आफ्नो प्रेमी प्रेमिकासँग डेटिङ जाँदा के गर्ने भन्ने बारेमा जान्ने÷सिक्ने चाहना धेरै किशोर किशोरी तथा युवा युवतीहरूलाई हुनसक्छ । नहोस् पनि किन ? आखिर प्रेम सम्बन्धलाई दिगो रुपमा अघि बढाउनका लागि प्रभावकारी डेटिङको अहम भूमिका हुन्छ ।
सायद त्यहीँ भएर होला छिमेकी मुलुक चीनमा डेटिङको विद्या सिकाउने स्कुल नै खुलेको छ । उक्त स्कुलमा प्रभावकारी डेटिङको तालीम दिइन्छ ।
विगतको एक सन्तान नीतिका कारण महिला भन्दा पुरुषको जनसंख्या धेरै हुँदा आम युवकहरूलाई प्रेमिका तथा जिवनसाथी फेला पार्नै मुस्किल हुने गरेको छ । अहिले चिनियाँ युवाहरूलाई डेटिङका लागि युवतीहरूलाई रिझाउन निकै सकस पर्न थालेको छ । त्यहीँ कारण कसरी प्रभावकारी डेटिङमार्फत प्रेम सम्बन्ध स्थापित गरी जीवनसाथी बनाउने भन्ने विषयमा शिक्षा दिनका लागि डेटिङ स्कुल तथा ट्युसन संस्थाहरू नै खुलेका छन् ।
बेइजिङमा लभ इनर्जी नामक डेटिङ स्कुल सञ्चालन गर्ने यी कुई उर्फ म्याजिक कार्डका अनुसार डेटिङ एउटा निपूर्ण नृत्य जस्तै हो । कहिले तपाइँले साथीलाई आफुतिर तान्नुपर्दछ र कहिले टाढा धकेल्नु पर्दछ । तर त्यस क्रममा साथीप्रति लगातार संवेदनशील हुनु पर्दछ ।
लभ कोचिङको क्रेज चीनमा लगातार बढिरहेको छ । ३० डलर प्रति महिना बराबरको शुल्क तिरेर अनलाइन कोर्स समेत गर्न सकिन्छ । तर कक्षामै गएर डेटिङको ज्ञान तथा तालीम लिनका लागि चाहीँ मासिक ४५ सय डलर बराबरको रकम तिर्नु पर्दछ ।
यी कुईका अनुसार उनकोमा १९ वर्षदेखि ५९ वर्षसम्मका पुरुषहरू डेटिङको तालीम लिन आउने गरेका छन् ।
-एजेन्सीको सहयोगमा