काठमाडौं – गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ स्रोता/दर्शकमाझ ल्याएका छन् । गीतकार सङ्घ नेपालको आयोजनामा गायक थापाको ८४ औं जन्मोत्सवको अवसरमा बिहीबार राजधानीमा अग्रज सङ्गीतकार प्रेमध्वज प्रधान, गीतकार यादव खरेल, चलचित्रकर्मी प्रकाश सायमी, गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटालगायतले एल्बम लोकार्पण गरेका हुन् ।
‘माया लुकाई लुक्दैन…’, ‘कोइलीले सम्झाइदियो…’ जस्ता गीतका अग्रज स्रष्टा सङ्गीतकार तथा गायक जगतमर्दन थापाको बिहीबार सार्वजनिक एल्बममा रहेका दुई ‘म मक्किएको धुरी खाँबो…’ र ‘फेरि साथ मेरै…’ भिडियो सार्वजनिक गरिएको थियो भने थापालाई गीतकार सङ्घले अभिनन्दन पनि गरेको थियो ।
गायक थापाले उक्त समारोहमा आधा दर्जन गीत प्रस्तुत गरेका थिए । भारतीय गायिका लिली सिंहको स्मरण गर्दै उनले वि.सं. २०१८ सालतिर नै भारतमा रेकर्ड भएका उनका गीत ‘भन लौ नढाँटी…’, ‘जुनेली रातमा कति बसूँ…’ जस्ता गीत सुनाएका थिए । एल्बममा नै समावेश रत्नशमशेर थापाको शब्द तथा शक्ति वल्लभको सङ्गीत रहेको ‘आली आली हरियाली…’, सहदेव ढुंगानाको शब्द र मनोहर सुनामको सङ्गीत रहेको ‘दैव संजोग…’लगायतका गीत प्रस्तुत गर्दा हल नै तालीले गुन्जायमान भएको थियो ।
उनलाई गायिका सरिता शाही र जिना रसाइलीले गायनमा साथ दिएका थिए । गायक थापासँगै उनका नाती आयुष्मान विष्टले पनि प्रधानको स्वर रहेको ‘तारा मात्र होइन…’ लगायतका गीत गाएका थिए । गीतसङ्गीत सिर्जनामा आफ्नो उत्तिकै लगाव रहेको खुलाउँदै थापाले साथ दिने सबैप्रति आभार व्यक्त गर्दै छैटौं एल्बमका लागि पनि तयारी सुरु भएको जनाए ।
गायक प्रधान र सायमीले थापाको सङ्गीतप्रतिको साधनाको खुलेरै प्रशंसा गरे । गायक थापालाई सङ्गीतले झन स्वस्थ बनाएको बताउँदै प्रधानले ‘जो पायो त्यसले थापाको उमेरमा गाउन नसक्ने’ जिकिर गरे । भने, ‘यो उमेरमा गायन निकै कठिन छ । जगतमर्दन थापाको प्रयास निकै प्रशंनीय छ ।’
गीतकार हर्क साउदको शब्द तथा कल्याण सिंहको सङ्गीत रहेको शीर्ष गीतमा गायक थापालाई स्वरमा दिपेश किशोर भट्टराईले साथ दिएका छन् । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा विकास धमलाको सम्पादन र बुद्ध थापाको छायांकन छ । भिडियोमा टीका पहाडी, विक्रम श्रेष्ठ, नवीन पौडेलको अभिनय रहेको छ । यस्तै ‘फेरि साथ मेरै…’को गीतको भिडियोलार्ई तुलाराम थापाले निर्देशन गरेका हुन् भने सदाम हुसेन र किर्तिका तिमिल्सिनालाई फिचरिङ गरिएको छ ।
सार्वजनिक एल्बममा ‘बसन्तको फूल सरी…’, ‘दैव संजोग…’, ‘आली आली हरियाली…’, ‘म मक्किएको धुरी खाँवो…’, ‘फूलमायाले हेर्थिन मलाई…’, ‘कहिले तिमी अघि म पछि…’ र ‘फेरि साथ मेरै…’ जस्ता सात गीत समावेस गरिएको छ । गीतकार रत्न शम्शेर थापा, सहदेव ढुङ्गाना, हर्क साउद, विवश वस्ती, वसन्त वित्यासी थापा र तुलाराम थापाका शब्द रहेको एल्बमका गीतमा शक्ति वल्लभ, मनोहर सुनाम, कल्यण सिंह, रुपक शाही समुदा र भीम विरागको सङ्गीत रहेको छ ।
सार्वजनिक समारोहमा गीत सङ्गीत र भिडियोका साथै विभिन्न सहयोगी व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सङ्घकी सचिव सुशिला पौडेलले गरेकी थिइन भने कार्यक्रमको व्यवस्थापन भकारी एमडिसीका अध्यक्ष गीतकार वसन्त वित्यासी थापाले गरेका थिए । एल्बम तथा भिडियोको निर्माता मोहित मर्दन थापा हुन भने बजार व्यवस्थापन भकारी एमडिसीले गरेको छ । गीतको भिडियो वेष्ट टोन म्युजिकको युट्युवबाट हेर्न सकिन्छ ।