अमेरिकी अभिनेता टम ह्याङ्गसले एक अस्ट्रेलियन बालकलाई पत्र लेखेका छन् । पत्रसँगै उनले कोरोना–ब्राण्डको टाइपराइटर पनि उपहार ती बालकलाई पठाएका छन् । आफूलाई नामकै कारण बुली गरिएको ती बालकले बताएका थिए ।
ती बालकको नाम कोरोना हो । ८ वर्षका कोरोना डी भ्रिसले टोय स्टोरीका अभिनेता ह्याङ्गस र उनकी श्रीमती रिता विल्सनलाई पत्र लेखेका थिए।
उनीहरु अस्ट्रेलियाको क्वीन्सल्याण्डमा कोरोना भाइरसबाट संक्रमित भएपछि ती बालकले स्वास्थ्य अवस्था बुझ्नका लागि पत्र लेखका हुन् ।
उनले पत्रकार लेखेका थिए, ‘मैले समाचारमा तपाईँ र तपाईँकी पत्नीलाई कोरोना भाइरसको संक्रमण भएको सुनेँ । तपाईँहरुलाई ठीकै छ नि?’
आफ्नो नाम मन पर्ने भए पनि स्कूलमा सबैले कोरोना भाइरस भनेर जिस्क्याउने गरेको पत्रमा कोरोनाले लेखेका थिए । उनले पत्रमा लेखेका थिए, ‘मानिसहरुले मलाई कोरोना भाइरस भन्दा रिस उठ्छ र दुःखी पनि हुन्छु ।’
अभिनेता ह्याङ्गसले सो पत्रको जवाफ लेखेका हुन् । टमले ‘प्रिय साथी कोरोना’ लेखेर पत्रको सुरुवात गरेका छन् ।
अभिनेता टमले लेखेका छन्, ‘तिम्रो पत्रले रिता र मलाई निकै राम्रो महसुस भयो । राम्रो साथी बनेकोमा धेरै धन्यबाद, साथीले नै साथीलाई राम्रो महसुस गराउँछन् उनीहरु दुःखी भएका बेला ।’
गएको मार्चमा गोल्ड कोस्टमा रहेका उनीहरु कोरोना भाइरसबाट संक्रमित भएपछि तीन हप्ता त्यहिँ बिताएर अमेरिका फर्किसकेका छन् ।
ओस्कार विजेता अभिनेताले बालकलाई पत्र मार्फत भनेका छन्, ‘मलाई थाहा भएसम्म तिमी एक मात्र व्यक्ति हौ कोरोना नाम भएको–जस्तो सूर्यको वरिपरी घुम्ने चक्र–क्राउन जस्तो ।’
टमले ती बालकलाई क्वारेन्टाइनमा रहेका बेला प्रयोग गरेको कोरोना ब्राण्डको टाइपराइटर पनि उपहार स्वरुप पठाएका छन्।
उनले लेखेका छन्, ‘मलाई लाग्छ यो टाइपराइटर तिमीलाई उपयुक्त हुन सक्छ । मैले यो गोल्ड कोस्टमा लगेको थिएँ र अलिहे फेरि त्यतै पठाउँदै छु तिम्रो साथमा रहने छ अब । यसले कसरी काम गर्छ भनेर अभिभावकलाई सोध्नु, अनि यसबाटै लेखेर मलाई पत्र पठाउनु।’