै छन् l रातो लुगामा नै सुहाउँछ, कपाल बाटेर सिउँदोमा सिन्दूर लगाउनु पर्छ भनेर हजुरआमा घरमा बुहारीहरूलाई सिकाउनु हुन्थ्यो l तिजको बेला ममि र काकिहरुलाई बर्खाभरि दु:ख गरि खेति गर्यौ माइत जाने हैन, घरै बस, खाऊ, नाच भन्नु हुन्थो l सायद संगै दु:ख गर्नेले संगै बसेर रमाइलो गर्नुपर्छ भन्ने हजुरआमाको बुझाई थियो र बुहारीहरूले यस्ता मौकामा मात्र गर्न पाउने रमाइलो र खुसि हेर्ने चाहना वहाँमा थियो l म घरकी एक्ली छोरी भएर पनि कोरना कै कारणले आज माइतिघर जान पाइएन l तर पनि धेरै दु:ख मानेकी छैन किन कि आमाको सिकाइ याद छ l छोरीमान्छेले पराइलाई उज्जालो अनुहार देखाएर जितेर नाच्नु पर्छ, भोलि फेरी आफ्नै मान हुन्छ l

मन्दिर, आँगनको तुलसिको मठमा बत्ति बालेर उज्यालो गराउनु, छोराछोरीलाई कोरीबाटी गराउनु पर्छ भनेर सिकाउनु हुन्थ्यो l घर वरि परि आफ्नै माझ खुशी हुन सिकाउनु भएको सिप आज काम लागेको छ यो कोरनाको जोखिमा म लगायत मेरो परिवरमा सासु आमा मेरो ममि काकी जेठानी दिदी आफ्नै घरमा बस्ने भएका छौ पक्कै पनि छिट्टै कोरनाको समस्या सहज हुने छ अनि म पनि माईति जाने छु ॥ यसपली सबै जना जो जहाँ छौं घरमा नै सुरक्षित बसौं l सबैको हातमा फोन छ छत आगँनमा फोटो खिचेर सोसल मिडियामा पोस्ट गरौँ, आफ्नासगँ कुरागरौँ, टिकटक बनाएर नाचौं l दाजुभाईहरुले चेलिबेटीले सामाजिक संजालमा राखेका फोटो, भिडियो आउंदा नरामो नमानि कमेन्ट गरिदिनुस् l वर्षभरी तिज कुरेर बसेका नारीहरुलाई सकारात्मक तरिकाले दर खाएर तिज मनाउँने माहोल दिनुस् फरक तरिकाले पनि रमाएर बाँच्न जान्नु पर्ने रहेछ भन्ने जीवनको सिकाईकै रुपमा यो वर्षको तीज मनाउँ l यसपालि कोरना महामारीकै कारणले माइत जान नपएर वा माइती नजिक नभएर वा आफ्ना माईती नै नभएको कारण घरैमै बस्नु भएका सबै आमा, छोरी, बुहारी, सासु, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नाता गोताहरुलाई हरितालिका तिज २०७७ को हार्दिक शुभकामना l

तपाईको प्रतिक्रिया