डा. कल्याण सुवेदी । हाम्रो छातीको दाहिने भागमा कलेजो हुन्छ । कलेजोको ठिक मुनि पित्तथैली हुन्छ । त्यस पित्तथैलीमा कलेजो हुँदै आएको पित्त जम्मा भएर बसेको हुन्छ । हामीले खाएको खानेकुरामा भएको तेल, घ्यु, बोसो आदिलाई अझ मसिनो पचाउने बनाउन र आन्द्राले सजिलै सोस्ने खालको बनाउन पित्तको भूमिका रहन्छ ।

पित्तथैलीमा पत्थर बन्ने कारण
– शरीरलाई धेरै भएर फालेको cholesterol र bilirubin तत्वहरु कलेजो हुँदै यही पित्तमा आएर बसेको हुन्छ जुन पछि आन्द्रा हुँदै बाहिर निस्कन्छ
– कसैको पित्तमा अति धेरै cholesterol र bilirubin जम्मा भैदिदा
– Cholesterol लाई Soluble बनाइ राख्ने, जम्न नदिने bile salt तत्वको कमि हुँदा
– समयमा खाना नखाएको वा कहिले अति खाने कहिले कत्ति पनि नखाने भएर पित्तथैलीमा धेरै जम्मा भएको पित्त राम्रोसंग निख्रिन नपाउँदा थिग्रिएको पित्तमा cholesterol वा bilirubin धेरै जम्मा भएर पत्थर बन्न सुरु हुन्छ ।
– Ultrasound गर्दा पित्तथैलीका पत्थरहरु देखिन्छन् ।

पत्थरले कसरी दुख दिन्छ ?
– जब तपाईंले हल्का धेरै चिल्लो भएको खाना खानुहुन्छ तब पित्त माथि उक्लिएर आन्द्रा तर्फ जान पित्तथैली खुम्चिन थाल्छ । तर कसैको पत्थर गएर पित्तथैलीको मुखमा अड्किदिन्छ र पित्त बाहिर निस्कन सक्दैन । अनि खाना खाएको आधि घण्टा देखि केहि घण्टासम्म पेट अति दुख्छ । कसैलाई वाक्वाक्ति हुने, माथिल्लो ढाड दुख्ने आदि लक्षण पनि हुन सक्छ । पछि आँफै सन्चो महसुस हुन्छ ।
– यदि यो प्रक्रिया निरन्तर चल्यो भने वा पित्तथैलीमा किटाणु हुर्किएर थैली सुन्निन थाल्यो भने नियमितको दुखाई भन्दा अति नै कडा दुखाई निकै लामो समय रहन सक्छ र ज्वरो पनि आउन थाल्छ ।
– यदि सोहि कारण पित्तथैली कम्जोर भएर फुट्यो र केहि घण्टामा आकस्मिक शल्यक्रिया हुन सकेन भने शरीरभर infection फैलिएर ज्यान समेत जान सक्छ ।
– यदि पित्तथैलीबाट पत्थर निस्कियो तर आन्द्रामा पुग्न नपाउँदै बिचैमा अड्कियो भने आन्द्रा तर्फ जानु पर्ने पित्त कलेजो तर्फ फर्किएर कलेजोमा असर सुरु हुने, pancrease सुन्निने र सहनै नसकिने दुखाई सुरु हुन सक्छ । यस्तो बेलामा ERCP प्रबिधि द्वारा पत्थर निकाल्नु पर्ने हुन सक्छ ।

के पित्तथैली निकाल्नै पर्छ ?
– धेरैको पत्थर पित्तथैलीमै धेरै सालसम्म कुनै ठुलो असर नदिईकन बस्छ । यदि दुख्दैन वा कुनै अप्ठ्यारो महसुस भएको छैन भने कुनै उपचार नगरी बस्दा पनि हुन्छ तर परिआए ६ घण्टा भित्र शल्यक्रिया गर्ने तयारीमा भने बस्नु पर्ने हुन्छ ।
– यदि तपाईंले ठुलो समस्या सुरु हुनु अघि नै पित्तथैली निकाल्ने निर्णय गर्नु भयो भने Laparoscopic प्रबिधिद्वारा करिब एक घण्टाको शल्यक्रिया गरेर निकाल्न सक्नु हुन्छ ।

तपाईको प्रतिक्रिया