डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल ठहरिएको थियो । अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक दाम्पत्यको जीवनमा सन्तान नहुँदा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको थियो । फिल्ममा प्रमुख भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयको निकै प्रशंसा भएको थियो ।

फिल्म राम्रो बन्न स्क्रिप्ट तगडा हुनुपर्छ । त्यसलाई पर्दामा उतार्न निर्देशकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । ‘प्रसाद’ दर्शकले रुचाउनुमा शुशील पौडेलको लेखन र दिनेश राउतको निर्देशकिय शिल्प प्रमुख मानिन्छ । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका निर्देशक राउतका लागि यो फरक धारको फिल्म थियो । तर, यसमा पनि उनले आफूलाई कमजोर सावित गरेनन् ।

यतिबेला ‘प्रसाद’ को सिक्वेल बन्ने चर्चा चलिरहेको छ । तर, फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने छैनन् । ‘लभ डायरीज’ का निर्देशक सौरभ चौधरी निर्देशकको रुपमा अनुबन्ध भएका छन् । फिल्मको कथा ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । सुवास थापाले निर्माण गर्ने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै दोहोरिन सक्ने सम्भावना प्रवल छ ।

‘प्रसाद २’ का लागि निर्देशकमा निर्माता थापाको पहिलो रोजाइ सौरभ थिएनन् । उनले दिनेशलाई नै फिल्मको क्याप्टेनसिप सम्हाल्न आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरे । यसपछि निर्माता थापाले सौरभलाई अनुबन्ध गरेका हुन् । उनका अनुसार, दिनेश राउतको पाइपलाइनमा केही फिल्म भएका कारण ‘प्रसाद’ गर्न नसकेका हुन् । तर, यो सजिलै विश्वास गर्न सक्ने कुरा होइन ।

व्यस्तताकै कारण ‘प्रसाद २’ छाड्नुभएको हो ? भन्ने फिल्मीखबरको प्रश्नमा निर्देशक राउतले भने- ‘मलाई ‘सेल्फी किङ’ भन्दा अगाडि नै निर्माताबाट ‘प्रसाद २’ को कुरा आएको थियो । स्क्रिप्ट राइटर शुशील पौडेलले सिक्वेल वा प्रिक्वेलका लागि केही कथा भेटेर फिल्ममा संलग्न हुनुभयो होला । तर, मेरो व्यक्तिगत विचारमा चाहिँ ‘प्रसाद’ को लिगेसीलाई लिएर हिँड्नु पर्छ भन्ने लाग्दैन ।’

‘प्रसाद’ को अगाडि वा पछाडिको कथामा फिल्म बनाउनु पर्छ भन्ने आफूलाई नलाग्ने उनको भनाई छ । उनी थप्छन्, ‘त्यो आफैंमा सुन्दर चिज बनेको छ । त्यो बनेको चिजलाई फेरि सिक्वेल वा प्रिक्वेलको रुपमा ल्याउनुपर्छ भन्ने मलाई व्यक्तिगत रुपमा लाग्दैन । तर, मलाई नलाग्दैमा त्यो लेखकलाई पनि लाग्दैन भन्ने होइन । उहाँ (शुशील पौडेल) ले राम्रो चिज देख्नुभएको पनि हुनसक्छ ।’

आफूलाई ‘प्रसाद’ को लिगेसीलाई लिएर हिँड्नु पर्छ भन्ने नलागे पनि निर्माताले फिल्मको सफलतालाई आत्मसात् गर्ने हिसाबमा सिक्वेल घोषणा गरेको हुनसक्ने उनको ठम्याइ छ । तर, आफूलाई त्यसको क्रेडिट लिएर अगाडि बढ्नु पर्ने नदेखेर फिल्ममा आबद्ध नभएको उनले प्रस्ट्याए । ‘प्रसाद २’ ले समीक्षात्मक वा व्यवसायिक सफलता प्राप्त नगरे त्यसको असर ‘प्रसाद’ ब्रान्डमाथि पर्ने पनि उनको कथन छ ।

तपाईको प्रतिक्रिया