विराटनगर, १२ माघ । हुक्का सजिलै आजकल होटेल, रेस्टुरेन्टमा पाइनुका साथै घर घरमा सजिलै बनाएर खान सकिन्छ ।
हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रूपमा लिने गरिन्छ ।
चुरोट नखानेहरूले समेत हुक्काको स्वाद लिइरहेका हुन्छन् ।
नियमित हुक्का प्रयोग गर्ने युवायुवतीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
आजकल युवा युवतीहरूमा मात्र नभएर किशोर–किशोरीहरूमा समेत आजभोलि हुक्का फेसन जस्तै नै बनिसकेको छ ।
हुक्कालाई धूमपान गरेको मानिँदैन भन्ने ठूलो भ्रम रहेको छ । तर, एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोट पिउनुभन्दा बढी हानिकारक हुने पाइएको छ ।
गलत विश्वास र भ्रमका कारण चुरोट नखाने व्यक्तिहरूले समेत यसको प्रयोग गर्न थालेका छन् ।
हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, बेन्जिन, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौं हानिकारक तत्वहरू हुन्छन् ।
यस्तै हुक्कामा सूर्तीलाई तातो बनाई धुँवा उत्पन्न गर्नका लागि बलिरहेको चार्कोलको प्रयोग गरिन्छ जसले शरीरलाई हानि पुर्याउन सक्छ ।
एउटै हुक्कालाई धेरै जनाले सेयर गर्ने हुनाले यो चुरोटभन्दा झन् विशालु हुने तथा धेरै जनाले सेयर गर्दा विविध रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ ।
हुक्काले शरीरमा दीर्घकालीन असर गरी ज्यानै लिने रोगहरूसमेत उत्पन्न गराउन सक्छ ।
हुक्काको धुँवामा क्यान्सर जन्माउन सक्ने तत्वहरू हुन्छ ।
हुक्का प्रयोग गर्नेहरुलाई दम, मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुख, घाँटी, पेटको क्यान्सर, पल्मोनरी इन्फेक्सनजस्ता दीर्घकालीन रोगहरू लाग्ने सम्भावना हुन्छ ।
हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य भएका मानिसहरूमा बेन्जिनको प्रभाव परेर रक्त क्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने पाइएको छ ।