तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरुता सिंहले करीब एक दशक नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएकी थिइन् । कयैन् यादगार फिल्ममा अभिनय गरेकी उनी फिल्म ‘द गेम’ पछि भने काँचको पर्दाबाट टाढा भइन् । २०६४ सालमा इन्टेरियर डिजाइनिङ सिक्न भन्दै मुम्बई गएपछि उनी एक दशक फिल्म अभिनयमा फर्किइनन् ।
गएको दुई वर्ष अगाडि एक अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउने क्रममा उनले विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरिन् । फिल्ममा भूमिका छोटो भए पनि उनको अभिनयले दर्शकको मन जितेको थियो । यसपछि उनले फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली’ बोलको गीतमा नृत्य र फिल्म ‘दाल भात तरकारी’ मा प्रमुख भूमिका निभाइन् ।
यो फिल्मपछि भने निरुताले नयाँ फिल्म साइन गरेकी छैनन् । अहिले उनी भारतको मुम्बईमा आफ्नो परिवारसँग छिन् । गएको कात्तिकमा उनी एक फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी थिइन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि भारत सरकारले २१ दिनका लागि लकडाउन घोषणा गरेको छ । जसकारण निरुता घरभन्दा बाहिर निस्किएकी छैनन् ।
लकडाउनको समय सदुपयोग गर्दै निरुताले झण्डै डेढ दशक अगाडि एक फिल्मको छायांकनको क्रममा आफ्नो क्यामेरामा कैद गरेको श्रव्यदृश्य युट्युबमा अपलोड गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमा राखेको भिडियो फिल्म ‘सन्तान थरी थरीका’ को गीत ‘रुपै राम्रो मोहनी’ छायांकन हुँदाको हो । भिडियोमा निरुतासँगै दीलिप रायमाझी र दीपकराज गिरीलाई देख्न सकिन्छ ।
भिडियोमा अभिनेत्री निरुता गीतका लागि आफ्नो सिन दिँदै गरेकोदेखि अभिनेता द्वय दीलिप र दीपकलाई साडी लगाइदिएको र आफ्ना प्रशसंकले अटोग्राफका लागि घेरेका दृश्यसम्म छन् । उनले यो भिडियो आफ्नो फेसबुकमा साझेदार गर्दै आफू हरेक फिल्मको छायांकनमा जाँदा सधैं क्यामेरा लिएर जाने गरेको र फिल्मको छायांकनका हरेक पल कैद गर्ने गरेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘म सुटिङमा जाँदा हमेशा आफूसँग क्यामेरा लिएर जाने गर्थेँ । किनकि, त्यो समयमा अहिले जस्तो स्मार्ट फोनहरु थिएन । मलाई सुटिङको हर एक पललाई संगालेर राख्ने इच्छा हुन्थ्यो । मलाई त्यो बेला सबैले यति धेरै भिडियो बनाएर के गर्छौ भनेर सोध्थे । म सधैं भन्ने गर्थेँ कि यो म पछि बुढेस्कालमा परिवारसँग बसेर हेर्नेछु अनि यो रमाइलो पलहरुलाई सम्झनेछ ।’
बुढेस्कालमा परिवारसँग बसेर हेर्नका लागि खिचेका भिडियोहरु अहिले कोरोना भाइरसको महामारीका कारण घरभित्रै बन्द भएर हेर्नुपर्छ भनेर आफूले कहिल्यै नसोचेको उनले फेसबुकमा उल्लेख गरेकी छन् । निरुता सिंह थप्छिन्, ‘यो मुश्किलको घडीमा त्यो रमाइलो पलहरूलाई हजुरहरूसँग शेयर गरेर अलिकति भए पनि सबैको ओठमा हाँसो ल्याउने सानो प्रयास गरेको छु ।’
भिडियो हेर्नुहोस् :-