काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएकाे खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध जित निकालेको छ ।
न्युरोडविरुद्धको खेलमा चार–एककाे फराकिलो जित निकाल्दै मनाङ मर्स्याङ्दी लिग तालिकाकाे तेस्राे स्थानमा उक्लिँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राख्न सफल भएको छ ।
मनाङको जितमा अञ्जन विष्टले दुई गाेल गरे भने विमल राना र जयानन्द सिंहले एक–एक गोल गरे । पहिलो हाफमा दुई–शून्यकाे अग्रता बनाउन सफल मनाङले दोस्रो हाफमा पनि दुई गोल गर्न सफल भयो ।
खेलको ३५औँ मिनेटमा विमल रानाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनुअघि खेलको ४३औँ मिनेटमा मनाङका अञ्जन विष्टले थप एक गाेल गरे ।
दोस्रो हाफको ६५औँ मिनेटमा अञ्जन विष्ट फेरि गोल गर्न सफल भए । मनाङ तीन–शून्य गाेलले अघि रहको अवस्थामा न्युरोडका लागि खेलकाे ८९औँ मिनेटमा सकल रेग्मीले गोल गर्दै खेललाई तीन–एककाे अवस्थामा पुर्याएका थिए ।
तर मनाङका लागि इन्ज्युरी समयमा भिडालको उत्कृष्ट पासमा दयानन्द सिंह गोल गर्न सफल भए । निर्धारित समायमा गोल फर्काउन नसकेपछि मनाङविरुद्ध न्युरोड चार–एक गाेलले स्तब्ध हुन पुग्यो ।
जितसँगै मनाङ ११ खेलबाट २३ अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । त्यस्तै न्युरोड १५ अङ्कसहित तालिकाको आठौँ स्थानमा रहेको छ ।