पीपललाई हिन्दू धर्ममा पवित्र वृक्ष मानिन्छ । यसको ठूलो धार्मिक महत्व छ । एउटा गाउँमा पीपलको ठूलो रूख थियो । गाउँका महिला, बालबालिका तथा पुरुष सबै नै विभिन्न अवसरमा उसको पूजा गर्थे । शनिबार पीपलको रूखमा जल चढाउनेको घुइँचो नै लाग्थ्यो ।
समय बित्दै गयो । पीपलको रूख बढ्दै गयो । रूख निकै पुरानो भयो । उसका हाँगाबिँगा सुक्दै गए । सुकेका हाँगाबिँगा भाँचिएर खस्न थाले । रूखको अवस्था देखेर गाउँका भद्रभलादमीको बैठक बस्यो । बैठकले पीपलको रूख ढालेर त्यसका हाँगाबिँगा घरेलु उपयोगमा लगाउने निर्णय ग¥यो ।
भोलिपल्ट निर्णय कार्यान्वयनका लागि मानिसहरू हातहातमा बन्चरो, आरो, खुर्पा, खुँडा बोकेर पीपलको रूखमुनि जम्मा भए । पीपलको रूखसँगै अर्को एउटा रूख पनि थियो । उसले बिस्तारै पीपलसित भन्यो– पीपल दाजु हेर्नुस् त, कुनै वेला तपाईंको पूजा गर्ने, तपाईंलाई जल चढाउने मानिस आज बूढो भएपछि तपाईंलाई नै काट्न भेला भएका छन् । यी मानिस कति स्वार्थी छन् ! तपाईंलाई यो सब रमिता देख्दा रिस उठ्दैन ?
पीपलले खुसी हुँदै जवाफ दियो– किन रिसाउनु मित्र, म त खुसी पो भएको छु त ! बाँचुन्जेल पनि म मानिसको काममै उपयोग भएँ, आज मर्दै गर्दा पनि म उनीहरूको काममै उपयोग हुँदै छु । आखिर हाम्रो काम भनेकै परोपकार गर्नु त हो । रूखले फल दिनु, नदीले पानी दिनु सबै परोपकार नै होइन र ?